नेपाली राष्ट्रिय फुटबल टिमले पछिल्लो अन्तर्राष्ट्रिय खेल खेलेको आगामी १९ नोभेम्बरमा एक वर्ष पूरा हुँदैछ।
फिफा विश्वकप २०२२ अन्तर्गत दोस्रो चरणको चरणमा नेपालले गत नोभेम्बर १९ मा कुवेतविरुद्ध भुटानको चाङ्लीमिथाङ रंगशालामा प्रतिस्पर्धा गरेको थियो। सो खेलमा नेपाल १–० गोलले पराजित भएको थियो।
त्यसपछि नेपालले घरेलु मैदानमा दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा स्वर्ण जित्यो। स्वर्ण हात पारेको नेपाली टिम यु-२३ हो।
सागपछि नेपालले घरेलु मैदानमै विश्वकप छनोटका तीन वटा खेल खेल्ने तालिका थियो। नेपालले चैतमा चाइनिज ताइपेई र अस्ट्रेलिया तथा जेठमा जोर्डनसँग खेल्ने कार्यक्रम थियो।
तर कोरोना भाइरसका कारण तीन वटै खेल रद्द भए। कोरोनाका कारण गत चैतदेखि फुटबल लगायत सम्पूर्ण खेलकुद गतिविधि ठप्प भए।
६ महिनापछि गत भदौमा खेलकुद प्रशिक्षण सुरु गर्न खोजिए पनि कोरोनाको संक्रमण ह्वात्तै बढ्दा सम्भव हुन सकेन।
सबै अन्तर्राष्ट्रिय प्रतियोगिता ठप्प रहेको बेला नेपाली फुटबल खेलाडीले अहिले प्रशिक्षणमा फर्किएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३४ खेलाडीलाई बोलाएर अभ्यास गराइरहेको छ।
नेपाल र बंगलादेशबीच ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा आगामी नोभेम्बर १३ र १७ (कात्तिक २८ र मंसिर २) मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ।
एक वर्षपछि मैदान उत्रिदा नेपाली टिमको प्रशिक्षण बालगोपाल महर्जनले सम्हाल्नेछन्। महर्जनको नेतृत्वमा नेपालले सागको स्वर्ण जितेको थियो।
राष्ट्रिय टिमका नियमित प्रशिक्षक योहान कालिन प्राविधिक कारणले स्विडेनबाट नेपाल फर्कन नसकेपछि महर्जनले जिम्मेवारी पाएका हुन्।
लामो समयपछि राष्ट्रिय टिमलाई मैदानमा उतार्दा प्रशिक्षक महर्जनमाथि चुनौतीको चाङ छन्।
प्रारम्भिक टिममा बोलाइएका ३४ मध्ये ५ खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने केहि महत्वपूर्ण खेलाडी घाइते छन्। ८ महिनापछि भएको अभ्यास पनि पर्याप्त छैन।
'आठ महिनापछि खेलाडीहरू अभ्यासमा फर्किएका छन्। मैत्रीपूर्ण खेलअघि अलि छोटो अभ्यास हुने भयो, त्यसैले हामीलाई गाह्रो हुन्छ,' प्रशिक्षक महर्जन सेतोपाटीसँग भने,'अझ राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडीमा कोरोना संक्रमण देखिएको छ। उनीहरूको स्थानमा अन्य खेलाडी भित्र्याउन समय लाग्ने भएकाले त्यो पनि सम्भाव भएन।'
अनुभवी खेलाडी रोहित चन्दसहित पाँच खेलाडी घाइते हुँदा टिम व्यवस्थान गर्न समस्या परिरहेको महर्जनले बताए।
जति समस्या भएपछि फुटबल फर्कनु सुखीको कुरा हो। नेपाली टिमले बंगलादेशविरुद्धको खेलमा जित निकालेर थप खुसी देलान्?
'बंगलादेश पनि हाम्रै स्तरको टिम हो। हामीले उनीहरूसँगको मैदानमा खेलेका छौं। जेजस्तो परिस्थिति भए पनि हामी बंगलादेशविरुद्ध चुनौती पेश गर्न तयार छौं,' महर्जनले भने।
अवस्था सामान्य रहे नेपाली टिम आगामी बिहीबार ढाका प्रस्थान गर्नेछ। त्यहाँ गएर नेपाली टिमको कोरोनाको पिसिआर टेस्ट हुनेछ भने नेपाली टिम पाँच दिन क्वारेन्टिनमा बस्नेछ। क्वारेन्टिनको अविधिमा पनि नेपाली टिमले अभ्यास गर्ने पाउनेछ।
नेपाल र बंगलादेशबीच पछिल्लो पटक २०१८ को साफ च्याम्पिनयसिपमा प्रतिस्पर्धा भएको थियो। सो खेलमा नेपालले बंगलादेशलाई उसैको मैदानमा २-० गोलले पराजित गरेको थियो।
समग्रमा नेपाल र बंगलादेशबीच १९ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपालले ६ खेलमा विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ। १२ खेलमा भने नेपालमाथि बंगलादेशले जित हात पारेको छ।
समग्र अन्तर्राष्ट्रिय खेलमा नेपाल पछिल्ला चार खेलमा पराजित भएको छ। चार खेलमा नेपालले १२ गोल खाएको छ भने कुनै पनि गोल गर्न सकेको छैन।
नेपालका पछिल्ला ६ अन्तर्राष्ट्रिय खेल
नेपाल भर्सेस कुवेत : १-० गोलले पराजित (विश्वकप छनोट)
नेपाल भर्सेस म्यानमार : ३-० गोलले पराजित (अन्तर्राष्ट्रिय मैत्रीपूर्ण)
नेपाल भर्सेस जोर्डन : ३-० गोलले पराजित (विश्वकप छनोट)
नेपाल भर्सेस अस्ट्रेलिया : ५-० गोलले पराजित (विश्वकप छनोट)
नेपाल भर्सेस चाइनिज ताइपेई : २-० गोलले विजयी (विश्वकप छनोट)
नेपाल भर्सेस कुवेत : ७-० गोलले पराजित (विश्वकप छनोट)