२०२७ एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले लगातार चौथो हार ब्यहोरेको छ।
आज भियतनाममा भएको खेलमा नेपाललाई घरेलु टोलीले १-० गोलले पराजित गरेको हो। वर्षाले प्रभावित भएपछि आधा घन्टा ढिलो गरी सुरू भएको खेलमा नेपालले खेलको पाँचौ मिनेटमा गोल खाएको थियो।
कर्नर बलमा विपक्षी खेलाडीको हेडर रोक्ने क्रममा सुमन श्रेष्ठले आफ्नो पोस्टमा बल छिराउन पुगेका थिए। त्यसपछि खेलमा कुनै पनि गोल हुन सकेन।
यद्यपी अधिकांस समय भियतनामले नेपललाई दबाब दिएको थियो। यस्तै नेपालका गोलकिपर किरणकुमार लिम्बूले भियतनामका दुई प्रहारलाई विफल पारेका थिए।
वर्षाका कारण मैदानमा पानी जम्दा र हिलो हुँदा खेलाडीलाई खेल्न अप्ठेरो भएको थियो।
खेलमा डिफेन्डर रोहित चन्दले देशका लागि सयौं अन्तर्राष्ट्रिय खेलको कोसेढुंगा पार गरे। रोहितले आफ्नो सयौं खेलमा पूरा अवधि खेलेका थिए।
यससँगै नेपाल एसियन कपमा छनोट नहुने पक्का भएको छ।
समूह 'एफ' अन्तर्गको यो खेल नेपालको घरेलु मैदानमा हुने तय थियो। तर दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपालले आफ्नो होम म्याच पनि भियतनाममै खेल्न बाध्य भएको हो।
नेपालले छनोटअन्तर्गत गत साता भियतनाममा आफ्नो तेस्रो खेल खेल्दा पराजय भोगेको थियो। गत बिहीबार घरेलु टोली भियतनामले नेपाललाई ३-१ गोलले पराजित गरेको थियो।
यसअघि नेपाललाई मलेसिया र लाओसले पराजित गरेका थिए।
समूहमा नेपाल मात्र अंकबिहीन छ। समूह विजेता एसियन कपमा पुग्ने प्रावधानअनुसार नेपाल अन्तिम दुई खेलअघि नै बाहिरिएको हो।
नेपालले आफ्नो पाँचौ खेलमा नोभेम्वरमा मलेसियामा खेल्ने तय छ। यो पनि होम म्याच भए पनि मैदान अभावका कारण खेल मलेसियामै हुनेछ।
अन्तिम खेल भने नेपालले लाओससँग २०२६ को मार्चमा खेल्दैछ। लाओससँगको खेल पनि होम म्याच हो। यो खेलअघि नेपालले अन्तर्राष्ट्रिय मान्यताप्राप्त मैदान तयार गर्नु पर्छ। त्यसो गर्न नसके लाओससँगको खेल पनि दोस्रो देशमा खेल्नु पर्नेछ।