काठमाडौंमा चैतको दोस्रो सातादेखि हुने तेस्रो नेपाल सुपर लिग फुटबल प्रतियोगिताको ट्रफी प्रदर्शन भएको छ। देशका मुख्य शहरहरुमा प्रदर्शन गर्दै आएको ट्रफी शनिबार बुटवलमा प्रदर्शन गरिएको हो।
यसअघि धनगढीबाट ट्रफीको प्रदर्शन सुरु गरिएको थियो। शनिबार बुटवल लुम्बिनी टिमका कोच, खेलाडी, टिम म्यानेजर लगायतको टोली ट्रफीसहित बुटवल उपमहानगरपालिका परिसर पुगेका थिए।
उक्त टिमलाई स्वागत गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिका खेलकुदको विकासका काममा निरन्तर लागिरहेको बताए।
पाण्डेयले चालु आर्थिक वर्षमा चार करोड बढि रकम खेलकुदको विकासका लागि बिनियोजन गरेको जानकारी दिए। उपमहानगरपालिकाले फुटबल खेलमा मात्र १ करोड रुपैयाँ विनियोजन गरेको छ। उनले विभिन्न प्रतियोगिता, खेलाडी सम्मान, खेलकुदको पूर्वाधार निर्माण लगायतमा बजेट विनियोजन गरेको बताए।
कार्यक्रममा बुटवल लुम्बिनी टिमका कोच पुष्पलाल शर्माले व्यवसायिक फुटबल प्रतियोगितामार्फत खेल र खेलाडीहरुलाई प्रोत्साहन दिने गरी तेस्रो संस्करणको प्रतियोगिता अन्तिम चरणमा पुगेको जानकारी दिए।
चैत १६ गतेबाट सुरु हुने प्रतियोगितामा सातवटा टिमले भाग लिने छन्। प्रत्येक टिममा ६ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ।
धनगढीबाट सुरु गरिएको ट्रफी प्रदर्शन बुटवल उपमहानगरपालिका, तिलोत्तमा, भलुही, भैरहवा र लुम्बिनी लगिने छ। लुम्बिनीपछि चितवन, झापा, पोखरा, ललितपुर हुँदै काठमाडौ पुगेर समापन गरिने टिमका टेक्निकल डाइरेक्टर याम गुरुङले बताए।
प्रतियोगिताको उद्घाटन खेल चैतको १६ गते ललितपुर र काठमाडौबीचमा हुने छ भने वैशाख १३ गते फाइनल खेल हुने छ।