दुई वर्षअघि नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राजकुमार कुमाल प्रदेश-३ फुटबल टिमका मुख्य खेलाडी थिए।
राष्ट्रिय प्रतियोगितामा प्रदेशको टिममा स्थान बनाएपछि कुमालले सी डिभिजन लिग खेल्ने अवसर पाए।
ओएसिस क्लबबाट उनले मिडफिल्डमा राम्रो खेल देखाए। सन् २०१९ को सिजनमा ओएसिस दोस्रो भएको थियो। त्यसताका उनले नुवाकोट युनाइटेड क्लबबाट केहि प्रतियोगिता पनि खेले।
राष्ट्रिय फुटबलमा प्रदेश स्तरीय टिम र लिगमा सी डिभिजनपछि माथिल्लो स्तरको फुटबल खेल्ने कुमालको लक्ष्य थियो। फुटबल राजनीति र व्यावसीयकताको अभावले उनको इच्छा पूरा हुन सकेन।
प्रतिभा भए पनि पहुँच बाधक बन्यो। माथिल्लो डिभिजनको क्लब वा विभागीय टिममा उनले स्थान पाउन सकेनन्।
नुवाकोट बट्टारका स्थायी बासिन्दा कुमालसामू परिवार पाल्नका लागि वैदेशीक रोजगारीको जानुको विकल्प थिएन।
उनी तीन महिनाअघि मलेसिया पुगे र सेक्युरिटी गार्डको काम थाले।
कोरोना महामारीकै बीच मलेसिया पुगेका कुमालको फुटबल मोह ड्युटीमा पनि घटेको छैन। उनी ड्युटीमै बल लिएर पुग्ने गरेका छन्।
'सानैदेखि फुटबलको नासा लाएको थियो। त्यहिँ भएर ड्युटीमा पनि बल लिएर जाने गरेको छु,' कुमालले मलेसियाबाट भने,'खाली समय फ्रिस्टायल गरेर बस्छु।'
१२ घन्टाको ड्युटी भए पनि कोरोना भाइरसका कारण अहिले कामको चाप छैन। 'काम कम भएपनि फुटबल खेलाएर बस्ने गरेको छु, त्यसैले दिन कटाउन गाह्रो छैन,' उनले भने।
केहि दिनअघि उनले 'ट्वाइलेट पेपर' लाई खुट्टाले खेलाउँदै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
चितवनका उनका एक जना साथीले सुरुमा पोस्ट गरेको भिडिओ गोल नेपाल डटकमले पनि पोस्ट गरेको थियो।
गोलनेपालले लेखेको थियो, 'केहि वर्ष अघिसम्म सी डिभिजन लिग खेल्दै थिए। नेपालमा पदमा बस्ने र केही राष्ट्रिय खेलाडीबाहेक अरुको भविष्य त्यति राम्रो नहुने देखे पछि उहि त हो, आफ्नै सबैको प्यारो गन्तब्य मलेसिया आइपुगे। अहिले कोरोना समयमा काम गर्दै, फुटबल सँगै (अहिले ट्वाइलेट पेपर च्यालेञ्ज) दिन बिताउँदैछु। - राजकुमार कुमाल, मलेसिया।'
कुमाल मलेसिया जानु आफ्नो बाध्यता भएको बताउँछन्। 'हामी जस्ता फुटबलरका लागि नेपालमा कुनै भविष्य छैन। त्यसैले परिवार पाल्नका लागि विदेश पलायन हुनु मेरो बाध्यता हो,' उनले भने।
उनी मलेसिया पहिलो पटक पुगेका भने होइन। २०७१ सालमा फुटबल करिअर त्याग्दै उनी मलेसिया पुगेका थिए। मेलसिया पुगेको केहि महिनामै नेपालमा भूकम्प गयो। त्यहाँ पुगेको केहि सयम मात्र भएकाले घर फर्कन पाएनन्।
'पाँच वर्षअघि मलेसिया आउने बित्तिकै भूकम्प गयो, अहिले देशमा लकडाउन छ, कहिलेकाहिँ त मेरो लक नै यस्तो हो कि जस्तो लाग्छ,' उनले भने।
तीन वर्ष मलेसिया बसेर फर्केका उनले फुटबलमा फेरि भविष्य खोजेका थिए। तर आठौं राष्ट्रिय खेलकुद र सी डिभिजनमै सीमित हुनु पर्यो।
उनी एन्फाको यु-१६ छनोटमा पनि अन्तिम समयमा फालिएका खेलाडी हुन्। 'एन्फाको यु-१६ को छनोटमा सबैले राम्रो भनेका थिए। मेरो प्रतिभा देखेर प्रशिक्षकहरू पनि खुसी हुनु भएको थियो। बोलाउने भन्दै फोन नम्बर लिएर जानु भएको थियो,' कुमाल भन्छन्,'तर पछि किन हो कुन्नी बोलाउनु भएन।'
बाल्यकालदेखि नै राष्ट्रिय जर्सीमा खेल्ने सपना बुनेका कुमालले अझै हिम्मत हारिसकेका छैनन्। अवसर पाएको अवस्थामा विदेशमा हुने गरेको प्रवाशी फुटबल प्रतियोगितामा नेपाली टिमबाट खेल्नका लागि मिहिनेत गरिरहेका छन्।