राष्ट्रिय फुटबल खेलाडी आशिष चौधरी मोरङको गछियास्थित आफ्नो घर गएका बेला छेवैमा रहेको गछिया खोला पुगेकै हुन्छन्। उनको यो खोलासँगको सम्बन्ध फुटबल जतिकै अटुट छ।
गत महिना भारतमा साफ च्याम्पियनसिप खेलेर स्वदेश फर्केपछि आशिष घर गएका थिए। त्यो बेला पनि उनी साथीभाइसँग हुल बाँधेर गछिया खोला पुगिहाले। यो त्यही खोला हो जहाँ कुनै बेला आशिष बालुवा निकाल्ने काम गर्थे। र बालुवा चालेर कमाएको पैसाले आशिष आफ्नो फुटबल खेल्दा चाहिने सामान किन्थे।
‘वैशाखतिर एक महिना स्कुल छुट्टी हुन्थ्यो। त्यहीबेला गाउँमा मेला लाग्थ्यो। सबै साथीहरू मेलाका लागि खर्च निकाल्न खोलामा बालुवा निकाल्ने काम गर्थे। म पनि फुटबल जुत्ता किन्नका लागि साथीहरूसँगै काम गर्थें,’ त्यो क्षण सम्झिँदै आशिषले भने।
त्यो बेला आशिष जम्मा १२ वर्षका थिए। त्यहीबेला गाउँका सिनियरहरूले केटाकेटीलाई फुटबल प्रशिक्षण दिने भए। र प्रशिक्षणमा आउने केटाकेटीलाई अनिवार्य जुत्ता लगाउन भनियो। प्रशिक्षण पाउने कुरा सुनेर आशिष दंग त परे तर जुत्ता अनिवार्य हुनुपर्ने कुराले उनलाई खिन्न बनायो। आशिषसँग एक जोर जुत्ता पनि थिएन। घरको अवस्थाका कारण उनले बुवाआमालाई पनि कहिल्यै जुत्ता किन्न भनेनन्। बरू चोटपटक खेप्दै खाली खुट्टै खेलिरहे।
यसपालि भने प्रशिक्षणमा जुत्ता अनिवार्य गरियो। त्यहीक्रममा आशिषलाई एक जना सिनियरले आफ्नो सेकेन्ड ह्यान्ड जुत्ता बेच्ने कुरा सुनाए। तर त्यो जुत्ता पनि किन्ने पैसा आशिषसँग थिएन। झट्टै घरमा भन्ने आँट उनलाई आएन। कुनै जोर नचलेपछि आफूले बुवाआमालाई जुत्ता किन्न भनेको किस्सा सुनाउँदै उनले भने, ‘रोइ-रोइ दुई सय रूपैयाँमा जुत्ता किनिमागेको थिएँ। त्यसपछि भने मैले कहिल्यै पनि बुवाआमालाई जुत्ताका लागि भनिनँ।’
त्यसपछिका दिनहरूमा भने आशिषले जुत्ता किन्न खोलामा बालुवा चाल्ने काम गर्न थाले। त्यही भएर उनी आज पनि गछिया खोलालाई बिर्सन सक्दैनन्।
‘जब म त्यो खोलालाई हेर्न जान्छु, खोलाले मेरो औकात देखाइदिन्छ। हिजो यही खोलामा बेल्चा हाल्ने म आज यो ठाउँमा हुँदा सपनाजस्तो लाग्छ,’ त्यो क्षण स्मरण गर्दै उनले भने।
आशिषलाई ८ वर्षको उमेरसम्म फुटबलमा खासै रुचि थिएन। पछि गाउँका दाइहरू खेलेको हेर्दाहेर्दै उनलाई पनि फुटबलमा चाख बढ्दै गयो। जब उनी फुटबल खेल्न थाले दिनदिनै उनको खेल कौशलता बढ्दै गयो। उनको खेलको गाउँका ठूला सानाले तारिफ गर्न थाले। तर त्यहीबेला घरको अवस्थाका कारण उनका बुवा वैदेशिक रोजगारीका लागि साउदी उडे।
बुवा विदेश गएदेखि आशिषको फुटबल यात्रामा भने ब्रेक लाग्न थाल्यो। उनले भने जति समय फुटबललाई दिन सकेनन्। त्यसमाथि घरको जिम्मेवारीले उनलाई विस्तारै थिच्दै लग्यो। बुवाको कमाइ ऋण तिर्नमै सकिन्थ्यो। घर खर्च बेलाबखत खोलामा काम गरेर आएको पैसाबाट चलिरहेको थियो। त्यतिबेलै आशिष अण्डर-१८ जिल्ला स्तरीय लिग खेल्न जाँदा पढाइ छुट्यो। उनी त्यो बेला कक्षा आठमा पढ्थे। त्यसपछि भने उनले पढाइलाई निरन्तरता दिएनन्। सबै ध्यान फुटबलमै दिन थाले।
त्यो बेला आफूमा फुटबलको पागलपन रहेको सुनाउँदै आशिष भन्छन्, ‘त्यतिबेला फुटबलमा यति क्रेजी भइसकेको थिएँ कि सब छोड्न सक्छु तर फुटबल छोड्न सक्दिनँ भन्ने थियो। जिन्दगी नै फुटबलमा बितेर जाहोस् भन्ने लाग्थ्यो।’
पढाइ छोडेपछि आशिषका दिनहरू फुटबल खेल्ने र साथीभाइसँग हल्लिएर हिँडेरै बित्न थाले। त्यसपछि बुवाले साउदीबाट उनलाई फोनमा हल्लिएर हिँड्नु भन्दा गाडीमा काम गर्न भने। घरमा पनि सहयोग हुने र आफूलाई पनि फुटबलमा चाहिने सामान किन्न खर्च जोहो हुने भनेर उनले बुवाको कुरा माने र एउटा ट्याक्टरमा सहचालकको काम गर्न थाले।
आशिष बिहानै उठेर सुरूमा फुटबल ट्रेनिङमा जान्थे। ट्रेनिङबाट आएर दिनभर ट्याक्टरमा काम गर्थे र फेरि बेलुकी फुटबल खेल्न जान्थे। उनले काम गर्न थालेपछि परिवारमा पनि ठूलो सहयोग पुग्न थाल्यो।
‘बुवा भर्खर विदेश जानुभएकोले ऋण तिरेकै थिएन। त्यहीबेला ममी पनि बिरामी हुनुभयो। तीन जना छोराछोरीलाई पढाउनुपर्ने, त्यसमै घर खर्च पनि चलाउनुपर्ने हुँदा बुवाले ऋण तिर्नै सक्नुभएको थिएन,’ उनले भने, ‘मैले काम गर्न थालेपछि भने बुवालाई धेरै हल्का भयो। मैले घरको नुन तेल हेर्दिन्थें, बुवाले पूरै तलब ऋण तिर्नुहुन्थ्यो।’
ट्याक्टरमा काम गरे पनि उनले फुटबललाई कहिल्यै साथ छोडेनन्। कतिचोटि त उनी खोलामा काम गरिरहँदा गेमको लागि फोन आउथ्यो। उनी कामसाम छोडेर दाइहरूलाई भनेर गेम खेल्न दौडिहाल्थे। कुनै बेला त काम गर्ने ठाउँ टाँढा हुन्थ्यो। त्यस्तो बेला उनी मम्मीलाई फोन गरेर सामान ठिक्क पार्दिराख्न भन्थे र घर पुग्नासाथ झोला बोकेर कुदिहाल्थे। एउटा सजिलो उनलाई के थियो भन्दा काम गर्ने ट्याक्टरका दाइहरू उनलाई माया गर्थे। त्यसैले उने भन्नेबित्तिकै काम छोडेर फुटबल खेल्न जान पाउँथे। यसरी काम छोडेर जाँदा उनको तलब भने काटिएर आउथ्यो। आफूले हप्तामा अरू दाइहरू भन्दा सधैं कम पैसा पाउने गरेको उनले सुनाए।
ट्याक्टरमा काम गर्दा आशिषले घाम र पानी दुबै खेपेका छन्। त्यो दिनहरू सम्झिँदै उनी भन्छन्, ‘तातो घाममा सिमेन्टको धुलोले यति पोल्थ्यो, त्यसमाथि रडहरू बोक्दा त पञ्जा तातिएर हातको छालाहरू पिल्छेलाजस्तो हुन्थ्यो। पचास केजीको बोरा बोक्दा-बोक्दा केही होइन जस्तो भएको थियो।’
यसरी काम गरिरहँदा उनले हिम्मत भने कहिल्यै हारेनन्। दिनभर सिमेन्टका बोराहरू टाउकोमा बोकेर पनि बेलुकी उनी फुटबल खेल्न पुगेकै हुन्थे। आफूले कामलाई कहिल्यै पनि कामको रूपमा नलिइएको सुनाउँदै उनले भने, ‘सहचालकको काम गरिरहँदा यो काम पनि फुटलबमा चाहिने चिज नै हो भनेर लिन्थे। बल भएन भने फुटबलमा पनि अरूले पेलिहाल्छ भन्ने सोच्थें। म चाहिँ आफूलाई कसैले पनि लडाउन नसकोस् भन्ने लाग्थ्यो। अहिले पनि लडाउन त गाह्रै हुन्छ होला।’
काठमाडौं आएर चर्च ब्वाइजबाट बि डिभिजन लिग खेल्दासम्म ट्याक्टरमा काम गरे। पछि क्लब ए डिभिजनमा पुगेपछि भने आफूले काम छोडेको उनले बताए।
यसरी काम र फुटबललाई आशिषले सँगसँगै लगिरहेका थिए तर साउदीमा रहेका बुवाले उनलाई फुटबल खेलेर केही नहुने भन्दै बरू विदेश जान दबाब दिन थाले। आशिषलाई भने कुनै पनि हालतमा फुटबल छोडेर विदेश जाने मन थिएन। बुवाको लगातारको कचकच र दबाब आउन थालेपछि उनले एउटा जुक्ति लगाए।
सशस्त्र प्रहरी बलमा भर्ना हुने र त्यहीँ फुटबल खेल्ने। यसो हुँदा बुवाको कचकच पनि सुन्नु नपर्ने र फुटबल पनि खेल्न पाइने सोचेर आशिष दाइहरूसँग बुझ्न गए। तर उनको कुरामा कसैले चासो दिएनन्। उनी फेरि खिन्न भए।
यति हुँदा पनि आशिषले हिम्मत हारेनन्। झन् फुटबलमा मेहनत गर्दै गए। पछि जिल्लाको गोल्डकप खेल्नेक्रममा एक जना दाइले आफ्नो खेल मन पराउनु भएर सि डिभिजनका लागि प्रस्ताव गर्नुभएको सुनाउँदै उनले भने, ‘एक जना निरज दाइ भन्ने हुनुहुन्थ्यो। उहाँले नै मेरो खेल मन पराउनु भएर चर्च ब्वाइजबाट सि डिभिजन खेल्न काठमाडौं ल्याउनुभयो।’
सि डिभिजन खेल्न आएपछि भने आशिषले कहिल्यै पछाडि फर्किनुपरेन। उनी खेलेकै सिजन चर्च ब्वाइज लिग च्यापियन हुँदै बि डिभिजनमा बढुवा भयो। बि डिभिजनमा पनि चर्च ब्वाइज च्याम्पियन भयो। उक्त लिगमा आशिष ‘मस्ट भ्यालुएबल प्लेअर’ नै भए।
ए डिभिजन लिगमा पनि चर्च ब्वाइज च्याम्पियन बन्यो। व्यक्तिगत प्रदर्शन र क्लब दुबै हिसाबले सुखद रहेको लिगमा आशिषले सात गोल गरे।
बि डिभिजनकै बेला उत्कृष्ट प्रदर्शन गरेका कारण आशिष तत्कालीन राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नजरमा परे। त्यतिबेला उनलाई राष्ट्रिय टिम छनोटका लागि बन्द प्रशिक्षणमा बोलाइयो। तर अन्तिममा उनी टोलीमा पर्न सकेनन्। गत वर्ष भने बंगलादेशविरूद्धको खेलका लागि पहिलोपटक राष्ट्रिय टोलीमा परे।
पहिलोपटक राष्ट्रिय जर्सी लगाएको क्षण सम्झिँदै उनले भने, ‘पहिलोचोटि नेपालको जर्सी लगाएर रंगशाला टेक्दाको खुसी व्यक्त गर्न सक्दिनँ। त्यतिबेला त्यो दिनहरू याद गरें जुन दिन म बेल्चा हान्दा सहचालकको काम गरिरहेको थिएँ। त्यो सबै सम्झेर अब चाहिँ केही गर्न सक्छु भन्ने जोस आएको थियो। त्यही जोसका कारण आज यो लेभेलमा छु।’
अहिले भने आशिष राष्ट्रिय टोलीबाट निरन्तर खेलिरहेका छन्। भारतमा आयोजित गत साफ च्याम्पियनसिपमा पनि आशिषले नेपालका लागि खेले।
उक्त प्रतियोगितामा नेपालले पाकिस्तानविरूद्ध मात्र जित निकालेको खेलमा उनै आशिषले गोल गरेका थिए।
अहिलेसम्मको सफलतालाई लिएर आफूमा एक तहको सन्तुष्टि रहेको सुनाउँदै आशिषले भने, ‘अहिले जहाँ छु निकै खुसी छु। बुवाआमाहरू पनि खुसी हुनुहुन्छ। हिजो पासपोर्ट बनाएर विदेश पठाइदिन्छु भन्ने बुवाले आज फुटबल नै खेल भन्नहुन्छ। जे होस् बुवालाई फुटबल नै खेल भन्नुपर्ने बाध्य बनाएँ, त्यसमै खुसी छु।’
अब आशिषलाई बुवाले देखेको घर बनाउने सपना पूरा गर्नुछ। उबेला नै आफूलाई बुवाको त्यो सपना मनमा गडेको सुनाउँदै अब बुवासँग मिलेर छिट्टै एउटा घर बनाउने उनी बताउँछन्। साथै देशका लागि फुटबलमा पनि योगदान गर्ने सपना रहेको बताउँदै आशिष भन्छन, ‘सबै खेलाडीको जस्तै मेरो पनि नेपाललाई साफ च्याम्पियनसिप जिताउने सपना छ।’