बिहीबार घरेलु मैदानमा बहराइनलाई २-० ले हराएसँगै जापान २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ।
एसियामा छनोट तेस्रो चरणमा तीन खेल बाँकी रहँदा जापानले विश्वकपमा स्थान पक्का गरेको हो।
क्यानडा, मेक्सिको र अमेरिकाले आयोजकको रुपमा विश्वकपमा स्थान पक्का गरिसकेका थिए।
छनोट पार गरेर जापानले विश्वकप २०२६ मा स्थान पक्का गरेको हो।
एसिया छनोटमा ४८ देशले भाग लिदैछन्। एसियाबाट कम्तिमा ८ टोलीले आगामी वर्षको विश्वकपमा स्थान बनाउनेछन्।
एसिया छनोटको तेस्रो चरणबाट ६ टोली र चौथो चरणबाट २ टोलीले विश्वकपमा स्थान बनाउनेछन्। यस्तै एक टोलीले अन्तर-महादेशीय प्ले-अफहरू मार्फत् विश्वकप स्थान बनाउने सम्भावना हुन्छ।
तेस्रो चरणबाट तीन समूहका शीर्ष दुई टोली विश्वकपमा पुग्ने प्रावधान छन्। समूह ‘सी’ मा शीर्ष स्थानको जापानले दोस्रो स्थानको अस्ट्रेलियाभन्दा ९ अंक बढी जोडेसँगै विश्वकपमा स्थान पक्का गर्न सफल भयो।
जापान २०२२ को कतार विश्वकपको अन्तिम १६ मा पुगेको थियो, तर पेनाल्टीमा क्रोएसियासँग पराजित भएको थियो।
२०२६ को छनोटको दोस्रो चरणमा जापानले छ खेलबाट छ जित हासिल गरेको थियो। तेस्रो चरणमा पनि छ जित र एक बराबरीसहित जापान अपराजित छ।