भारतको शीर्ष डिभिजनको फुटबल लिग आइ-लिगको जारी सिजनमा नेपालका तीन जना फुटबलर खेलिरहेका छन्।
राष्ट्रिय टिमको कप्तान रहिरहेका गोलकिपर किरणकुमार लिम्बु पञ्जाव फुटबल क्लबमा आबद्ध छन्। सिजनको सुरुवाती खेलदेखि नै पहिलो रोजाइमा खेलेका किरणलाई पञ्जावले पछिल्लो सयम कप्तानको जिम्मेवारी दिएको छ।
सिजन जारी रहदा मिडफिल्डर प्रकास बुढाथोकी नेरोका एफसीमा आबद्ध भएका थिए।
यस्तै राष्ट्रिय टिमका युवा फरवार्ड अभिषेक रिजाल सिजनको आइ-लिगमा आबद्ध हुने तेस्रो नेपाली खेलाडी बने। उनी आइजोल एफसीमा आबद्ध छन्।
किरणकुमार लिम्बु (पञ्जाव एफसी)
किरणले तेस्रो सिजन पञ्जावबाट आइलिग खेलिरहेका छन्। सिजनमा उनले सुरुवाती १० खेलमै पहिलो रोजाइमा खेलेका छन्।
१० मध्ये किरणले ६ खेलमा क्लिनसिट राखिसकेका छन्। जसमा उनी तीन खेलमा म्यान अफ दि म्याच भएका छन्।
जारी लिगको दशौं चरणको खेल सकिदा पञ्जाव अंक तालिकाको दोस्रो स्थानमा छ। पञ्जावले १० मध्ये पाँच खेलमा जित हात पारेको छ भने ३ खेलमा बराबरी खेलेको छ। दुई खेलमा भने पञ्जाव पराजित भएको छ।
यसअघि किरणले अघिल्लो सिजनमा पनि पञ्जावबाटै खेलेका थिए। उनले गत सिजनको लिग कोरोना भाइरसले प्रभावित हुनुअघि लिगका १६ वटै खेल खेलेका थिए। गत सिजन एक खेलमा म्याच अफ म्याच भएका किरणले तीन क्लिनसिट राखेका थिए।
गत वर्ष किरण र माल्दिभ्सको पहिलो डिभिजनको क्लब टिसी स्पोर्टसबीच भएको सम्झौता रद्द भएको थियो। रद्दपछि नयाँ क्लबको खोजीमा रहेका किरण भारतीय क्लबमा पुगेका थिए।
टिसी स्पोर्ट्सले राष्ट्रिय टिमको खेल छाडेर माल्दिभ्स आउन आग्रह गरेको थियो। तर किरणले नेपालको मलेसिया र चाइनिज ताइपेईविरूद्धको मैत्रीपूर्ण खेलका कारण माल्दिभ्स आउन नसक्ने बताएका थिए। एन्फाले पनि क्लबलाई पत्राचार गरेको थियो। तर क्लबले भने सम्झौता नै रद्द गर्यो।
२०१७ मा टिसीबाट पहिलो सिजन खेलेका किरणले प्रेरणादायी खेल पस्केका थिए। त्यतिबेला टिसी स्पोट्सले माल्दिभ्सको माथिल्लो डिभिजनमा दोस्रो स्थान हात पारेको थियो।
२०१७ को अन्त्यमा किरणले पञ्जावबाट केही महिना खेलेका थिए। पछि फेरि उनी टिसी स्पोर्ट्समै आबद्ध भएका थिए।
किरण दुई सिजनअघि माल्दिभ्सको लिगमा उत्कृष्ट गोलकिपर बनेका थिए। किरणले सिजनमा टिसी स्पोर्टसलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।
३० वर्षीया किरणले सन् २०१६ मा मनाङ मर्स्याङ्दीबाट खेलेका थिए। एन्फा एकेडेमीका उत्पादन किरणले २००९ देखि २०१६ सम्म थ्री स्टार क्लबबाट खेले। त्यसक्रममा उनले थ्री स्टारलाई लिगसहित दर्जनौं घरेलु फुटबल प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।
प्रकास बुढाथोकी (नेरोका एफसी)
लिग चलिरहदा नेरोकामा आबद्ध भएका प्रकासले अहिलेसम्म तीन खेलमा मौका पाएका छन्।
प्रकासले सुदेवा दिल्लीविरुद्धको खेलबाट नेरोमा डेब्यू गरेका थिए। यस्तै उनले चर्चिल ब्रदर्श गोवाविरुद्ध खेल्दा सोमबार पञ्जावविरुद्ध पनि खेलेका थिए।
प्रकासले खेलेका पछिल्ला दुई खेलमा नेरोका पराजित भएको थियो।
नेरोका जारी लिगमा दशौं स्थानमा छ। ११ टिम सहभागी लिगमा नेरोकाले १० मध्ये दुई खेलमा मात्र जित निकाल्न सकेको छ। ६ खेलमा पराजित भइसकेको नेरोकाले २ खेलमा बराबरी खेलेको छ।
धरान फुटबल क्लबबाट आफ्नो फुटबल यात्रा सुरु गरेका प्रकाससँग नेपालको राष्ट्रिय टोलीबाट खेलेको अनुभव छ।
सन् २०१६ को साग फुटबलमा नेपालले भारतलाई हराएर स्वर्ण जित्दा प्रकासले नेपाली टिमबाट प्रभावशाली खेल देखाएका थिए।
उनले भुटानको ‘ए’ डिभिजनमा पारो एफसीबाट सन् २०१८ को सिजनमा उपविजेता हुँदा खेलेका थिए।
प्रकासले गत सिजन एनआरटीबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए।
अभिषेक रिजाल (आइजोल एफसी)
अभिषेक पनि लिग जारी रहदा आइजोलमा आबद्ध भएका थिए। उनले टिमबाट पछिल्ला दुई खेलमा मौका पाएका छन्।
रियल कास्मिरविरुद्धको खेलबाट अभिषेकले आइलिगमा डेब्यू गरेका थिए। उनी ६४ मिनेटमा मैदान छिरेको सो खेलमा आइजोल ३-१ गोलले पराजित भएको थियो।
अभिषेकले चेन्नई सिटी एफसीविरुद्धको पनि दोस्रो हाफमा मौका पाए। सो खेलमा आइजोल ३-० ले विजयी भएको थियो।
लिगमा आइजोल सातौं स्थानमा छ। उसले चार खेलमा जित निकाल्दा ३-३ खेलमा हार र बराबरी खेलेको छ।
यसअघि गत भदौमा अभिषेक भारतको अर्को क्लब मोहमेडन स्पोर्टिङ् क्लबमा आबद्ध भएका थिए। मोहमेडन आइलिगमा बढुवा हुन नसके रिजालले अन्य क्लबबाट खेल्न सक्ने शर्त राखिएको थियो।
मोहमेडन छनोटमा च्याम्पियन बन्दै आइलिगमा बढुवा भएको थियो। जसका कारण अभिषेकका लागि आइलिग खेल्ने ढोका खुलेको थियो। तर मोहमेडनले बंगलादेशका जमाल भुयानलाई भित्र्याएपछि अभिषेकको लिग खेल्ने सम्भावना सकिएको थियो।
त्यसपछि अन्य क्लबबाट आइलिग खेल्ने प्रयास गरेका अभिषेक मिजोरम राज्यको राजधानीको क्लब आइजोलमा आबद्ध भएका थिए।
एन्फा एकेडेमीमा हुर्किएका अभिषेकले सुरुमा बी डिभिजन लिग खेलेका थिए। ब्याइज युनियनबाट बी डिभिजन खेलेपछि उनले टिमबाट धनगढीमा आयोजना भएको खप्तड गोल्डकप पनि खेले। प्रतियोगितामा उनको प्रदर्शनबाट नेपाल पुलिस क्लब प्रभावित भयो।
त्यसपछि पुलिसमा आबद्ध हुँदै उनले बुढासुब्बा गोल्डकप खेले।
ए डिभिजन लिगमा उनले पुलिसबाट खेल्दा ६ गोल गरेका थिए।
नेपाल पुलिस क्लबबाट लिग खेलेपछि उनी लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबमा लोनमा आबद्ध हुन सफल भए। मनाङले २०१९ को एएफसी कपमा आफ्नो टिम बलियो बनाउन रिजाललाई अफर गरेको थियो। प्रतियोगितामा रिजालले गोल गर्दै एएफसी कपमा नेपाली कपका लागि गोल गर्ने पहिलो खेलाडी बनेका थिए।
क्लब स्तरमा गरेको प्रदर्शनपछि उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइए।
गत वर्ष मेलसियासँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट रिजालले राष्ट्रिय टिममा डेब्यू गर्न सफल भए।
लगत्तै भएको ताइपेईँविरुद्धको मैत्रीपूर्ण खेलमा उनी पहिलो रोजाइमै खेले। जुन खेलमा उनले गोल गर्न सफल भए।