नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिताविरुद्ध फुटबलका सरोकारवालाले धर्ना दिएका छन्।
आइतबार (असोज २६, २०८२) बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सातदोबाटोमा एक घण्टा धर्ना दिएका हुन्।
फुटबलका स्वतन्त्र समर्थकहरूले एन्फा मुख्यालयको गेट अगाडि बिहान १० बजेदेखि ११ बजेसम्म शान्तिपूर्ण प्रदर्शन गरेक हुन्।
उनीहरूले एन्फा फुटबल एसोसिएसन की कन्सल्टेन्सी, विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ?, नो गेम, नो फ्रेम: एन्फाज टु ब्लेम, घरेलु लिग चलाउ: फुटबल बचाउ, वाक्क लाग्दो एन्फा: दिक्क लाग्दो नेपाली फुटबल, फुटबल क्यालेन्डरमा होइन, ग्राउन्डमा चाहियो लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरे।
आजै एन्फाले एन्फाले सहिद स्मारक ए डिभिजन लिग खेल्ने क्लबहरूसँगको बैठक फेरि स्थगित गरेको छ।
आइतबारका लागि तय भएको बैठक एन्फाले क्लबहरूबाट सुझाव प्राप्त भएको भन्दै स्थगित गरेको हो।
‘ए डिभिजन क्लबहरूबाट प्राप्त भएको सुझावहरूका सम्बन्धमा आवश्यक तयारी गर्नुपर्ने भएकाले आज तय भएको बैठक स्थगित गरिएको जानकारी गराउँछु,’ एन्फाका सहायक महासचिव दामोदर भट्टराईको भनाइ छ।
यसअघि एन्फाले १४ ए डिभिजन क्लबलाई असोज ५ गते पत्र पठाउँदै सहिद स्मारक ए डिभिजन लिगको महत्वपूर्ण विषयमा छलफल गर्नका लागि आगामी असोज २६ गते बैठक बोलाएको थियो।
तर ए डिभिजन क्लबहरूले शनिबार पत्रकार सम्मेलन गर्दै एन्फाले ए डिभिजन लिगको पर्याप्त तयारी र क्लबसँगको समन्वय बिना होम एन्ड अवे लिग गराउन लागेको भन्दै विरोध गरेका थिए। साथै उनीहरुले एन्फासमक्ष विभिन्न माग समेत राखेका थिए।
एन्फाले यसअघि पनि लिगका लागि क्लबहरूसँग छलफल गरेको थियो। भदौ ३० का लागि बोलाइएको बैठक पनि औपचारिक रूपमा सञ्चालन हुन सकेको थिएन। जेनजी आन्दोलनका कारण एन्फाका विभिन्न कार्यक्रम स्थगित हुँदा बैठक पनि प्रभावित बनेको थियो।
यसअघि एन्फाले २०८२ पुस ९ गतेदेखि सुरु गर्ने प्रस्ताव राख्दै यसलाई होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने योजना सुनाएको थियो।
पछिल्लो पटक २०७९/२०८० को लिग २०८० को जेठ २३ सकिएको थियो। चर्च ब्वाइजलाई च्याम्पियन बनेको साढे दुई वर्षपछि एन्फाले अर्को लिग गर्न लागे पनि अझै अन्योल बढेको छ।
पछिल्लो लिग सकिएको तीन वर्षपछि अर्को लिग गर्न लागेको एन्फामाथि समयमै लिग गर्न नसकेको भन्दै चर्को आलोचना हुने गरेको छ।