माघ पहिलो साता काठमाडौं आएकी क्यामरूनकी मेथो रूथ अहिले दैनिक सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको फुटबल मैदानमा भेटिन्छिन्। तीन जना साथीसँगै रूथ व्यावसायिक फुटबल खेल्न करिब ८ हजार किलोमिटर टाढाको देश नेपाल आएकी हुन्।
उनी वालिङ नगरपालिका, स्यांजामा आबद्ध छिन्। महिला राष्ट्रिय लिगमा रूथसहितका चार अफ्रिकी खेलाडीको प्रभावशाली प्रदर्शनले वालिङले राम्रो प्रदर्शन गरिरहेको छ। अंक तालिकाको तेस्रो स्थानमा रहेको वालिङका लागि रूथले अहिलेसम्म १५ गोल गरिसकेकी छिन्।
नेपाल एपिएफ क्लबकी सावित्रा भण्डारीपछि बढी गोल गर्ने खेलाडीको सूचीमा रूथ दोस्रो स्थानमा छिन्। बिहीबार उनले चौदण्डीगढी नगरपालिका उदयपुरविरूद्ध एक्लै पाँच गोल गरेकी थिइन्।
काठमाडौं विमानस्थलमा उत्रिएपछि उनले यहाँ निकै चिसो महशुस गरेकी थिइन्। यहाँको मौसममा घुलमिल हुन साता दिनै लाग्यो। त्यसैले होला सुरूआतमा राम्रो खेल सकिनन्। अहिले विस्तारै उनले लय पक्रिएकी छिन्।
'टिमका लागि जतिसक्दो धेरै गोल गरेर जिताउने उद्देश्य लिएर नेपाल आएकी थिएँ। सोचेजस्तो प्रदर्शन गर्न सकिनँ। त्यसैले आफ्नो प्रदर्शनमा अझै खुसी हुन सकेकी छुइनँ,' रूथले सेतोपाटीसँग भनिन्।
क्यामरूनको फुटबल वातावरणमा हुर्केकी रूथसँग फिफा यु-१७ विश्वकप खेलेको अनुभव छ। उनले सन् २०१६ मा जोर्डनमा भएको विश्वकप क्यामरूनको राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएकी थिइन्। विश्वकपमा क्यामरून सम्मिलित समूहमा क्यानडा, जमर्नी र भेनेजुएला थिए। क्यामरूनले समूहका सबै खेल हारेको थियो। भेनेजुएलाविरुद्ध खेलमा रूथले गोलका लागि पास उपलब्ध गराएकी थिइन्। यद्यपि सो खेलमा क्यामरून २-१ गोलले पराजित भयो।
सन् २०१५ र २०१६ मा यु-१७ राष्ट्रिय टिमबाट खेलेकी रूथले सन् २०१७ मा यु-२० बाट खेल्ने अवसर पाइन्। यु-२० बाट उनले विश्वकप छनोट खेलेकी थिइन्।
'यु-२० टिमबाट हामीले राम्रो खेलेका थियौं। छनोट हुन भने सकेनौं,' रूथले भनिन्।
अहिले पनि उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि बोलाइने गरेकी छिन्। २० वर्षीया रूथ सिनियर राष्ट्रिय टिममा भने परिसकेकी छैनन्। पछिल्लो समय क्यामरूनको महिला राष्ट्रिय टिममा परेका अधिकांश खेलाडीले करिअरमा पनि ठूलो फड्को मारेका छन्। टिमका १८ खेलाडीमध्ये दस जना युरोपका विभिन्न क्लबमा आबद्ध छन्।
क्यामरूनको फुटबलस्तर नेपालकोभन्दा निकै माथि छ। सन् १९७० मा पहिलो पटक फिफा विश्वकप खेलेको क्यामरून पाँच पटकको अफ्रिकन च्याम्पियन हो। क्यामरूनको महिला टिमले पनि दुई पटक विश्वकप खेलिसकेको छ।
त्यसैले रूथ बाल्यकालदेखि नै फुटबल वातावरणमा हुर्किइन्। उनी आफ्ना दाइको पछिपछि लागेर फुटबल मैदान पुग्थिन्। खेल्न चाहन्थिन्। तर उनका दाइले गाली गर्थे।
'बच्चादेखि नै फुटबल औधी मन पराउँथे। दाइको पछि लाग्थेँ। उसले भने केटीले फुटबल खेल्दैनन् भन्थ्यो। अनि म रून थाल्थेँ,' उनले भनिन्।
उनको फुटबल खेल्ने चाहना १३ वर्षको भएपछि मात्र पूरा भयो। स्थानीय एक प्रशिक्षकले उनलाई महिला टिम बनाउन लागेको भन्दै बोलाए। आमा फार्मासिस्ट भएकाले उनले अभाव भने झेल्नुपरेन। फुटबलका लागि चाहिने सामान सजिल्यै उपलब्ध हुन्थे।
क्यामरूनको उमेर समूहको राष्ट्रिय टिमबाट खेलेको अनुभवपछि उनले देशका विभिन्न टिमबाट खेल्ने अवसर पाइन्। पछिल्लो समय क्यामरूनको अवा एफसीबाट त्यहाँको फिस्ट लिग खेल्थिन्।
एकदिन उनका दाइले नेपालबारे सुनाएका थिए। त्यति बेलासम्म रूथले नेपालको नामै सुनेकी थिइनन्। अफ्रिकी फुटबल खेलाडीलाई नेपाल भित्र्याउन सहजकर्ताको काम गर्दै आएका सगुन तण्डुकारसँगको सम्पर्कमा रूथका दाइ नेपाल आएका थिए। दाइले यहाँ कुन क्लबबाट खेले, रूथलाई याद छैन।
यो सिजनको लिगका लागि एन्फाले पहिलो पटक विदेशी खेलाडी भित्र्याउन पाउने व्यवस्था गरेको थियो। वालिङले अफ्रिकी खेलाडी ल्याउन चाहेपछि सुगनले क्यामरूनमै रूथका दाईसँग सम्पर्क गरे।
दाइकै प्रस्तावमा आफू नेपाल आउन तयार भएको रूथको भनाइ छ। उनीसहितका चार खेलाडी लिगको जनही ४० हजार रूपैयाँ, खान-बस्ने र आउजाउ हवाइ टिकट पाउने शर्तमा नेपाल आएका हुन्। लिगको अन्त्यतिर आइपुग्दा रूथले आफ्नो छाप नेपाली फुटबलमा छोड्न सफल भएकी छिन्। सँगै उनी विभिन्न अनुभव सँगालेर जाँदैछिन्।
'नेपाल आएर खेल्दा एकदमै रमाइलो लागेको छ। यहाँका सबै टिम बलिया छन्। सबैले गम्भीरतापूर्वक खेलिरहेका छन्, केन्द्रित भएर खेल्छन्,' उनले नेपाली लिगको अनुभव साटिन्, 'सबै खेलाडीको शैली एकदमै राम्रो छ। टिमको स्तरमा पनि धेरै भिन्नता छैन।'
आफ्नो प्रदर्शनमा सन्तुष्ट हुन नसकेकी रूथलाई नेपाल एपिएफ क्लब मनपर्छ। एपिएफको छोटो र छिटो पास दिने शैलीले उनलाई लोभ्याएको छ। अन्य टिमभन्दा एपिएफका खेलाडी बढी चतुर भएको उनको भनाइ छ।
अहिलेसम्म मैदान र होटल गरिरहेकी रूथलाई लिग सकिएपछि घुम्न जान पनि मन छ।
'नेपालबारे धेरै कुरा थाहा छैन। लिग सकियोस्। मिल्यो भने घुम्न चाहन्छु,' उनले भनिन्।
(सबै तस्बिर: एन्फा)