सन् २०११ मा विश्वकप छनोटको दोस्रो चरण खेल्न जोर्डन गएको नेपाली राष्ट्रिय फुटबल टिमले ९–० को लज्जास्पद हार बेहोरेको थियो।
एक साता पछि दशरथ रंगशालामा भएको दोस्रो लेगमा नेपालले जोर्डनलाई १-१ को बराबरीमा रोकेर फराकिलो हारको पीडा भुलाएको थियो।
त्यसयता नेपाली टिमको प्रदर्शन औसत रह्यो। सन् २०१३ मा नेपालले भारतमाथि पहिलो पटक जित पार्ने क्रममा २-१ को नतिजा निकालेको थियो।
सन् २०१६ नेपाली फुटबलका लागि उत्साहको वर्ष नै बन्यो। त्यो वर्ष नेपालले बंगलबन्धु गोल्डकप, साग फुटबल र एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो।
विगत एक वर्षदेखि भने नेपालको प्रदर्शन खस्कदै गएको छ। गत वर्ष साफ च्याम्पियनसिपमा बंगलादेशलाई पराजित गरेपछि नेपाल लगातार ९ खेलमा जितबिहीन छ। बिहीबार त नेपालले ८ वर्ष यताकै लज्जास्पद हारको सामना गर्नु पर्यो।
फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०१३ को छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले कुवेतविरुद्ध ७–० को हार बेहोर्नु परेको हो।
यो नतिजा नेपालले पछिल्लो ८ वर्षमा बेहोरेको सबैभन्दा खराब हो। २०११ मा जोर्डनसँग ९–० ले पराजित भएयता नेपालले पाँच भन्दा बढी गोल खाएको यो पहिलो पटक हो।
कुवेतविरुद्धको पहिलो खेलबाटै अप्ठ्यारोमा परेको नेपालले समूह ‘बी’ मा चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग खेल्न बाँकी नै छ। तीनै टिमसँग नेपालले पहिले अवे खेल खेल्दैछ। त्यसैले नेपालका लागि तीन वटै खेल अझ कठिन हुने देखिएको छ।
चार दिनपछि नेपालले चाइनिज ताइपेईसँग उसैको घरेलु मैदानमा खेल्नेछ। ताइपेईले आफ्नो पहिलो खेलमा बिहीबार एसियाली पावर हाउस जोर्डनविरुद्ध २-१ को हार बेहोरेको थियो।
त्यसपछि नेपालले सन् २०१५ को एसियन च्याम्पियन अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध खेल्नेछ।
कुवेतविरुद्धको हारपछि नेपाली टिमका प्रशिक्षक योहान कालिनले नेपालले खराब खेलेको स्विकार गरेका छन्। उनले पछिल्ला पाँच खेलमा नेपालको रक्षापङ्क्ति राम्रो भएको दाबी गर्दै कुवेतविरुद्ध भने ‘सिल्ली गोल’ खाएको प्रतिक्रिया दिएका छन्।
‘हामी खुसी छैनौ। यसअघि कहिल्यै यस्तो खेलेका थिएनौ। १५ मिनेटमा २ गोल खाएपछि हाम्रा डिफेन्डर उच्च दबाबमा देखिएका थिए,’ कालिनले भनेका छन्।
‘कुवेत बलियो टिम भएको हामीलाई थाहा थियो। दबाब हुने पनि अनुमान थियो। तर हामीले हात पारेको नतिजा आश्यर्चजनक छ। हामीले के भएको थियो हेर्नु पर्थ्यो र यस्तो खेल्नु हुँदैन थियो। यो साह्रै कमजोर प्रदर्शन हो। आगामी खेलमा सुधार गर्छौ।’
गत मार्चमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि कालिनको नेतृत्वमा नेपालले ६ खेल खेलिसकेको छ। उनको नेतृत्वमा नेपाल अझै जितबिहीन छ।
कालिनको प्रशिक्षणमा नेपालले २ बराबरी खेल्दा ४ खेलमा पराजित भएको छ। जसमध्ये नेपालले १२ गोल खाएको छ १ गोल मात्र गर्न सकेको छ।
एक वर्षमा भने नेपालले ९ खेलमा ७ खेलमा हार र २ खेलमा बराबरी खेलेको छ। यी ९ खेलमा नेपालले १६ गोल खाइसकेको छ भने १ गोल मात्र गर्न सकेको छ।
बिहीबार कुवेतविरुद्धको हार नेपालको इतिहासको चौथो खराब प्रदर्शन हो।
नेपालले अहिलेसम्म बोहोरको सबैभन्दा भन्दा ठूलो हार दक्षिण कोरियासँग हो। सन् २००३ मा दक्षिण कोरियाले एसिया कप छनोटमा नेपाललाई १६-० गोलले पराजित गरेको थियो।
नेपालका ठूला हार
२०१९ - कुवेतविरुद्ध ७-० ले पराजित
२०११ - जोर्डनविरुद्ध ९-० ले पराजित
२००३ - दक्षिण कोरियाविरुद्ध ७-० ले पराजित
२००३ - दक्षिण कोरियाविरुद्ध १६-० ले पराजित
२००३ -भियतनामविरुद्ध ७–० ले पराजित
२००३ - ओमानविरुद्ध ७–० दले परजित
२००१ - इराकविरुद्ध ९–१ ले पराजित
१९८४ - युएईविरुद्ध ११–० ले पराजित
सुरुवाती खेलमा नेपाल सबैभन्दा कमजोर
बिहीबारदेखि सुरु भएको विश्वकप र एसिया कप छनोटमा नेपाल सबैभन्दा कमजोर टिम देखिएको छ।
पहिलो खेलमा नेपालपछि बढी गोल खाने टिम अफगानिस्तान बनेको छ। अफगानिस्तानलाई बिहीबार नै भएको छनोटमा एसियन च्याम्पियन कतारले ६-० ले पराजित गरेको छ।
यता छिमेकी मुलुक भारतलाई ओमानले २-१ ले हराएको छ। श्रीलंका तुर्केमिनिस्तानसँग २-० ले पराजित भएको छ।
ग्वाममाथि १-० को जित निकालेको माल्दिभ्स विजयी सुरुवात गर्ने एक्लो सार्क मुलुक बनेको छ।
विश्वकप र एसिया कप छनोटको नतिजा
समूह ए
ग्वाम ० - १ माल्दिभ्स
फिलिपिन्स २ - ५ सिरिया
समूह बी
चाइनिज ताइपेई १ - २ जोर्डन
कुवेत ७ – ० नेपाल
समूह सी
कम्बोडिया १ – १ हङकङ
बहराइन १ – १ इराक
समूह डी
प्यालेस्टाइन २ – ० उज्वेकिस्तान
सिंगापुर २ – २ यमन
समूह ई
भारत १ – २ ओमान
कतार ६ – ० अफगानिस्तान
समूह एफ
मंगोलिया १ – ० म्यानमार
ताजकिस्तान १ – ० किर्गिस्तान
समूह जी
थाइल्यान्ड ० – ० भियतनाम
इन्डोनेसिया २ – ३ मलेसिया
समूह एच
उत्तर कोरिया २ – ० लेवनान
श्रीलंका ० – २ तुर्केमिनिस्तान