नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व मिडफिल्डर रञ्जित श्रेष्ठले गत वैशाख २९ गते आफूलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरे। कोरोना लागेको सार्वजनिक गर्दा उनी चौथो दिनको 'सेल्फ आइसोलेसन' मा थिए।
दुबईमा कार्यरत रञ्जित कोरोना लागेको तीन दिनसम्म निकै आत्तिएका थिए। सुरूमा कसैलाई भन्ने आँट गरेनन्। अमेरिकामा रहेका एक जना साथीलाई मात्र आफू संक्रमित भएको बताए।
'साथीसँग कुरा भएपछि मन हलुका भयो,' रञ्जितले भने। चौथो दिन सामाजिक सञ्जालमार्फत आफू कोरोनाको संक्रमित भएको सार्वजनिक गर्न उनलाई साथीकै सल्लाहले आँट भरेको थियो।
'कोरोनाले सबै डराइरहेका बेला सचेतना फैलाउन मैले भिडिओ बनाएर पोस्ट गरेँ,' उनले भने।
भिडिओमा उनले कोरोना लाग्दैमा आत्तिन नपर्ने र सकारात्मक सोच बनाउनुपर्ने लगायत सन्देश दिएका थिए। भिडिओ पोस्ट गरेपछि रञ्जितलाई शुभकामनाको ओइरो लाग्न थाल्यो। घर-परिवार मात्र होइन, फुटबलप्रेमीले पनि उनलाई ढाडस दिँदै निरन्तर सन्देश पठाइरहे।
'यति धेरै सन्देश आउँछन् भनेर सोचेको पनि थिइनँ,' रञ्जित भावुक भए, 'मलाई यति धेरै माया गर्छन् भन्ने पहिलो पटक महशुस भयो।'
देशका लागि खेलेकाले आफ्नो स्वास्थ्यको विषयमा धेरै मानिसले चासो दिएको रञ्जितले महशुस गरे।
'पहिलो पटक मैले पनि देशका लागि केही गरेको रहेछु भन्ने लाग्यो,' उनले भने, 'अनि देशका लागि खेलेका खेल दिमागमा घुम्न थाले।'
झापाका स्थायी बासिन्दा रञ्जित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका दोस्रो ब्याचका खेलाडी हुन्। नेपाली फुटबलमा एन्फाको दोस्रो ब्याचका खेलाडीले लामो समय राज गरे।
उनको ब्याचमा किरण चेमजोङ, विराज महर्जन, भरत खवास, चेतन घिमिरे, सन्दीप राई, विकाससिंह क्षत्री लगायत खेलाडी थिए। दोस्रो ब्याचका खेलाडीहरूले सुरूमा संकटाबाट खेलेका थिए। एन्फाले संकटालाई पहिलो सिजनका लागि १० लाखमा खेलाडी उपलब्ध गराएको थियो। पहिलो सिजन संकटाबाट खेलेपछि उनी एनआरटीमा आबद्ध भए।
लिगमा राम्रो खेलेपछि उनी राष्ट्रिय टिममा पर्न सफल भए। सन् २००८ मा उनले अफगानिस्तानविरुद्ध राष्ट्रिय टिममा 'डेब्यू' गरे। सो खेल नेपालले ४-० गोलले जितेको थियो। राष्ट्रिय टिमबाट मर्डेका कप, साफ च्याम्पियनसिप, साग गेम्स (२०१०) र विश्वकप छनोट खेले।
राष्ट्रिय टिम र घरेलु फुटबलमा जमिरहँदा उनी सन्तुष्ट भने हुन सकेनन्।
'समयमै लिग हुँदैन थियो। खेलेरै जीवन धान्न कठिन भइरहेको थियो,' रञ्जितमा नेपाली फुटबलर हुनुको पीडा बल्झिरहेको थियो।
सन् २०१० मा नेपाली फुटबलको ठूलो क्लब थ्रीस्टारमा आबद्ध थिए। तर पनि उनको मन स्थिर थिएन। कोरियामा रोजगारीका लागि जान भाषा परीक्षा (इपिएस) पास गर्नु पर्ने व्यवस्था लागू भएको यहीताका हो। उनी थ्रीस्टारको अभ्यासभन्दा कोरियन भाषा रट्न केन्द्रित भए। राष्ट्रिय टिम अनि क्लब करिअर त्यागेर उनी सन् २०१० को अन्त्यमा कोरिया भासिए।
सानैदेखि सिकेको फुटबल कोरिया जाँदैमा छाड्न कहाँ सक्थे र। त्यहीँका स्थानीय क्लबमा खेल्न थाले। क्लबले उनको खेल मन परायो। व्यावसायिक सम्झौताका लागि हात फैलायो। तर यो अवसरमा समस्या आयो।
'कामदारको भिसामा गएर त्यहाँको क्लबमा आबद्ध हुन नपाइने रहेछ। भिसा परिवर्तन गर्न मुश्किल पर्यो,' उनले भने, 'कोरियामा व्यवसायिक खेल्ने सपना पूरा हुन सकेन। त्यसैले मैत्रीपूर्ण खेलमा मात्र सहभागी भएर तलतल मेटाएँ।'
झन्डै तीन वर्ष कोरिया बसेपछि उनी नेपाल फर्किए। घरेलु फुटबलमा पुनरागमन गरे। फ्रेण्ड्स क्लबसँग सम्झौता गरे। अर्को दुर्भाग्य उनको घुँडामा समस्या देखियो।
खेल्ने सपनामा तुवाँलो लागे पनि उनले हरेश खाएनन्। खुट्टामा समस्या देखिएपछि खाली नबसी होटल म्याजमेन्टको ६ महिना कोर्ष गरे। त्यो सकेर इन्टर्नसिपका लागि दुबई पुगे। केही समय दुबईमा काम गरेर नेपालै फर्किए।
त्यति बेला झापा-११ टिम नेपाली फुटबलमा जम्दै थियो। प्रवेश कटवाल, कर्ण लिम्बू, योगेश गुरुङ जस्ता खेलाडीको साथ पाएकाले झापाले बलिया क्लबलाई हराउँथ्यो।
घरेलु फुटबलमा बलियो बन्दै गरेको झापाले रञ्जितलाई पनि टिममा आबद्ध गर्यो। त्यसपछि झापाले पूर्वका गोल्डकप फुटबल प्रतियोगितामा तहल्का मच्चायो। आबद्ध खेलाडीले राम्रो तलब पाए।
'पूर्वका गोल्डकपसहित भारतका विभिन्न प्रतियोगिताका लागि खेल्थ्यौं,' रञ्जित सम्झन्छन्, 'महिनामा ९० हजारसम्म कमाइ हुन्थ्यो।'
झापा-११ स्थायी क्लब हुन सकेन। राष्ट्रिय लिग खेलेपछि ए डिभिजनको मान्यताका लागि लामो प्रक्रिया पार गर्नु आवश्यक थियो। रञ्जित फुटबलको विकल्प खोजिरहेका हुन्थे। त्यसैले उनले श्रीमतीसँग अमेरिका जाने योजना बनाए। सोचेजस्तो कहाँ हुन्छ र! श्रीमतीको भिसा लाग्यो उनको लागेन।
श्रीमतीलाई अमेरिका पठाएर उनी सन् २०१७ अन्त्यमा फेरि दुबई भासिए।
मानिसहरू रञ्जितले फुटबल छाडेर जिन्दगी राम्रो पाइरहेको पनि छन्। तर रञ्जित यो स्वीकार्दैनन्।
'सानैदेखि फुटबल खेलेँ। नेपालकै उत्कृष्ट एकेडेमीमा फुटबल सिक्ने मौका पाएँ। एउटा नाम कमाएँ। १० वर्ष खेलेँ,' उनले पीडा पोखे, 'बाहिरबाट देख्दा राम्रो भएको देखिन्छ। तर भित्र मनमा परेको चोट कसले पो बुझ्ला र!'
त्यो पीडा अहिले उनमा थोरै भए पनि कम भएको छ। किनभने उनले राष्ट्रिय जर्सीमा देशका लागि खेलेको खेलको सम्मान अहिले पाएका छन्।
'कोरोनाबाट संक्रमित भएपछि देशका लागि खेल्ने पुरानो खेलाडी भनेर देशभरबाट सन्देश आउँदा धेरै खुसी लागेको छ,' उनले भने।
उनी दुबई एयरपोर्टस्थित फेडेक्स कम्पनीमा कार्यरत छन्। एयरपोर्टमा अन्तर्राष्ट्रिय आवागमन बढी हुने भएकाले कोरोना संक्रमण जोखिम हुनेमा रञ्जित सुरूदेखि नै सचेत थिए।
'हामी निकै नै सचेत भएर काम गरिरहेका थियौं। अझ दुबई अन्तर्राष्ट्रिय हब भएकाले जोखिम उच्च थियो,' उनले भने।
विश्वभर कोरोना संक्रमण बढिरहँदा सुरूआती महिना उनी सुरक्षित रहन सफल भए। तर वैशाख अन्तिम साता संक्रमण भइहाल्यो। सुरूमा उनीसँगै काम गर्ने एक जनालाई पनि कोरोना देखियो। तुरून्त अरू कर्मचारीको जाँच गर्दा धेरै जनामा संक्रमण भइसकेको थियो।
'पोजेटिभ भएको सन्देश मोबाइलमा आउँदा निकै तर्सिएँ,' उनले भने, 'त्यसपछि पिपिई लगाएका मानिस आएर आइसोलेसनका लागि लैजाँदा डर बढ्दै गएको थियो।'
लक्षण नदेखिए पनि बाहिरी वातावरणले डर बढाएको रञ्जितले महशुस गरे। आइसोलेसन स्थान पुगेपछि मात्र उनले आरामको सास फेरेका थिए। उनलाई सुविधासम्पन्न होटलमा राखिएको थियो। बेला-बेला खानेकुरा दिइन्थ्यो। नर्सहरूले स्वास्थ्यको अपडेट निरन्तर लिइरहन्थे।
रञ्जितलाई आइसोलेसनमा राखिएलगत्तै गरिएको कोरोना परीक्षण पोजेटिभ आएको थियो। त्यसपछि दोस्रो परीक्षण पनि पोजेटिभ नै आयो। आइसोलेसनमा राखिएको पहिलो रातमा उनले छातीमा समस्या भएको महशुस गरे। दोस्रो दिनदेखि हलुका खोकी लाग्यो। यो बेला उनले आफ्नो स्वास्थ्य कति महत्वपूर्ण छ भन्ने थाहा पाए। निरन्तर तातो पानी खाए। बाफ लिए। कोठामा हलुका जगिङ गरे।
सबभन्दा बढी उनले आफ्नो आत्मबल मजबुत पारे। चौथो दिन आफू संक्रमित भएको सार्वजनिक गरेपछि आएका सन्देशले त उनी झन् बलियो हुँदै गए।
आइसोलेसनमा बसेपछिको तेस्रो परीक्षण भने नेगेटिभ आयो। यसपछि उनले अर्को भिडिओ बनाएर पोस्ट गरे।
'यो समयमा कसरी खाना खाने भन्ने कुरा सिकेँ। डाइटिङ गरेँ। नेपालमा खाने जस्तै दाल, भात, तरकारी र तातोपानी खाएँ। खानामा गरम मसला प्रयोग गरेँ। बाफ ज्यादा लिएँ। मलाई कोभिडले समय तालिका नै बनायो। १२ दिन अनुशासनमा हिडेँ। यसले परिवर्तन ल्यायो,' उनले भने।
तीन दिनपछि चौथो परीक्षण पनि नेगेटिभ आएपछि उनी कोरोनामुक्त भए।
'अहिले कोरोना भनेको सामान्य जस्तो लागिरहेको छ,' उनले भने, 'धेरै डराउनु पर्ने कारण देख्दिनँ। सचेत भने हुनुपर्छ।'
कोरोनामुक्त भएपछि उनले दुई दिन आराम गरे। बिहीबारदेखि पहिलेकै काममा फर्किएका छन्। पहिले र अहिलेको काम गराइमा कुनै भिन्नता छैन। सोच भने बदलिएको छ- सकारात्मक सोच राखेर स्वास्थ्यमा ध्यान दिए कोरोना संक्रमण भएपछि लाग्ने कोभिड-१९ रोग ठूलो होइन।