२०२७ एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले बिहीबार भियतनामसँग खेल्दैछ। समूह ‘एफ’ को यो खेल हो ची मिनमा नेपाली समयअनुसार साँझ सवा छ बजे सुरु हुनेछ।
खेलका लागि नेपालको प्लेइङ-११ सार्वजनिक भएको छ। जसमा गोलकिपर तथा कप्तानमा किरणकुमार लिम्बू छन्। डिफेन्डरमा सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, रोहित चन्द र अनन्त तामाङ छन्। मिडफिल्डरको रुपमा एरिक विष्ट, लेकन लिम्बू, रोहन कार्की र आयुष घलान छन। फरवार्डमा जिलेस्पी जंग कार्की र मनिष डाँगी छन्।

नेपाल र भियतनामबीच २२ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। यसअघि नेपाल र भियतनामबीच सन् २००३ मा दुई पटक प्रतिस्पर्धा भएको थियो।
दक्षिण कोरियामा सन् २००३ को सेप्टेम्बरमा एसियन कप छनोटको समूह ‘ई’ अन्तर्गतको दुवै खेलमा नेपाल पराजित भएको थियो।
पहिलो खेलमा २-० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा ५ गोल खाएको थियो।
यसरी भियतनामसँग अहिलेसम्म नेपालले जित र गोल गर्न सकेको छैन।
नेपाल समूहको आफ्ना दुवै खेलमा पराजित भइसकेको छ। पहिलो खेलमा मलेसियासँग २-० ले हराएको नेपालले दोस्रो खेलमा लाओसविरूद्ध २-१ ले खेल गुमाएको थियो।
भियतनामसँग भोलि खेलेपछि नेपालले अर्को खेल पनि भियतनामसँग खेल्नेछ।
एक सातापछि नेपालमै खेल्नु पर्ने यो खेल पनि भियतनाममै हुनेछ। किनभने नेपालको घरेलु मैदानले अन्तर्राष्ट्रिय मान्यता नपाएपछि नेपालले आफ्नो होम म्याच पनि असोज २८ मा भियतनाममै खेल्न लागेको हो।