नेपाली राष्ट्रिय फुटबल टिमले पछिल्लो पटक १० सेप्टेम्बर २०१९ मा जित निकालेको थियो।
फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोटअन्तर्गत चाइनिज ताइपेईविरुद्धको खेलमा नेपालले जित निकालेको थियो। सो खेलमा नेपालले ताइपेईलाई उसैको घरेलु मैदानमा २-० गोलले पराजित गरेको थियो। नेपालको जितमा अन्जन विष्टले दुवै गोल गरेका थिए।
त्यसयता नेपाली राष्ट्रिय फुटबल टिमको प्रदर्शन खराब रहँदै आएको छ। नेपाली टिमले कुनै खेलमा जित निकाल्न सकेको छैन। जित मात्र होइन नेपाली टिम लगातार सात अन्तर्राष्ट्रिय खेलमा गोल गर्न समेत चुकेको छ।
नेपालले खेलेका पछिल्ला सात अन्तर्राष्ट्रिय खेल मध्ये पाँच खेलमा पराजित भएको छ। दुई खेलमा गोलरहित बराबरी खेलेको छ। नेपालले सात खेलमा ११ गोल खाएको छ।
हार बेहोरेका पाँच खेल मध्ये तीन खेल विश्वकप छनोटका हुन्। तीन खेल भने नेपालले बंगलादेशविरुद्ध खेलेको छ।
गत नोभेम्बरमा नेपालले कोरोना कहरका बीच ढाकामा दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा नेपाल २-० गोलले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपाल गोलरहित बराबरीमा रोकियो। जससँगै नेपालले लगातार पाँच खेलको हारको यात्रा टुंग्याएको थियो।
यी सबै खेलमा नेपालले घर बाहिर खेलेको थियो। घरेलु मैदानमा खेल्न पाएको अवस्थामा नेपाली फरवार्डलाई केही सहजता हुने आँकलन गरिएको थियो।
दुर्भाग्य नेपालले विश्वकप छनोटका बाँकी तीनै खेल अब विदेशी भूमीमा खेल्नु पर्नेछ। कोरोना भाइरसको कारण देखाउँदै एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाल सम्मिलित समूह 'बी' का बाँकी खेल कुवेत गर्ने निर्णय गर्यो। कोरोनाले असर नगरेको भए नेपालले बाँकी तीन वटै खेल दशरथ रंगशालामा खेल्ने तय थियो।
घरेलु मैदानमा तय भएका खेल कोरोनाले पटक पटक प्रभावित बनेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप आयोजना गर्यो।
दशरथ रंगशालामा जारी प्रतिस्पर्धामा नेपालसहित बंगलादेश र किर्गिस्तानको यु-२३ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।
घरेलु मैदानमा आयोजना भएको यो प्रतियोगिताको लिग चरणमा पनि नेपाली टिम जितबिहिन र गोलबिहीन बन्यो।
किर्गिस्तानविरुद्धको पहिलो खेलमा नेपाली टिमले गोलरहित बराबरी खेल्यो। १० खेलाडी सीमित बनेको किर्गिस्तानविरुद्ध पनि नेपाली फरवार्ड पटक पटक चुकेका थिए। किर्गिस्तानको टिम यु-२३ को भएकाले यो खेल आधिकारीक अन्तर्राष्ट्रिय खेल भने होइन।
बंगलादेशविरुद्धको खेलमा पनि नेपाल फेरि असफल भयो। गोलरहित बराबरी खेल्दै नेपाल फाइनल पुग्यो।
गोल नै नगरी फाइनल पुगेको नेपालले सोमबार हुने फाइनलमा भने गोल गरेर उपाधि जित्ने मुख्य प्रशिक्षक बालगोपाल महर्जन बताउँछन्।
तर लामो समय नेपाली टिम गोल गर्न चुक्नु चिन्ताको विषय भएको उनको भनाइ छ।
'नेपालले गोल गर्न नसकेको लामो समय भइसक्यो। फरवार्डहरू चुकिरहेका छन्। उनीहरुलाई विशेष प्रशिक्षण वा काउन्सिलिङको खाँचो भएको जस्तो लाग्छ,' महर्जनले भने।
नेपाली टिम लामो समय गोल गर्न चुकेको यो पहिलो पटक भने होइन। २०१९ को जुनमा ताइपेईसँगको मैत्रीपूर्ण खेलमा १-१ को बराबरी खेल्नुअघि नेपाली टिम लगातार ६ खेलमा गोल गर्न चुकेको थियो।
जितका लागि भने नेपालले थप तीन खेल कुर्नु परेको थियो। ताइपेईविरुद्ध गोलको खडेरी तोडेको नेपालले तीन महिनापछि उसैलाई हराएर लगातार नौ खेलको अपराजित यात्रालाई टुंग्याएको थियो।
नेपालको पछिल्ला आठ खेल
नेपाल ० - ० बंगलादेश - काठमाडौं (थ्री नेसन्स कप) - मार्च २०२१
नेपाल ० - ० बंगलादेश - ढाका (मैत्रीपूर्ण खेल) - नोभेम्बर २०२०
नेपाल ० - २ बंगलादेश - ढाका (मैत्रीपूर्ण खेल) - नोभेम्बर २०२०
नेपाल ० - १ कुवेत - थिम्पु (विश्वकप छनोट) - नोभेम्बर २०१९
नेपाल ० - ३ म्यानमार - म्यानमार (मैत्रीपूर्ण खेल) - नोभेम्बर २०१९
नेपाल ० - ३ जोर्डन - अम्बान (विश्वकप छनोट) - अक्टोबर २०१९
नेपाल ० - ५ अस्ट्रेलिया - क्यानबेरा (विश्वकप छनोट) - अक्टोबर २०१९
नेपाल २ - ० चाइनिज ताइपेई - ताइवान (विश्वकप छनोट) - सेप्टेम्बर २०१९