गत सोमबार सन्जोक राईले ६ वर्षपछि चैनको सास फेरे। फुटबल करिअरका दौरान भोगेका पीडामा मलम लगाए।
आफ्नो ब्याचका खेलाडी नेपाली फुटबलमा छाइरहँदा एन्फा एकेडेमीका उत्पादन सन्जोक विभिन्न कारणले सन् २०१५ पछि ओझेलमा परेका थिए। परिवारको आर्थिक संकट टार्न भारतीय सेनामा भर्ती हुन लखनउ पुग्नु उनको बाध्यता थियो। अनि आफूआबद्ध क्लबसँग सम्झौताको झमेलाका कारण ६ महिना प्रतिबन्धमा पर्नु उनको नियती बन्यो।
समस्याबाट बाहिर निस्केपछि मिडफिल्डर सन्जोक नेपाली फुटबलका संकटमोचक बने।
'थ्री नेसन्स कप' फाइनलमा गत सोमबार बंगलादेशविरूद्ध गोल गर्दै नेपाली फुटबलको १८ महिना लामो गोलको खडेरी तोडे। सन्जोकले दोस्रो गोलका लागि विशाल राईलाई सटिक पास उपलब्ध गराए। जसकारण उनी फाइनल खेलको 'प्लेयर अफ म्याच' घोषित भए भने नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि उचाल्यो।
थ्री नेसन्स कपमा किर्गिस्तानको यु-२३ टिमविरूद्ध खेल्दै उनले सिनियर टिमबाट पहिलो पटक नेपालको जर्सी लगाउने अवसर पाए। सो खेल आधिकारिक अन्तर्राष्ट्रिय खेल नभएकाले शनिबार बंगलादेशविरूद्धको खेल उनको डेब्यू थियो।
उनले दुवै खेल सोचेअनुरूप खेल्न सकेका थिएनन्। कमजोरी पत्ता लगाउन होटल फर्किएर आफ्नो खेलको भिडिओ हेरे। भिडिओमा प्रतिक्रिया आएका थिए। ती प्रतिक्रिया पढेर राति २ बजेसम्म बसेका थिए।
'अबेरसम्म मेराबारे आएका सबै कमेन्ट पढेर बसेँ। कतिपय नराम्रा कमेन्ट पनि थिए। कताकता नरमाइलो लाग्यो,' २३ वर्षीय सन्जोकले भने।
तर ती कमेन्ट उनका लागि प्रेरणा बने। फाइनलमा दमदार खेल्दै सबैलाई जवाफ दिए। डेब्यू गरेको दोस्रो खेलमै राष्ट्रिय टिमबाट गोल गर्दा उनको खुसीको सीमा रहेन।
'क्लबबाट गोल गर्दा पनि खुसी भइन्छ। तर राष्ट्रिय टिमबाट गोल गर्दाको खुसी छुट्टै हुँदो रहेछ। हजारौं दर्शकअघि गोल गर्दा छुट्टै जोश र जाँगर आउँदो रहेछ,' उनले पहिलो अन्तर्राष्ट्रिय गोलको अनुभव सुनाए।
झापा, बिर्तामोडका सन्जोक फुटबलको माहोलमै हुर्किएका हुन्। आठ वर्षको उमेरदेखि फुटबल खेल्न थालेका उनको प्रतिभा देखेर सिनियरले हौस्याउँथे।
'दाइहरूले राम्रो खेलिस् भन्नु हुन्थ्यो। त्यसैले मेरो फुटबलप्रतिको लगाव बढ्दै गयो,' उनी भन्छन्।
बाल्यकालमै उनी फुटबलमा भविष्य खोज्दै काठमाडौं आएका थिए। एन्फा एकेडेमीका लागि भएको छनोटमा सफल हुन सकेनन्। त्यसपछि उनले धरानमा दोस्रो प्रयास गरे। एन्फाको धरानस्थित एकेडेमीका लागि १२ वर्षकै उमेरमा छनोट हुन सफल भए।
एन्फाको काठमाडौं, बुटवल र धरानको एकेडेमीमाआबद्ध खेलाडीमध्येबाट घोषित गरिएको उमेर समूहका टिममा उनी पर्न सफल भए। उनको ब्याचमा विमल घर्तीमगर, अन्जन विष्ट, अनन्त तामाङ, हेमन्त थापामगर जस्ता प्रतिभाशाली खेलाडी थिए।
एन्फामा पाँच वर्ष बसेपछि सन् २०१५ मा उनले नेपाली फुटबलको करिअर त्याग्ने निधो गरे। आफ्नै ब्याचका केही साथीसँगै उनी भारतीय सेनामा भर्ती हुन लखनउ पुगे। त्यही बेला, २०७२ को भुइँचालोपछि एन्फा कम्प्लेक्समा साफ यु-१९ च्याम्पियनसिप भएको थियो। उक्त प्रतियोगिता खेल्न राष्ट्रिय टिममा बोलावट भए पनि उनी लाहुरे बन्ने सोचले भारत पुगेका थिए।
यु-१९ राष्ट्रिय टिम त्यागेर भारत जानु उनको बाध्यता थियो। घरमा कमाउने कोही थिएनन्। दाइ पनि फुटबल खेलाडी नै भएकाले आमाबुवाले जागिर खान भनिरहन्थे। सन्जोकले भने, 'परिवारको आर्थिक समस्याका कारण लाहुरे बन्ने निर्णय गरेको थिएँ।'
खेलाडी भएकाले सन्जोकले भारतीय सेनामा भर्ती हुने माध्यम पनि फुटबल नै रोजेका थिए। खेलाडीको कोटामार्फत भएको छनोटको मेडिकलमा पास हुन सकेनन्।
उनी लाहुरेमा असफल भइरहँदा यता नेपालले साफ यु-१९ च्याम्पियनसिपको उपाधि जित्यो। यो क्षण उनका लागि निकै पीडादायी बन्यो। भारी मन लिएर झापा फर्किए।
त्यसपछि स्थानीय टिमबाट आफ्नो फुटबल करिअर पुनः अघि बढाए। यो बीचमा उनी नेपालको यु-२३ टिममा पनि परे। २०७० सालदेखि हुन नसकेको सहिद स्मारक ए डिभिजन लिग २०७५ सालदेखि पुनः सुरू भयो। त्यही लिगका लागि उनी च्यासल युथ क्लबमा आबद्ध भए।
त्यतिबेला च्यासलले आफूले नखेलेको प्रतियोगितामा अर्को टिमबाट खेल्न उनलाई मौखिक अनुमति दिएको सन्जोक बताउँछन्। त्यसैले उनले झापा-११ बाट मोफसलका प्रतियोगिता खेले। च्यासलले पनि खेलेका केही प्रतियोगितामा सन्जोकलाई टिमबाट बोलाएन।
त्यहीबीचमा एकपटक सन्जोकले झापा-११ बाट च्यासलविरूद्ध खेल्नुपर्ने भयो। उक्त खेलमा उनले च्यासलविरूद्ध गोल पनि गरे। त्यसपछि सन्जोकसँग च्यासल बिच्कियो। एन्फामा सन्जोकविरूद्ध उजुरी पर्यो। जसकारण उनी र निशान खड्कामाथि ६ महिनाको प्रतिबन्ध लगाइयो।
यो घटनाले सन्जोकमाथि अर्को चोट पर्यो।
'झापा र च्यासल दुवैतिरका व्यवस्थापनले खेल्नुअघि कुनै समस्या हुन्न भनेका थिए। त्यसैले मैले झापाबाट खेलेको थिएँ,' उनी भन्छन्।
एन्फाको प्रतिबन्धका कारण उनले गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) गुमाए। प्रतिबन्धमा परेको दिन उनी एन्फा कम्प्लेक्सको होस्टलमै थिए। टिम अभ्यासमा जानुअघि उनलाई फर्काइयो।
'होस्टलको झ्यालबाट नेपाली टिमले तयारी गरेको हेरिरहेँ। त्यो बेला निकै नरमाइलो लागेको थियो,' उनी भावुक भए।
पछि नेपाली टिमले घरेलु मैदानमा १३ औं सागको स्वर्ण जित्यो। पहिलो पटक आफ्नै कारणले यु-१९ साफको उपाधि उचाल्ने अवसर गुमाएका सन्जोकले दोस्रो पटक क्लब सम्झौताको झमेलाका कारण सागको स्वर्ण चुम्ने मौका गुमाए।
छ महिना प्रतिबन्ध झेल्दा उनले अभ्यास गर्न भने छाडेनन्। इख पालेर निरन्तर आफूलाई तिखारिरहे। २०७६ सालको लिगका लागि उनी थ्रीस्टार क्लबमा आबद्ध भए। सुरूआती चरण खेल्न नपाएका सन्जोकले सरस्वतीविरूद्ध ह्याट्रिक गर्दै प्रतिबन्धको जवाफ फर्काए, त्यो सिजनकै पहिलो ह्याट्रिक थियो।
लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले सिनियर टिमका लागि दावेदारी प्रस्तुत गरेका थिए। तर कोरोनाका कारण राष्ट्रिय टिममा पर्ने उनको लक्ष्य धकेलियो। गत कात्तिकमा नेपालले बंगलादेशविरूद्ध मैत्रीपूर्ण खेलका लागि ढाका भ्रमण गर्दा उनी झापामा थिए। पिसिआर टेस्टका लागि उनी काठमाडौं आउन सकेनन्।
बंगलादेशबाट फर्किएलगत्तै नेपाली टिमले विश्वकप छनोटको तयारी थाल्यो। त्यतिबेला भने उनी राष्ट्रिय टिमको प्रशिक्षणमा उपलब्ध भए। तीन महिना लामो तयारीपछि घोषणा गरिएको २३ सदस्यीय राष्ट्रिय टिममा अटाउन सफल भए। टिममा अटाए पनि पहिलो रोजाइमा खेल्नु चुनौतीपूर्ण थियो। प्रशिक्षकले उनीमाथि भरोषा गरेर बंगलादेशविरूद्ध पहिलो रोजाइमा खेलाए।
प्रशिक्षकको निर्णय सही सावित गर्दै बंगलादेशविरूद्ध गोल गर्दा सन्जोकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको गोलको खडेरी तोडे। अनि छ वर्षदेखि राष्ट्रिय टिमबाट उपाधि जित्ने आफ्नो भोक पनि मेटाए।