अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय फुटबलको प्रशासनिक निकाय फिफाबाट भ्रष्टाचार अभियोगमा प्रतिबन्धमा रहेका पूर्वअध्यक्ष गणेश थापाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पत्राचार गर्ने निर्णय गरेको छ।
सोमबार र मंगलबार दुई दिन चलेको एन्फा बैठकले फिफाबाट प्रतिबन्धित थापाले फिफाको निर्देशन उल्लङघन गरेको र अरु गतिविधि गरेको भन्दै अख्तियारसहित विभिन्न निकायमा कारबाहीका लागि पत्राचार गर्ने निर्णय गरेको हो।
‘संघका पदाधिकारीहरूको विशेष प्रस्तावमा फिफाबाट प्रतिबन्धित पूर्वअध्यक्ष गणेश थापासम्बन्धि विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र अन्य गतिविधिहरुलाई आवश्यक अनुसन्धान तथा छानबिन गरि कारबाहीको लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यकता अनुसार पत्रचार गर्ने निर्णय गरियो,’ एन्फाले सार्वजनिक गरेको निर्णयमा भनिएको छ।

२०७२ सालमा फिफाले थापालाई १० वर्षसम्म फुटबलसम्बन्धि कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध गरेको थियो।
भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न धाराहरू उल्लंघन गरेको फिफाको अनुशासन समितिको ठहर गरेपछि थापालाई फिफाले प्रतिबन्ध गरेको थियो।
तर पनि थापाले आफ्नो प्रभाव देखाउन आफ्ना नजिकका व्यक्तिमार्फत एन्फामा दबाब दिने गरेको एन्फाको बुझाइ छ। केही वर्षयता थापा सामाजिक सञ्जालमार्फत् एन्फाविरूद्ध भनाइहरू सार्वजनिक गरिरहेका हुन्छन्।
पछिल्लो समय थापाको विषयमा एन्फा महासचिव किरण राईले एक टेलिभिजनमा अन्तर्वार्ता दिएका थिए। उनले अन्तर्वार्ताका क्रममा थापाले करोडौं रूपैयाँ हिनामिना गरेको आरोप लगाएका थिए। त्यसपछि आक्रोशित बनेका पूर्वअध्यक्ष थापाले राईविरूद्ध प्रहरीमा उजुरी र अदालतमा मानहानीको मुद्दा दायर गरेका थिए।
यो विवादपछि एन्फाले थापाविरूद्ध आवश्यक अनुसन्धान तथा छानबिन गरि कारबाहीको लागि विभिन्न निकायमा पत्राचार गर्ने निर्णय गरेको हो।
यसअघि २०७१ सालमा संसदको सार्वजनिक लेखा समितिले थापामाथि ५८ करोड रुपैयाँ अनियमितताको गरेको आरोप लगाउँदै छानविनका लागि अख्तियार पठाएको थियो। तर अख्तियारले भने आरोप पुष्टि हुन नसकेको भन्दै उजुरीलाई तामेलीमा राख्ने निर्णय गरेको थियो।
एन्फाको निर्णयबारे थापाले सामाजिक सञ्जालबाटै प्रक्रिया दिएका छन्। 'एन्फा कार्यसमितिको बैठकमा एकजना केन्द्रीय सदस्यले फिफाबाट प्रतिबन्ध भएका गणेश थापाले फुटबलमा डिस्टर्ब गरिरहेको छ भन्दै छानबिन गर्न विभिन्न निकायमा पठाउनु पर्छ भन्ने प्रस्तावको हार्दिक स्वागत गर्न चाहन्छु,' थापाको भनाइ छ, 'गणेश थापाले एन्फामा रहदा हानि नोक्सानी, आर्थिक अनिमियता तथा प्रतिबन्ध भएको समयमा फिफाले दिएको म्यान्डेट भन्दा बाहिर गएर कुनै अभिव्यक्ति वा अन्य कुनै गतिविधि गरेको प्रमाणित भएमा कारबाही गरेर देखाउन एन्फालाई चुनौती दिन चाहन्छु। दोषी ठहरिएमा जुनसुकै कारबाही भोग्न पनि तयार छु।'
एन्फाले थापासँगै आफ्ना वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काविरूद्ध पनि उजुरी आएको बताउँदै त्यसको छानवनिका लागि पत्राचार गर्ने निर्णय गरेको छ। खड्काले सी डिभिजन लिगमा म्याच फिक्सिङ भएको आरोप लगाएपछि क्लबहरूले उजुरी दिएका थिए। यो विषयमा एन्फाले आफूअन्तर्गत रहेको समितिमा छानविन गरी निर्णय गराउने भनेको छ।

एन्फाका बाँकी निर्णयमा नियमित साधारणसभा आगामी वैशाख २६ गतेका लागि तोकेको छ। यस्तै आगामी वर्षको बजेट एक अर्ब ५६ करोड हुने बताउँदै साधारणसभामा पेश गर्ने निर्णय भएको छ।
कार्यसमिति बैठकले पुरुष राष्ट्रिय टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रसलाई नियुक्त गर्ने निर्णय अनुमोदन गरेको छ।
यस्तै २०८३-२०८७ को कार्यसमितिको निर्वाचनका लागि निर्वाचन समिति र निर्वाचन पुनरावदेन समिति गठन गर्ने पनि निर्णय गरेको छ।

