२०२६ फिफा विश्वकप फुटबलका लागि एसियाबाट पछिल्लो पटक दुई टोलीले स्थान पक्का गरेका छन्। मंगलबार एसियाको चौथो चरणबाट कतार र साउदी अरेबियाले अर्को वर्ष हुने विश्वकपमा स्थान पक्का गरेका हुन्।
आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा स्थान पक्का गर्न टोलीको संख्या २८ पुगिसकेको छ।
एसिया ८ टोलीले विश्वकपमा स्थान पक्क गरिसकेका छन् भने अफ्रिकाबाट पनि ९ टोली विश्वकपमा पुगेका छन्। दक्षिण अमेरिकाबाट ६ टोलीले विश्वकपमा स्थान बनाउदा युरोप र ओसिनियाबाट १-१ विश्वकपमा पुगेका छन्। आयोजक ३ टोलीले स्वत: विश्वकपमा स्थान बनाएका थिए।
अब उत्तर अमेरिकाबाट ३ टोली, युरोपबाट १५ टोली र अन्तरमहादेशी प्लेअपबाट २ टोली छनोट हुन बाँकी छ।
प्लेअफमा युरोपबाहेक एसिया, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र ओसिनियाबाट १-१ टोली पुग्नेछन्।
विश्वकपमा एसियाबाट ८ टिम छनोट हुने प्रावधान छ। अफ्रिकाबाट ९ टिम, उत्तर अमेरिकाबाट ६ टिम, दक्षिण अमेरिकाबाट ६ टिम, ओसिनियाबाट १ टिम र युरोपबाट १६ टिम गरी कुल ४६ टिम छनोट हुनेछन्। यस्तै युरोपबाहेक अरु क्षेत्रका लागि प्लेअफ कोटा पनि हुनेछ। दुई टिम अन्तरमहादेशीय प्लेअफबाट छनोट हुने प्रावधान छ।
अहिलेसम्म विश्वकप २०२६ का लागि छनोट भएका टोलीहरू:
एसिया (८)
अष्ट्रेलिया, इरान, जापान, जोर्डन (पहिलो पटक), दक्षिण कोरिया, उज्वेकिस्तान (पहिलो पटक), कतार,साउदी अरेबिया
उत्तर अमेरिका (३ - आयोजकको रूपमा)
क्यानडा (सह-आयोजक), मेक्सिको (सह-आयोजक), संयुक्त राज्य अमेरिका (सह-आयोजक)
दक्षिण अमेरिका (६)
अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, पाराग्वे, उरुग्वे
ओसिनिया (१)
न्युजिल्याण्ड
अफ्रिका (९)
मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना, केप भर्डे (पहिलो पटक), दक्षिण अफ्रिका, आइभरी कोस्ट, सेनेगल
युरोप (१)
इंग्ल्यान्ड
यसरी, विभिन्न महादेशबाट २८ वटा टोलीले विश्वकप २०२६ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। विश्वकप फुटबल २०२६ आगामी वर्ष उत्तर अमेरिकाका मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ।
अर्को वर्ष हुने फिफा विश्वकपमा ४८ टोलीको सहभागिता हुनेछ। प्रतियोगिताका खेलहरू तीन देशका १६ वटा शहरमा हुनेछन्।
अमेरिकाको एटलान्टा, बोस्टन, डलास, ह्युस्टन, कन्सास सिटी, लस एन्जलस, मायमी, न्यूजर्सी, फिलाडेल्फिया, सियाटल र सान फ्रान्सिस्को बे एरिया गरी ११ वटा शहरमा खेल हुनेछन्। क्यानडाको टोरन्टो र भ्यान्कुवरमा खेल हुँदा मेक्सिकोको मेक्सिको सिटी, ग्वादलाखारा र मोन्टेर्रेमा विश्वकपमा खेल हुनेछन्।
विश्वकपमा ४८ टिमलाई अब चार-चार टिम सम्मिलित १२ समूहमा प्रतिस्पर्धा गराइने छ। १२ समूहका शीर्ष दुई टिम र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टिम गरी कुल ३२ टिम दोस्रो चरणमा पुग्नेछन्।