दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिले पुरुषोत्तम कट्टेललाई महासचिवमा नियुक्त गरेको छ।
बंगलादेशका अनवरुल हकले राजीनामा दिएपछि साफको महासचिवमा नेपालका कट्टेल नियुक्त भएका हुन्।
सन् २०१५ देखि महासचिव रहेका हकले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए।
सुशासनका विज्ञ कट्टेलले १ अप्रिल २०२५ देखि आफ्नो कार्यकाल सुरु गर्नेछन्।
साफमा जिम्मेवारी सम्हाल्नु अघि कट्टेल एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गत दक्षिण एसियाको युनिटको प्रमुख थिए। कट्टेलले एएफसीमा १७ वर्षसम्म काम गरेका थिए।
‘महासचिवको रूपमा साफमा आबद्ध हुन पाउँदा अत्यन्तै खुसी छु। यो मेरो लागि ठूलो अवसर र चुनौती पनि हो। मैले फुटबलमा आफ्नो करियर सुरु गरेदेखि नै दक्षिण एसियालाई नजिकबाट नियालेको छु। यो क्षेत्र चुनौतीपूर्ण क्षेत्र हो। तर साथै यहाँ धेरै अवसरहरू छन्। म विश्वस्त छु कि यस क्षेत्रको भविष्य उज्ज्वल छ,’ उनले साफसँग कुरा गर्दै भनेका छन्।
उनले महासचिव नियुक्त गरेकोमा साफका अध्यक्षकाजी सलाहुद्दीन र कार्यकारी समितिका सदस्यहरूलाई धन्यवाद दिएका छन्।