युरोपियन च्याम्पियन्स लिगअन्तर्गत फ्रेञ्च क्लब पिएसजी अन्तिम आठमा पुगेको छ।
पिएसजीले इंग्लिस क्लब लिभरपुललाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो।
मंगलबार भएको अन्तिम १६ को दोस्रो लेगमा पिएसजीले १-० ले विजयी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
लिभरपुलको मैदानमा भएको खेलमा पिएसजीका लागि डेम्बेलेले १२औं मिनेटमा गोल गरेका थिए।
त्यसपछि अतिरिक्त समयको खेलमा कुनै गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुग्यो। किनभने पहिलो लेगमा लिभरपुल १-० गोलले विजयी भएको थियो।
पेनाल्टी सुटआउटमा पिएसजीका गोलकिपर डोन्नारुम्बा नायक सावित भए। उनले लिभरपुलका दुई पेनाल्टी विफल पारिदिए।
यता स्पेनिस क्लब बार्सिलोना पोर्चुगिज क्लब बेन्फिकामाथि समग्रमा ४-१ को जितसहित अन्तिम आठमा पुग्यो।
मंगलबार भएको दोस्रो लेगमा बार्सिलोना ३-१ गोलले विजयी भयो भने पहिलो लेगमा बार्सिलोनाले १-० गोलको जित निकालेको थियो।
मंगलबार बार्सिलोनाका लागि राफिन्हाले ११ र ४२ तथा लमिन यमलले २७ मिनेटमा गोल गरे।
अन्य खेलमा बायर्न म्युनिखले आफ्नै देशको बायरलिभरकुजेनलाई समग्रमा ५-०, इन्टर मिलानले फेयेनूर्डलाई ४-१ ले पछि पारेर अन्तिम आठमा स्थान पक्का गरेका छन्।