सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आजदेखि दोस्रो चरणका खेल सुरू हुँदैछन्। दोस्रो चरणको पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले पूर्वच्याम्पियन थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
पहिलो खेलमा फ्रेण्ड्ससँग गोलरहित बराबरी खेलेको सातदोबाटोका लागि आजको खेल सहज हुनेछैन। किनभने थ्रीस्टारले पहिलो खेलमा च्यासल युथ क्लबमाथि ३-० को जित निकालेको थियो। यद्यपी थ्रीस्टारका लागि तीनै गोल डिफेन्डरले गरेका थिए भने तीनै गोल सेटपिसमा भएका थिए।
थ्रीस्टारविरूद्ध खेल्न सहज नहुने सातदोबाटोका प्रशिक्षक मेघराज केसी बताउँछन्। आफ्नो पूर्वक्लबविरुद्ध तीन अंक लिनका लागि तयारी गरिरहेको उनको भनाइ छ।
थ्रीस्टारविरुद्ध खेल्दा सातदोबाटोले तीन जना विदेशी खेलाडी पनि मैदान उतार्ने छैन। किनभने फ्रेण्ड्सविरुद्धको खेलमा मिडफिल्डर सिफामण्डला स्केलो माथेन्ज्वा गम्भीर घाइते भएका थिए। घुँडामा चोट लागेका उनले सिजनका बाँकी खेल गुमाउने प्रशिक्षक केसीको भनाइ छ।
सातदोबाटो युथ क्लब। सिफामण्डला स्केलो माथेन्ज्वा २२ नम्बरको जर्सीमा। दक्षिण अफ्रिकाका स्केलो उद्घाटन खेलको १७औं मिनेटमा घाइते भएका थिए। डिबक्स बाहिर फ्रेण्ड्सका अनिल महर्जनले खराब ट्याल गरेपछि उनी मैदानमा ढलेका थिए। ढलेपछि उनी ठूलो आवाज निकाल्दै कराएको सुनिएको थियो।
घुँडामा चोट लागेपछि उनलाई तत्काल मैदान बाहिर ल्याइएको थियो। ७ मिनेटमा पर्खदा पनि उनी उठ्न सकेनन्। जसका कारण सातदोबाटोले उनको स्थानमा मिडफिल्डर प्रशान्त अवस्थीलाई मैदान छिराएको थियो।
'उनलाई गम्भीर चोट लागेको छ। सबै रिपोर्ट हेर्दा अब उनले सिजनका बाँकी सबै खेल गुमाउनेछन्, सायद शल्यक्रिया गर्नु पर्छ होला' प्रशिक्षक केसीले भने।
ट्रयालमा राम्रो खेल देखाएपछि उनले टिममा स्थान बनाएका थिए। सुरुवाती मिनेटमा केही राम्रो मुभ निकालेका उनले आफ्नो वास्तविक खेल देखाउन बाँकी नै रहेको प्रशिक्षक केसीको भनाइ छ।
'अभ्यासमा उसले राम्रो गरेको थियो। मैदानमा खेल देखाउन बेला सुरूमै घाइते हुन दु:खद् पक्ष हो। उनको चोट गम्भीर भएकाले करिअरलाई असर गर्न पनि सक्छ,' केसीले बताए।
दक्षिण अफ्रिकन स्केलोसँगै सातदोबाटोलाई पनि घाटा लागेको प्रशिक्षक केसी बताउँछन्।
'विदेशी खेलाडी भित्र्याउन क्लबले धेरै खर्च गरेको हुन्छ। ती खेलाडी घाइते भएको अवस्थामा क्लबलाई पनि घाटा पर्छ,' केसीले भने,'विदेशी खेलाडी घाइते भएको अवस्थामा उसको स्थानमा अर्को खेलाडी राख्नका लागि एन्फाले दिनु पर्छ।'
घाइते भएका स्केलोको अहिलेको सबै उपचार क्लबले गर्ने प्रशिक्षक केसीले बताए। साथै अब देश फर्कनका लागि पनि सबै व्यवस्था मिलाइदिने पनि उनले बताए।
पहिलो खेलमै गम्भीर चोट लागेर सिजनकै सबै खेल गुमाउने भएपछि स्केलोले पनि दु:ख व्यक्त गरेका छन्।
'घुँडामा चोट लागेको हुनाले एकदमै यो नराम्रो लागेको छ, अहिले उपचारमा व्यस्त छु, चाँडै टोलीमा सामेल हुनेछु,' स्केलोले सेतोपाटीसँग भने।
ए डिभिजनमा प्रतिस्पर्धा गर्ने क्लबले तीन जना विदेशी र एक जना दक्षिण एसियाका खेलाडी टिममा राख्न पाउँछन्। जसमा पहिलो रोजाइमा तीन जना विदेशी खेलाडीले खेल्न पाउने व्यवस्था छ।
जारी लिगमा विभागीय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफबाहेक अन्य सबै टिममा विदेशी खेलाडी आबद्ध छन्। आबद्ध मध्ये अधिकांस अफ्रिकनमूलका छन्।