अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई निलम्बन गरेकोमा एन्फाकै वरिष्ठ उपाध्यक्षले आपत्ति प्रकट गरेका छन्।
वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले एन्फाले विधिसम्मत तरिकाले निर्णय नगरेको भन्दै आपत्ति जनाएका हुन्।
'अवैधानिक तरिकाले निलम्बन गर्ने काम बदनीयपूर्वक र खेदजनक छ,' नेम्बाङले भने।
उनले कार्यसमिति बैठक नबसी निलम्बन गर्ने अधिकार कसैलाई नभएको पनि बताए। 'कार्यसमिति बैठक नबसी निलम्बन गर्ने निर्णय कताबाट भयो छक्क परेको छु,' नेम्बाङले भने,'यस्ता निर्णय हुनु संस्थाका लागि पक्कै पनि राम्रो होइन।'
निलम्बन गर्नुअघि आफूलाई अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरले फोन गरेको नेम्बाङको भनाइ छ। तर आफूले जिल्लाका साथीहरूलाई सचेत गराउनु उचित हुने बताएको नेम्बाङले बताए। कारबाही गर्ने भए पनि कार्यसमिति बोलाएर मात्र गर्न सकिने नेम्बाङले सुझाव दिएका थिए।
साथै एन्फा विधानको धारा ३६ का आधारमा कारबाही गर्नु विधानसम्मत नहुने विषयमा पनि दुवैलाई जानकारी दिएको नेम्बाङको भनाइ छ।
'धारा ३६ को उपधारा १४ बमोजिम निर्णय गर्ने अधिकार अध्यक्ष र महासचिव दुवैलाई छैन। यो अधिकार कार्यसमितिलाई मात्र छ,' उनले भने।
एन्फाले ललितपुर जिल्ला अध्यक्ष थापालाई जेठ ५ गते एन्फाको विधान विपरितका गतिविधि गरेको भन्दै आगामी साधारणसम्मका लागि निलम्बन गरेको थियो।
नेम्बाङले महासचिवले हस्ताक्षर गरेको निलम्बन पत्रमा समेत प्रश्न उठाए। 'एन्फाको विधानअनुसार महासचिवको काम एन्फाको निर्णय कार्यान्वयन गराउने उल्लेख छ। तर पत्रमा भने महासचिवले नै निलम्बन गरेको जस्तो देखिन्छ,' उनले भने।
निलम्बनमा परेका अध्यक्ष थापाले गत वैशाख २२ मा एन्फा दिवसको दिन भाइबर ग्रुपमा आक्रोशित जवाफ दिएका थिए।
वरिष्ठ उपाध्यक्ष नेम्बाङले ए, बी र सी डिभिजन क्लबहरुको भाइबर ग्रुपमा एन्फा दिवसको शुभकामना दिएकोमा उनले असन्तुष्टि जनाउँदै 'आज एन्फा दिवस होइन। चोरहरूको श्री गणेश डे हो।' भनेका थिए।
नेम्बाङ स्वयम् थापाको जवाफलाई सामान्य मान्छन्।
'एउटा सिमित मानिसहरुको समूहमा उनले दिएको जवाफलाई मैले सामान्य रुपमा लिएको थिएँ,' नेम्बाङको भनाइ छ,'वैशाख २२ लाई एन्फा डे मान्दा उनी दु:खी भएको हुनुपर्छ। किनभने त्यो दिन हामीले चुनाव जितेका थियौ भने उनीहरूले चुनाव हारेका थिए।'
थापाको जवाफपछि एन्फाले उनलाई स्पष्टिकरण सोधेको थियो। लगत्तै थापाले माफी मागेर स्पष्टिकरण पेश गरेका थिए।
'माफी मागेर समयमै स्पष्टिकरण पठाएपछि एन्फाले सचेत गराएर कुरालाई टुंग्याउनु पर्थ्यो। एन्फाले निलम्बन गरेर बढाउनु हुन्न भन्ने मेरो मत हो,' नेम्बाङले भने।
शेर्पा एन्फाको नेतृत्वमा आएदेखि नै थापासहितका चार जिल्ला अध्यक्षले एन्फामा अनियमितता भएको आरोप लगाउँदै आएको छन्। त्यसपछि एन्फा नेतृत्व उनीप्रति असन्तुष्ट थियो।
फलस्वरुप एन्फा कार्यसमितिको गत माघमा बसेको बैठकले थापामाथि कारबाही अघि बढाउनका लागि एन्फा अनुशासन समिति पठाउने निर्णय गरेको थियो।
थापासँगै काठमाडौं जिल्लाका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौतम सुजाखु, धादिङका अध्यक्ष दिपक खतिवाड र मानार्थ अध्यक्ष टासी घलेलाई पनि कारबाहीका लागि अनुशासन समितिमा पठाइएको थियो। सबै जनाले एन्फामा अनियमितता भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए।