नाइट क्लब काण्डमा परेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू विमल घर्तीमतगरसहित चारै खेलाडीको सजाय घटेको छ।
अखिल नेपाल फुटबल संघ एन्फाको अनुशासन समितिले उनीहरूलाई निलम्बनसम्बन्धी निर्णय लागू हुने मिति परिवर्तन गरिदिएको हो। चारै खेलाडीले कारबाहीको अवधिबारे छुट्टाछुट्टै अपिल गरेका थिए।
एन्फाले यसअघि १३ डिसेम्बर २०१९ देखि विमल घर्तीमगर र डिफेन्डर दिनेश राजवंशीलाई तीन महिनाको निलम्बन गर्ने निर्णय गरेको थियो।
त्यस्तै मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ भने ४५ दिन निलम्बनमा परेका थिए। तर खेलाडीको अपिलपछि एन्फाले उनीहरूको निलम्बन नाइट क्लबमा गएको दिनदेखि गणना गर्ने निर्णय गरेको हो।
अब खेलाडीहरूको निलम्बन अवधि १६ नोभेम्बर २०१९ बाट गणना हुनेछ।
नयाँ निर्णयसँगै चारै खेलाडीले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग खेल्न पाउने भएका छन्।
नयाँ निर्णयपछि विमल र दिनेशले लिगका अन्तिम चार खेल खेल्न पाउने भएका छन्। अञ्जन र सन्तोषले सुरूआती चार खेल गुमाउनेछन्। उनीहरू आबद्ध क्लबहरूले दुई/दुई खेल खेलिसकेका छन्।
फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरूद्धको खेलअघि चार फुटबलर नाइट क्लबमा गएर मदिरा सेवन गरेको पाइएपछि एन्फाले तत्काल राष्ट्रिय टिमबाट हटाएको थियो।
चारै जना कुवेतविरूद्धको खेलका लागि भुटान उड्ने अघिल्लो दिन ठमेलका विभिन्न क्लबमा गएका थिए।