थ्रीस्टार क्बलले नवौं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो।
थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले समान १–१ गोल गरे ।
थ्रीस्टारले खेल सुरु भएको पाँचौं मिनेटमै अग्रता लिएको थियो।
नविन लामाले निकालेको क्रस पासलाई खेमराजले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए । थ्रीस्टारले दोस्रो गोल ६३ औं मिनेटमा गर्यो ।
दिपेश घलेले वान भर्सेस वानमा डिबक्स भित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टिकेन्द्र थापालाई लागेर फर्किएको थियो ।
फर्किएको बललाई पुनः दिपेशले प्रहार गर्दै जाली चुमाए । उनले गरेको गोल टिमलाई उपाधि दिलाउन पर्याप्त रह्यो ।
उपाधिसँगै थ्रीस्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपबिजेता चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँमा चित्त बुझायो ।
थ्रीस्टारले पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला आर्मीलाई ३–० गोलले फाइलनमा हराउँदै थ्रीस्टारले उपाधि हात पारेको थियो ।
चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्य राखेर मैदान प्रवेश गरेको थियो । तर, उपाधिको निर्णायक भिडन्तमा चर्च ब्वाइजले बलियो चुनौती पेस गर्न सकेन ।
प्रतियोगिताको म्यान अफ द म्याच थ्रीस्टारका कप्तान एकराज बुढाथोकी घोषत भए । उनले नगद ११ हजार पाए । विधागत पुरस्कारमा पनि थ्रीस्टारको बर्चश्व रह्यो।उत्कृष्ट प्रशिक्षकमा थ्रीस्टारका गणेश खड्का घोषित भए । त्यसैगरी बेस्ट गोलकिपर थ्रीस्टारका विवेक मगर, हाइस्कोरर थ्रीस्टारका दिपेश घले घोषित भए ।
प्रतियोगिताभरीमा उनले दुई गोल गरेका थिए । उनीहरुले जनही नगद १५ हजार पाए । प्लेयर अफ दी टुर्नामेन्ट थ्रीस्टारका खेम राज श्रेष्ठ घोषित भए । उनले नगद ५१ हजार पाए ।
थ्रीस्टारले मछिन्द्र र त्रिभूवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको थियो । थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै फाइनलमा पुगेको हो ।
यस्तै विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
चर्च ब्वाईजले क्वाटरफाइलमा एनआरटीलाई २–० ले र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।
फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागिता थियो ।