दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपाली राष्ट्रिय फुटबल टोलीले पछिल्लो समय आफ्नो ‘होम म्याच’ पनि विदेशमा खेल्नु पर्ने बाध्यता छ।
आफ्ना घरेलु समर्थक र मैदान बिरानो बन्दै जादा नेपाली फुटबल टोली यो साता सिंगापुर र मलेसियामा जाँदैछ। नेपाली टोली आज मलेसिया ट्रान्जिट हुँदै सिंगापुर प्रस्थान गर्ने कार्यक्रम छ। भोलि सिंगापुर पुग्ने नेपाली टोलीले शुक्रबार सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ।
नेपालले सिंगापुरसँग ३६ वर्षपछि खेल्न लागेको हो। पछिल्लो पटक नेपाल र सिंगापुर १९८९ मा प्रतिस्पर्धा गरेका थिए। विश्वकप छनोटमा त्यतिबेला नेपाल र सिंगापुरले दुई खेल खेलेका थिए। १९८९ को मे महिनामा भएको खेलमा नेपाल ३-० गोलले पराजित हुँदा जुनमा नेपालले ७-० गोलको हार ब्यहोरेको थियो।
त्यसअघि नेपाल र सिंगापुरबीच सन् १९८२ मा पहिलो अन्तर्राष्ट्रिय खेल भएको थियो। किंग्स कपको उक्त खेलमा नेपाल २-० गोलले पराजित भयो। यसरी नेपालले सिंगापुरसँग अहिलेसम्म ३ अन्तर्राष्ट्रिय खेल खेल्दा सबै खेल गुमाएको छ। ३ खेलमा १२ गोल खाएको नेपालले सिंगापुरविरूद्ध कुनै गोल गर्न सकेको छैन।
फिफा वरीयतामा सिंगापुर नेपालभन्दा १५ स्थान माथि छ। सिंगापुर १६०औं स्थान तथा नेपाल १७५औं स्थानमा छन्।
सिंगापुरविरूद्धको खेल नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक म्याट रसका लागि पहिलो अन्तर्राष्ट्रिय खेल हुँदैछ।
दुई साताअघि नियुक्ति पाएका रसले मंगलबार आयोजिक विदाइ कार्यक्रममा सकारात्मक नतिजाका लागि खेल्ने बताए। साथै उनले नेपाली खेलाडीहरूको प्रतिभाको प्रशंसा समेत गरे।

नेपाली टोली सिंगापुरसँग चैत ८ मा खेलेपछि मलेसिया जानेछ। मलेसियासँग नेपालले चैत १२ मा खेल्नेछ।
मलेसियामा नेपालले एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणको खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। मलेसियाविरूद्धको यो खेल नेपालको घरेलु मैदानमा हुने भए पनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त मैदानको अभावमा मलेसियामै हुन लागेको हो।
मलेसिया जानुअघि नेपालका कप्तान किरण चेम्जोङले घरेलु मैदानमा खेल खेल्न नपाएकोमा दु:ख व्यक्त गरे।

सिंगापुर र मलेसिया जाने नेपाली टोली तीन खेलाडी नयाँ छन्। गोलकिपर अञ्जल श्रेष्ठ,फरवार्ड सुवास ठकुरी बम र डिफेन्डर सुमन श्रेष्ठ पहिलो पटक नेपाली टोलीमा परेका हुन्।
एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणमा नेपाल समूह 'एफ' मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्।
एसियन कप छनोटमा मार्चमा मलेसियासँग खेलेपछि नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग अवे म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ। सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ।
नेपाली टोली
गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ
डिफेन्डरः अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ
मिडफिल्डरः रोहित चन्द, लकेन लिम्बू, रोहन कार्की, मणी लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, कृतिश रत्न छुञ्जु, आयुष घलान
फरवार्डः जिलेस्पी जंग कार्की, अन्जन विष्ट, सुवास ठकुरी बम, रेजिन सुब्बा