थ्री नेसन्स कपअघि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टिमको कप्तानी गोलकिपर किरण चेमजोङलाई दिने बताए।
नियमित कप्तान विराज महर्जन टिममा रहेको अवस्थामा पनि किरणलाई कप्तानको जिम्मेवारी दिइएको थियो। यस विषयमा महर्जनले प्रष्ट पार्दै भनेका थिए,'जो खेल्छ, जसले नेतृत्व गर्छ, जसले नियन्त्रण गर्छ, त्यसैले कप्तानी गर्छ।'
बालगोपालले भने झैं किरणले प्रतियोगिताभर राम्रो खेले, नेतृत्व गरे। फलस्वरुप नेपाली टिमले थ्री नेसन्स कपको उपाधि जित्यो। सोमबार भएको फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोल हराएपछि किरणले राष्ट्रिय टिमको कप्तानको रुपमा पहिलो पटक उपाधि उचाल्ने अवसर पाए।
आफ्नो नेतृत्वमा नेपालले उपाधि जितेकोमा किरण खुसी छन्। 'टिमप्रति मेरो विश्वास थियो। त्यहीँ विश्वास अनुसार टिमले राम्रो खेलेकाले उपाधि जित्न सफल भयौं,' किरणले आफ्नो कप्तानीमा ट्रफी उचालेपछि प्रतिक्रिया दिए।
किरण थ्री नेसन्स कपका लागि भारतबाट नेपाल फर्किएका हुन्। सिजनमा भारतको आइ लिग क्लब पञ्जाव एफसीमा आबद्ध किरण लिगको अन्तिम खेलअघि राष्ट्रिय टिमबाट खेल्न स्वदेश फर्किए।
गत शनिबार नेपालले किरणको नेतृत्वमा बंगलादेशविरुद्ध खेलिरहदा पञ्जावले सिजनको आइ लिगको अन्तिम खेलमा चर्चिल ब्रदर्श गोवासँग भिडिरहेको थियो।
दशरथ रंगशालामा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेले। किरणबिना मैदान उत्रिएको पञ्जाव भने ३-२ गोलले पराजित भयो।
गोलरहित बराबरी खेले पनि नेपाल थ्री नेसन्स कपको फाइनलमा पुग्यो। उता भारतमा किरण आइ लिगकै उत्कृष्ट गोलकिपर घोषित भए।
सिजनमा पञ्जावले चौथो स्थान हात पार्यो। गोकुलम केरलाले उपाधि जित्यो।
नेपाल आउनुअघि किरणले पञ्जावबाट सबै खेलमा खेलेका थिए। पञ्जावका नियमित कप्तान विक्रमजित सिंहको अनुपस्थितिमा उनले केही खेलमा कप्तानी पनि गरेका थिए।
लिगका १५ खेल मध्ये १४ खेल खेलेका किरणले ७ खेलमा क्लिनसिट राखेका थिए। जुन सिजनकै सर्वाधिक क्लिनसिट हो। सिजनमा उनले तीन पटक प्लेयर अफ दि म्याचको पुरस्कार प्राप्त गरेका थिए।
किरण विदेशी लिगमा उत्कृष्ट भएको यो पहिलो पटक भने होइन। यसअघि सन् २०१८ मा किरण माल्दिभ्सको लिगमा उत्कृष्ट गोलकिपर घोषित भएका थिए। किरणले सो सिजनमा टिसी स्पोर्ट्सलाई माल्दिभ्सको लिगको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।
किरणले पञ्जावबाट तेस्रो सिजन आइ लिग खेलेका हुन्। किरणले अघिल्लो सिजनमा पनि पञ्जावबाटै खेलेका थिए। कोरोना भाइरसले प्रभावित हुनुअघि उनले गत सिजन आइ लिगका १६ वटै खेल खेलेका थिए। गत सिजन एक खेलमा म्याच अफ म्याच भएका किरणले तीन क्लिनसिट राखेका थिए।
किरणले यसअघि २०१७ को सिजनको अन्त्यमा पञ्जावबाट खेलेका थिए। त्यतिबेला उनले ८ खेल खेलेका थिए।
गत वर्ष किरण र माल्दिभ्सको पहिलो डिभिजनको क्लब टिसी स्पोर्टसबीच भएको सम्झौता रद्द भएको थियो। रद्दपछि नयाँ क्लबको खोजीमा रहेका किरण भारतीय क्लबमा पुगेका थिए।
२०१७ मा टिसीबाट पहिलो सिजन खेलेका किरणले प्रेरणादायी खेल पस्केका थिए। त्यतिबेला टिसी स्पोट्सले माल्दिभ्सको माथिल्लो डिभिजनमा दोस्रो स्थान हात पारेको थियो।
२०१७ को अन्त्यमा किरणले पञ्जावबाट केही महिना खेलेका थिए। पछि फेरि उनी टिसी स्पोर्ट्समै आबद्ध भएका थिए।
३० वर्षीया किरणले सन् २०१६ मा मनाङ मर्स्याङ्दीबाट खेलेका थिए। एन्फा एकेडेमीका उत्पादन किरणले २००९ देखि २०१६ सम्म थ्री स्टार क्लबबाट खेले। त्यसक्रममा उनले थ्री स्टारलाई लिगसहित दर्जनौं घरेलु फुटबल प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।
स्ट्राइकरबाट फुटबल खेल्न सुरू गरेर नेपालको नम्बर एक गोलकिपर बनेका किरण
बाल्यकालमा किरण चेमजोङ आफ्नो फुटबल टिमको स्ट्राइकरको पोजिसन सम्हाल्थे। धनकुटाको राजारानीमा कहिले डिफेन्डरको भूमिकामा पनि खेल्नु पर्थ्यो किरणलाई।
अग्ला कदका किरणलाई एक दिन गोलकिपर खेल्ने प्रस्ताव आयो। यसका लागि पनि उनी तयार भए।
'यसरी नै मैले गोलकिपरको यात्रा सुरु गरेको थिएँ,' हाल नेपाली राष्ट्रिय टिमका नम्बर एक गोलकिपर किरणले भने।
पहाडी जिल्ला भए पनि किरणको गाँउ राजारानीमा फुटबलको औधी क्रेज थियो। गाउँमा ठूलो फुटबल मैदान थियो। स्थानीयहरू फुटबलमा झुम्मिन्थे। किरणलाई पनि फुटबल मन पर्थ्यो।
'मैले फुटबलमा लागेर पढाइमा बिगार्छु भनेर मेरी आमा चिन्ता गर्नु हुन्थ्यो। तर पनि उहाँले खेल्न भने सहयोग गर्नुहुन्थ्यो। गाँउ बाहिर फुटबल खेल्न जादा आमाले पैसा दिनुहुन्थ्यो,' किरणले द एन्फा डट कमलाई भनेका थिए।
स्थानीयस्तरमा आफूलाई स्थापित गरेपछि किरण जिल्लास्तरमा पनि छाउन थाले। यु-१६ प्रतियोगिगता खेल्न काठमाडौं आए। त्यो उनको पहिलो राजधानी भ्रमण थियो।
'संयोगवस त्यतिबेलै काठमाडौंमा यु-१६ को राष्ट्रिय छनोट रहेछ,' उनी सम्झिन्छन्।
उनको जिल्लाले स्कुलस्तरीय प्रतियोगितामा सेमिफाइनलमा हार बेहोर्यो। त्यसपछि सिनियरहरूले उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को छनोटमा भाग लिन सुझाव दिए।
'एन्फामा गएपछि मलाई छनोट मिति दिइयो। धनकुटा फर्किएर फेरि काठमाडौं आए। छनोटमा सफल भए र एन्फा एकेडेमीमा भर्ना पाए,' उनले भने।
एन्फाबाट पास आउट भएपछि उनले क्लब करिअर सुरु गरे। लगत्तै उनी सन् २००८ मा राष्ट्रिय टिमका लागि बोलाइए। सन् २००८ मा कोम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा लागि उनी राष्ट्रिय टिमका लागि बोलाइएका थिए।
त्यसयता उनले राष्ट्रिय टिममा लगातार प्रभाव पार्दै आएका छन्।
६ फिट २ इन्च अग्ला किरणलाई स्ट्राइकर छाडेर गोलकिपर हुने निर्णयले सुरुसुरुमा भने पिरोल्थो।
'कहिलेकाहीँ गल्ती गर्दा मानिसहरू गोलकिपरलाई गाली गर्थे। त्यसैले मैले सिनियरको कुरा नसुनी स्ट्राइकर अथवा अरु पोजिसनमा खेल्नु पर्छ जस्तो लाग्थ्यो। समय बित्दै जाँदा त्यस्तो सोच हट्दै गयो,' उनी भन्छन्।
गोलकिपरको गल्तीमा प्राय: टिप्पणी भइहाल्ने चेमजोङ बताउँछन्।
'एउटा स्ट्राइकरले धेरै अवसर खेर फाल्छ र एउटा गोल गर्छ। सो गोलका लागि उसलाई सम्झिइन्छ। गोलले खेल जित्ने भएको कारणले होला स्ट्राइकालाई सबैले सम्झिने। तर गोलकिपरको सवालमा यस्तो हुँदैन। खेलको अवधिमा गरेका गल्तीका लागि मात्र गोलकिपरको नाम आउँछ,' चेमजोङले भने।
मच्छिन्द्र क्लबबाट क्लब करिअर सुरू गरेका चेमजोङले थ्रीस्टार र मनाङ मर्स्याङ्दी जस्ता नेपालका बलिया क्लबबाट खेले। यी क्लबबाट खेल्दा उनले क्लब र व्यक्तिगत विधाका दर्जनौ अवार्ड तथा उपाधि जिते।
चेमजोङले माल्दिभ्स र भारतबाट पनि व्यावसायीक फुटबल खेलेँ।
'सन् २०१६ मा राष्ट्रिय टिमबाट सोलिडारिटी कप खेल्दा माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबका गोलकिपिङ प्रशिक्षकले मेरो खेलेर हेरेर मलाई सन्देश पठाए। क्लब मलाई भित्र्याउन इच्छुक थियो,' किरण भन्छन्।
नेपालले प्रतियोगिताको उपाधि जितेपछि किरणले पनि टिसी स्पोर्ट्सले सम्झौता गरे। उनले भारतको आइ लिग टिम पञ्जाव एफसीबाट पनि शीर्ष श्रेणीको लिग खेले। क्लबले सन् २०१७-१८ मा उपाधि जित्दा चेमजोङ पनि टिममा थिए।
किरण आफूलाई राम्रो सल्लाह र सुझाव दिने सिनियर र प्रशिक्षक पाएकोमा भाग्यमानी ठान्छन्। जसका कारणले आफू एन्फा एकेडेमीमा सफल भएको उनको भनाइ छ।
'म एन्फा, सिनियर र प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु। उहाँहरूले जे सिकाउनु भयो त्यसका लागि धन्य छु। अब हामीले अर्को स्तरमा जानु पर्छ। त्यसका लागि कर्पोरेट क्षेत्र र सरकारले पनि सहयोग गर्नु पर्छ,' उनी भन्छन्।
नेपाल र भारतको फुटबलको स्तरमा धेरै फरक नभए पनि व्यवस्थापन र अन्य क्षेत्रको संग्लनतामा भारत अघि रहेको उनको भनाइ छ। व्यवस्थापन र कर्पोरेट क्षेत्रका कारण भारतीय फुटबलको स्तर बढाउन सहयोग पुगेको र उनीहरूले फाइदा लिन सकेको चेमजोङ बताउँछन्।
चेमजोङ आफ्नो खेल सुधार गर्दै देश र क्लबका लागि निरन्तर खेलिरहन चाहन्छन्।
'भविष्यमा के हुन्छ सोचेको छैन तर फुटबल बिना पनि केही हुन्छ भन्ने लाग्दैन,' उनले भने।
कुनै खेलमा सफल हुनु छ भने लगाव र सबथोक त्याग्न सक्नु पर्ने उनले बताए।
'राजारानीदेखि राष्ट्रिय फुटबल टिमसम्मको मेरो यात्रा सुन्दा सहज होला। तर त्यहाँ धेरै कडा परिश्रम र लगाव लुकेको छ,' उनले भने।
कुनै देशको प्रतिनिधित्व गर्नु गर्वको कुरा भएको बताउँने किरण देशका लागि खेल्ने खेलाडी बन्न ठूलो प्रयास र अनुशासन हुनुपर्ने ठान्छन्।
'यो स्तरमा पुग्न चाहानुहुन्छ भने कडा परिश्रम गर्नुपर्छ, अनुशासित हुनुपर्छ अनि धेरै समय खेलको इज्जत गर्नुपर्छ,' उनले भने।