युइएफए नेसन्स लिगअन्तर्गत क्वार्टरफाइनलको दोस्रो खेलमा पोर्चुगलले उत्कृष्ट जित निकालेर सेमिफाइनलमा स्थान पक्का गरेको छ।
पोर्चुगलले घरेलु मैदानमा भएको दोस्रो लेगमा डेनमार्कलाई ५-२ ले हरायो। यसअघि पहिलो लेगमा १-० गोलले पराजित भएको पोर्चुगलले सग्रममा ५-२ को जित निकाल्यो।
आइतबार पोर्चुगलले ३८ मिनेटमा एन्डर्सनको आत्मघाती गोलबाट अग्रता लियो। त्यसअघि पोर्चुगलले पेनाल्टी पाए पनि कप्तान क्रिस्टियानो रोनाल्डोको प्रहार डेनमार्कका गोलकिपरले विफल पारिदिएका थिए।
डेनमार्कले ५६ मिनेटमा क्रिस्टियन्सको गोलबाट बराबरी गर्न सफल भयो। तर ७२ मिनेटमा पोर्चुगलका रोनाल्डोले दोस्रो पटक आफ्नो टोलीलाई अग्रता दिलाए।
त्यसपछि फेरि ७६ मनेटमा एरिक्सनको गोलबाट डेनमार्क खेलमा फर्कियो। ८६ मिनेटमा ट्रिन्काओले पोर्चुगलका लागि तेस्रो गोल गर्दा खेल एक्स्ट्रा समयमा धकेलियो। त्यतिबेलासम्म पोर्चुगल ३-२ ले अघि थियो।
अघिल्लो लेगमा डेनमार्क विजयी भएकाले समग्रमा खेल ३-३ को बराबरी भएको थियो।
एक्स्ट्रा समयमा पोर्चुगलका लागि ट्रान्काओले ९१ र गोन्कालो रामोसले ११५ मिनेटमा गोल गरे।
यता जर्मनी र इटालीले दोस्रो लेगमा ३-३ को बराबरी खेले। जर्मनी समग्रमा ५-४ ले अघि रहदै सेमिफाइनलमा पुग्यो। अघिल्लो लेगमा जर्मनी २-१ ले विजयी भएको थियो।
पहिलो लेगमा २-२ को बराबरी खेलेका स्पेन र नेदरल्यान्ड्सले दोस्रो लेगमा पनि ३-३ को बराबरी खेले। त्यसपछि पेनाल्टी सुटआउट हुँदा स्पेन ५-४ ले विजयी भयो।
दोस्रो लेगमा क्रोएसियामाथि २-० को जित निकालेको फ्रान्सले समग्रमा २-२ को बराबरी गर्यो। पेनाल्टीमा फ्रान्स ५-४ ले वियजी हुँदा अन्तिम चारमा पुग्न सफल भयो।
अब सेमिफाइनलमा जर्मनी र पोर्चुगल तथा स्पेन र फ्रान्सबीच खेल हुनेछ।