एएफसी एसियन कप २०२७ को छनोट चरणको तेस्रो चरणको पहिलो खेलमा नेपाल पराजित भएको छ।
नेपाललाई मंगलबार राति भएको खेलमा घरेलु टोली मलेसियाले २-० गोलले पराजित गर्यो।
मलेसियाले २९ मिनेटमा अग्रता लियो। उसका लागि हेक्टर हावलले पहिलो गोल गरे।
मलेसियाका लागि ७० मिनेटमा कोर्भिन ओङ अग्रता दोब्बर पारेका थिए।
मलेसियाको जोहरस्थित सुल्तान इब्राहिम रंगशालामा भएको खेलमा नेपालमााथि मलेसिया हाबी भएको थियो।
छनोटमा नेपाल समूह 'एफ' मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्।
यो खेल नेपालमा हुनु पर्ने भए पनि दशरथ रंगशालालाई एसियाली फुटबल महासंघले मान्यता नदिँदा मलेसियामा भएको हो।
छनोटअघि नेपालले शुक्रबार सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो। खेलमा नेपालले सिंगापुरविरूद्ध ऐतिहासिक १-० गोलको जित निकाल्यो।
मलेसियाविरूद्ध अन्तर्राष्ट्रिय फुटबलमा आठौं पटक प्रतिस्पर्धामा पनि नेपल जितविहिन बन्यो।
नेपालले खेलेका आठ खेलमा जित निकाल्न सकेको थिएन। आठमध्ये सात खेलमा मलेसिया विजयी भएको थियो भने एक खेल बराबरीमा सकिएको थियो।
मलेसिया र नेपाल पहिलो पटक सन् १९८३ मा मर्डेका कपमा भिडेका थिए। सो खेलमा नेपाल ७-० ले पराजित भयो।
सन् १९८५ मा नेपाल र मलेसिया विश्वकप छनोटमा प्रतिस्पर्धामा उत्रिए। पहिले लेग गोलरहित बराबरीमा सकिदा दोस्रो लेगमा मलेसिया ५-० गोलले विजयी भयो।
यस्तै १९८९ नेपाल र मलेसिया फेरि विश्वकप छनोटमा आमनेसामने भए। जसमा मलेसिया पहिलो लेगमा २-० र दोस्रो लेगमा ३-० गोलले विजयी भयो। सन् २००८ मा मैत्रीपूर्ण खेलमा फेरि मलेसियाले नेपाललाई ४-० गोलले हरायो।
नेपाल र मलेसिया पछिल्लो पटक छ वर्षअघि सन् २०१९ मा प्रतिस्पर्धा गरे। सो खेलमा मलेसियाले नेपाललाई २-० ले हरायो।
यसरी आजको खेलम पनि परााजित भएपछि नेपालले मलेसियाविरूद्ध ८ खेलमा २५ गोल खादा कुनै गोल गर्न गर्न सकेको छैन।
फिफा वरीयतामा नेपाल १७५औं स्थानमा छ। मलेसिया नेपालभन्दा ४३ स्थानमाथि १३२औं स्थानमा छ।
छनोटमा मलेसियासँग खेलेपछि अब नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग होम म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ। सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ।
नेपाल टिम
किरणकुमार लिम्बू (कप्तान तथा गोलकिपर), अनन्त तामाङ, एरिक विष्ट, आयुष घलान, जिलेस्पीजंग कार्की, लकेन लिम्बू, मनिष डाँगी, रोहित चन्द, सनिष श्रेष्ठ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ।