त्रिभुवन आर्मी क्लबले एएफसी कपको प्रारम्भिक चरणमा गतिलो सुरूवात गरिसकेको छ। गत बुधबार दशरथ रंगशालामा भएको खेलमा आर्मीले श्रीलंका पुलिस एससीविरुद्ध ५-१ गोलको जित निकालेर एएफसी कपमा सुखद सुरुवात गर्न सफल भयो।
टिमका महत्वपूर्ण खेलाडीहरू कोरोनाका कारण आइसोलेसनमा बस्दा आर्मीले उपलब्ध खेलाडीबाट चाहेको नतिजा निकाल्यो।
दशरथ रंगशालामा पाँच गोल गर्न सफल भएपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले लक्ष्य प्राप्त भएको बताएका थिए।
आर्मीका लागि अबको खेल भने कठिन हुने देखिएको छ। किनकी आर्मीले दोस्रो अवे खेल स्तरिय विदेशी खेलाडी आबद्ध टिमविरुद्ध खेल्नु पर्नेछ।
दोस्रो प्लेअफ खेल्न आर्मी आइतबार भारतको गोवातर्फ प्रस्थान गरेको छ। त्यहाँ उसले बेंगलुरु एफसीविरुद्ध खेल्नेछ।
गोवा जाँदा पनि आर्मी दुई महत्वपूर्ण खेलाडीबिहीन हुनेछ। गोलकिपर विकेश कुथु र फरवार्ड जर्जप्रिन्स कार्कीले कोरोनाका कारण दोस्रो खेल पनि गुमाउने भएका हुन्।
आर्मीले गोवामा आगामी वैशाख १ गते बेंगलुरुसँग प्रतिस्पर्धा गर्दैछ।
बेंगलुरुले सन् २०१९-२० को इन्डियन सुपर लिग (आइएसएल) मा तेस्रो स्थान हात पारेको थियो। आइएसएलमा तेस्रो हुने टिमले प्लेअफमा स्थान पाउने नियमअनुसारमा बेंगलुरुले एएफसी कपमा स्थान पाएको हो।
नेपालबाट एएफसी लाइसेन्स प्राप्त गरेको एक मात्र क्लब आर्मीले गत सिजनको सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो स्थानमा हात पारेको हो।
यो सिजनको लिगमा भने बेंगलुरुले सातौं स्थान हात पार्यो। नेपालमा भने यो सिजन शीर्ष डिभिजनको लिग हुन सकेको छैन। त्यसैले आर्मीले यो सिजन घरेलु लिग नखेली अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ।
आर्मीमा स्थायी वा करारमा आबद्ध खेलाडी मात्र त्रिभुवन आर्मी क्लबबाट खेल्न पाउनेछन्।
यसको विपरीत बेंगलुरुमा भारतीय बाहेक चार जना विदेशी खेलाडी छन्। स्पेनिस डिफेन्डर एन्टोनियो गोन्जालेज फर्नान्डेज, अस्ट्रेलियाका डिफेन्डर इरिक पार्तालु, स्पेनिस मिडफिल्डर डिमास डेलगाडो र ब्राजिलियन फरवार्ड क्लेइटोन सिल्भा छन्। बेंगलुरुको कप्तान सुनील क्षेत्रीको कप्तानीमा मैदान उत्रनेछ।
अवे खेल भएकाले पनि आर्मीका खेल सहज हुनेछैन। तर पनि आर्मी कठिन चुनौती पार गर्दै अघि बढ्ने आर्मीका प्रशिक्षक न्यौपाने बताउँछन्।
आर्मीले बेंगलुरुलाई हराउन सके प्रारम्भिक चरणको तेस्रो प्लेअफमा स्थान पाउनेछ। तेस्रो प्लेअफमा आर्मी र बेंगलुरु तथा बंगलादेशको अबहानी लिमिटेड र माल्दिभ्सको इगल्स मालेबीचको विजेताबीच खेल हुनेछ।
तेस्रो प्लेअफको विजेताले एएफसी कपको दक्षिण एसिया समूहमा प्रवेश पाउनेछ। दक्षिण एसियाको समूह 'डी' यसअघि नै तीन टिमले स्थान पाइसकेका छन्।
समूहमा भारतको एटिके मोहन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया पुगिसके छन्।
प्लेअफ चरण सकिएपछि समूह चरणको खेल हुनेछ। समूह चरणको खेल मे दोस्रो हाप्तादेखि माल्दिभ्समा हुनेछ।