अद्भूत प्रतिभाका धनी डिएगो अर्मान्डो म्याराडोनाले आफ्नो दुर्लभ प्रतिभाका कारण सन् १९८० दशकमा विश्व फुटबलमा राज गरेका थिए।
आफ्नो ‘फुटवर्क’ मार्फत् विपक्षीलाई फनफनी नचाउने म्याराडोनाको प्रभावशाली प्रदर्शनमा अर्जेन्टिनाले १९८६ को विश्वकप उपाधि जितेको थियो।
उनी आफ्नो खेलले मन्त्रमुग्ध बनाएर जति विश्वचर्चित बने, त्यति नै लागुऔषध प्रयोगले विवादित। कोकिनको लतकै कारण उनले २१ वर्षको आफ्नो चहकिलो फुटबलर करिअर सुखद् ढंगले बिदाइ गर्न पाएनन्।
बुधबार हृदयघातले संसारबाट विदा भएका म्याराडोना ६० वर्षका थिए। सन् १९६० मा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सको गरिब परिवारमा उनको जन्म भएको थियो।
झुपडीमा बाल्यकाल बिताएका म्याराडोनाले १९७७ मा १६ वर्षको उमेरमै राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
युवावस्थामै सुपरस्टार बनेका उनलाई कतिपयले ब्राजिलका महान् फुटबलर पेलेसँग दाँज्न थाले। त्यति बेलाको एक सर्वेक्षणमा उनले पेलेलाई समेत पछि पारेका थिए। तर उक्त सर्वेक्षण विवादित बनेको थियो। फिफाले भोटिङको नियम नै परिवर्तन गर्दै दुवै खेलाडीलाई शताब्दीका महान् फुटबलरबाट सम्मान गरेको थियो।
पाँच फिट पाँच इन्च उचाइका भए पनि आफ्नो बलिष्ठ ज्यानका कारण उनी विपक्षी खेलाडीलाई हायलकायल पार्ने क्षमता राख्थे। उनी तीव्र गतिमा बल कुदाएर मैदानको चारै भागमा पुग्थे। बललाई धेरै बेरसम्म आफ्नो काबुमा राख्ने र ड्रिब्लिङ गर्न सक्ने उनमा गुण थियो।
उनले अर्जेन्टिनाका लागि ९१ खेल खेल्दै ३४ गोल गर्न सफल भए। राष्ट्रिय टिमबाट खेल्दा उनको करिअरमा निकै उतारचढाव आयो।
सन् १९८६ मा मेक्सिकोमा आयोजित विश्वकप फुटबलमा म्याराडोनाले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई फाइनलमा पुर्याए। फाइनलमा तत्कालीन पश्चिम जर्मनीलाई ३–२ गोलले हराएर अर्जेन्टिनाले दोस्रोपटक विश्वकपको उपाधि जित्यो।
त्यसअघि क्वार्टरफाइनलमा म्याराडोनाले गरेको प्रदर्शनको सधैं चर्चा हुन्छ। इंग्ल्यान्डविरुद्ध क्वार्टरफाइनलको खेल तनावपूर्ण बनेको थियो। किनकि, त्यसको चार वर्षअघि अर्जेन्टिना र इंग्ल्यान्डबीच फोकल्यान्डको युद्ध भएको थियो।
२३ जुन १९८६ मा भएको उक्त खेलको ५१ मिनेटसम्म दुवै टिमले गोल गर्न सकेका थिएनन्। ५१ मिनेटमा म्याराडोनाले इंग्ल्यान्डका गोलकिपर पिटर सेल्टनको अगाडि उफ्रँदै हातले बललाई गोलपोस्टको दिशा दिएका थिए। हातको प्रयोग गरेका कारण उक्त गोल विवादित बन्यो।
फुटबलमा हातको प्रयोग गर्न नपाइने नियमका कारण म्याराडोनालाई कम्तिमा पहेँलो कार्ड देखाइनुपर्थ्यो। त्यति बेला अहिलेजस्तो भिडियो रिप्ले हेर्ने सुविधा थिएन। रेफ्रीले म्याराडोनाले हातले गरेको उक्त गोल राम्रोसँग देखेका थिएनन्। त्यसैले उक्त गोलले मान्यता पायो।
खेलपछि म्याराडोनाले उक्त गोलको विषयमा भनेका थिए, 'यसमा थोरै मेरो र थोरै भगवानको हात थियो।'
फुटबल इतिहासमा यो घटनालाई 'ह्यान्ड अफ गड' को नामले चिनिन्छ।
विवादित गोल गरेको चार मिनेटपछि म्याराडोनाले अनौठो किसिमले अर्को गोल गरेका थिए, जसलाई पछि 'गोल अफ दि सेन्चुरी' घोषणा गरियो। उनले इंग्ल्यान्डका पाँच खेलाडी तथा अन्तिममा गोलकिपर शिल्टनलाई छक्काएर सुन्दर गोल गर्न सफल भएका थिए।
खेलपछि म्याराडोनाले भनेका थिए, 'यो खेल जितभन्दा ठूलो थियो। खेलको मुख्य लक्ष्य इंग्ल्यान्डलाई विश्वकपबाट बाहिर पठाउनु थियो।'
म्याराडोनाले व्यावसायिक खेल जीवनमा स्पेनिस क्लब बार्सिलोना तथा इटालियन क्लब नापोलीमा आफ्नो जादू देखाए।
सन् १९८२ मा उनी कीर्तिमानी ३० लाख पाउन्डमा बार्सिलोनामा आबद्ध भएका थिए। दुई सिजन बार्सिलोनामा खेल्दा उनले ३६ खेलमा २२ गोल गरे।
दुई वर्षपछि उनी ५० लाख पाउन्डमा इटालियन क्लब नेपोलीमा आबद्ध भए। इटालीमा ७ वर्ष बिताएका उनले निकै प्रशंसक बटुलेका थिए भने उनको चर्चा युरोपभर चुलिएको थियो।
इटालीमा रहँदा उनमा लागुपदार्थ कोकिनको लत बस्यो। त्यति बेला उनको नाम इटालीका कुख्यात माफिया संगठन क्यामोरासँग जोडिएको थियो।
सन् १९९१ मा म्याराडोनाको डोपिङ परीक्षण गर्दा उनले प्रतिबन्धित लागुपदार्थ सेवन गरेको खुलेको थियो। यसले उनलाई १५ महिना प्रतिबन्ध लगाइएको थियो।
त्यसपछि मैदानमा फर्किएका म्याराडोनाका लागि सन् १९९४ को विश्वकप झनै दुखद् बन्यो। शक्तिवर्द्धक लागुऔषध प्रयोग गरेका कारण उनलाई विश्वकप खेल्न प्रतिबन्ध लगाइयो।
सन् १९९७ मा तेस्रोपटक प्रतिबन्धित पदार्थ सेवन गरेको पुष्टि भएपछि म्याराडोनाले ३७ औं जन्मदिनपछि खेल जीवनबाट संन्यास लिए।
बार्सिलोना र नेपोलीमा उचाइ
इटालीको नेपोली क्लबलाई ‘बी’ डिभिजनबाट ‘ए’ मा प्रवेश गराउँदै ९० को दशकमा दुईवटा लिग उपाधि र युइएएफ कपको उपाधि दिलाउन उनले महत्वपूर्ण योगदान दिएका थिए। नेपोली क्लबलाई विश्वमा चिनाउन म्याराडोनाको योगदान ठूलो मानिन्छ।
उनी सन् १९८२ मा बार्सिलोनामा अनुबन्धित भएपछि पहिलोपल्ट ‘अल क्लासिको’ भीडन्तका लागि म्याड्रिड आएका थिए।
त्यति बेला बार्सिलोनाले २–० ले जितेको खेलमा दुवै गोलको मौका उनले नै जुराएका थिए। उनकै पासमा इस्टेबान र क्युनीले गोल हानेका थिए।
उनको सबभन्दा यादगार खेल त्यसै वर्ष कोपा डे ला लिगाको थियो। जुन खेलमा उनले दुई गोल गरेका थिए। मैदानको बीचबाट ‘ड्रिबल’ गर्दे ल्याएको बल म्याड्रिडका गोलरक्षक अगस्टिन र डिफेन्डर हुँवा जोसेलाई छलाएर खाली पोस्टमा गरिएको गोल चर्चित भएको थियो।
यो खेल २–२ को बराबरीमा रोकिएको थियो। तर, कहिल्यै विपक्षी टोलीको प्रशंसा नगर्ने म्याड्रिडका समर्थकले यो खेलका लागि म्याराडोनाको खुब तारिफ गरेका थिए। त्यस्तै समर्थन रोनाल्डिन्होले म्याड्रिडविरूद्ध ह्याट्रिक गर्दा २००५ मा बेर्नाबेउमा पाएका थिए।
सन् १९८४ को कोपा डेल रेको एउटा खेल निकै विवादास्पद बनेको थियो। त्यति बेला तत्कालीन लिग च्याम्पियन एट्लेटिको बिलबाओसँग सान्टियागोमा खेल भएको थियो। बिलबाओका डिफेन्डर आन्डोनी गोइकोइटेक्सियाको खराब ‘ट्याकल’ का कारण म्याराडोनाको खुट्टा भाँचियो। म्याराडोना चार महिना मैदानबाट बाहिर रहे। यसका लागि आन्डोनीलाई १८ खेलमा प्रतिबन्ध लगाइएको थियो।
अपिलपछि प्रतिबन्ध घटाएर १० खेलमा सीमित राखियो। यही खेलमा बिलबाओका प्रशिक्षक जाभियर क्लेमेन्टेले म्याराडोनालाई ‘दुर्बल’ खेलाडीको संज्ञा दिएका थिए। उनले भनेका थिए– ‘महान खेलाडी, तर दुर्बल।'
यो खेल बिलबाओले आन्डोनीकै गोलका कारण १–० ले जित्यो। तर, त्यसपछि मैदानमा जुन घटना भयो, त्यसलाई अहिले पनि ‘बेर्नाबेउको लडाइँ’ का रूपमा अर्थ्याउने गरिन्छ।
खेल सकिएपछि बार्सिलोनका कप्तान मिगुल एन्जेल सोलाले कराते शैलीमा उडेर बिलबाओका खेलाडीलाई हिर्काएका थिए। यो घटनापछि मिगुलको नाम पनि टार्जनमा रूपान्तरण भएको थियो।
बेर्नाबेउ मैदान लडाइँमा परिणत भएपछि म्याराडोनाले खेलाडीहरूको बचाउमा भनेका थिए, ‘उनीहरू सबै मेरो लागि आएका थिए। अब जे हुनु थियो, भयो।’
नेपोलीमा आबद्ध हुँदा म्याराडोनाले १९८७ मा बेर्नाबेउको खाली रंगशालामा म्याड्रिडविरूद्ध खेलेका थिए। त्यति बेला दर्शकको खराब व्यवहारका कारण युरोपेली फुटबल महासंघले बेर्नाबेउको खाली रंगशालामा खेल खेलाउने आदेश दिएको थियो।
खेल जीवनपछि पनि विवादमा
खेल जीवनबाट संन्यास लिए पनि उनी विवादमा परिरहे। एकपटक उनले पत्रकारलाई गोली चलाए। जसका कारण उनलाई १० महिना जेल सजाय सुनाइएको थियो।
कोकिन र रक्सीको लत बढ्दै गएपछि उनको वजन १२८ किलोसम्म पुग्यो। सन् २००४ मा मुटुको समस्याले उनलाई आइसियूमा राख्नुपरेको थियो।
विवादित छविका बावजुद उनी सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बने। उनको प्रशिक्षणमा अर्जेन्टिनाले सन् २०१० को विश्वकप खेल्यो। तर अर्जेन्टिनाको यात्रा क्वार्टरफाइनलमै रोकियो।
त्यसपछि म्याराडोना कतार र साउदी अरेबियाका क्लबको प्रशिक्षक बने। पछिल्लो समय उनी अर्जेन्टाइन क्लबको प्रशिक्षकको भूमिकामा थिए। (एजेन्सीहरूको सहयोगमा)