एन्फाका कार्यवहाक अध्यक्ष वीरबहादुर खड्काले महसचिव किरण राईलाई निलम्बन गरिएको ब्यहोरा लेख्दै पत्र पठाएका छन्।
अध्यक्ष पंकजबिक्रम नेम्बाङ साउदी अरेबिया गएपछि वरिष्ठ उपाध्यक्ष खड्काले आफू स्वत: कार्यवहाक अध्यक्ष भएको दाबी गर्दै आएका छन्। विधानमा सो व्यवस्था रहेकाले आफू कार्यवहाक अध्यक्ष भएको खड्काको भनाइ छ।
यद्यपी अध्यक्ष नेम्बाङले उनलाई कार्यवहाक अध्यक्ष भएको कुनै पत्र दिएका भने थिएनन्।
यसअघि कार्यवहाक दाबी गर्दै खड्काले राईलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र काटेका थिए।
‘२०८२।०६।२९ गतेको पत्र अनसार संघको साधारण सभा र कार्यसमितिको म्याण्डेट समेतलाई वेवास्ता गर्दै संघको विधान, विधि र पद्धति विपरित फूटबल खेलको विकासमा नै दिर्घकालिन असर पार्ने गरि के कति आधारमा कस्को निर्देशनमा कार्य गर्नू भएको हो ? भनि ३ दिन भित्र स्पष्टीकरण सोधिएकोमा तपाईबाट हालसम्म कूनै पनि जवाफ प्राप्त नभएकोले आजको मिति देखि लागू हूने गरि तपाईलाई एन्फा महासचिव पदबाट अर्को कार्यसमिति वैठकसम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौं। उक्त अवधिसम्मका लागि कार्यवाहक महासचिवको कार्य गर्न संघका सहायक महासचिव दामोदर भट्टराईलाई तोकिएको व्यहोरा समेत अवगत गराउदछौँ,’ खड्काले काटेको पत्रमा भनिएको छ।
यसअघि खड्काले ए डिभिजन लिग स्थगित गर्न पत्रकार सम्मेलन गरेको भन्दै महासचिव राईलाई स्पष्टिकरण सोधेका थिए।
एन्फा महासचिवको नियुक्तिको प्रस्ताव तथा हटाउने प्रस्ताव अध्यक्षले मात्र ल्याउन सक्ने एन्फाको विधानमा उल्लेख छ।
पछिल्लो समय अध्यक्ष नेम्बाङ र वरिष्ठ उपाध्यक्ष खड्का फरक फरक कित्तामा छन्। अध्यक्षसहितको कार्यशैलीको विरोधमा खड्का रहेका छन्। साढे तीन वर्षअघिको एन्फा निर्वाचनमा भने नेम्बाङ र खड्का एउटै प्यानलबाट जितेका थिए।