नेपाली राष्ट्रिय फुटबल टिमका नम्बर एक गोलकिपर किरण चेम्जोङ जापानको तेस्रो डिभिजनको क्लब फुजिदा माइएफसीका प्रशिक्षण गर्न मंगलबार जापान प्रस्थान गरेका छन्।
उनी जापानमा रहेका नेपालका पूर्वराष्ट्रिय खेलाडी सन्तोष साहुखल र जापानीय संस्था एफसी रोली वर्ल्डको सहयोगमा त्यसतर्फ प्रस्थान गरेका हुन्।
जापानमा साढे २ साता फुटबल प्रशिक्षण गर्ने किरणले सेतोपाटीलाई बताए। ‘रोली वर्ल्डको हिरो प्रोजेक्टको सहयोगमा जापान प्रस्थान गर्न लागेको हुँ,’ जापान उड्नुअघि किरणले भने, ‘त्यहाँ रहँदा करिब ३ साता अभ्यास गर्ने कार्यक्रम छ।’
अभ्यास कस्तो हुने विषयमा उतै गएपछि थाहा हुने बताएका उनले बाहिर आए जस्तो आफू ट्रायलका लागि जान नलागेको बताए।
‘मैले यो सिजनका लागि भारतीय क्लबसँग सम्झौता गरिसकेको छु। त्यसैले मैले अन्य क्लबमा ट्रायल दिन मिल्दैन,’ उनले भने, ‘आफ्नो क्षमता वृद्धि गर्न अभ्यासका लागि जान लागेको हुँ।’
अभ्यास क्रममा उनको खेल फुजिदा माइएफसीका पदाधिकारीले हेर्नेछन्। त्यसपछि उनीसँग सम्झौता गर्ने विषयमा कुरा अघि बढ्नेछ।
जापानिज क्लबमा सम्झौता अघि बढाउँदा पञ्जावसँगको सम्झौता के हुन्छ? किरणले घुमाउरो उत्तर दिए,‘अहिले मैले जापानमा प्रशिक्षण गर्ने ठूलो मौका पाएको छु। यो मौकालाई सदुपयोग गर्ने मेरो लक्ष्य हो। त्यसपछि मात्र कुन क्लबमा कसरी सम्झौता गर्ने कुरा आउँछ।’
किरणले गत महिना भारतीय आइ लिग क्लब मिर्नेभा पञ्जावसँग सम्झौता गरेका थिए।
जापानीय क्लबसँग सम्झौता हुने भए आगामी डिसेम्बरमा हुने बताइएको छ।
जारी सिजनको जे–३ लिगमा फुजिदा माइएफसी अहिले शीर्ष स्थानमा छ। उसले १९ खेलबाट ३७ अंक खेलेको छ।
दोस्रो स्थानको रोएसो कुमामोतो ३४ अंक बटुल्दै दोस्रो स्थानमा छ। १८ क्लबबीच प्रतिस्पर्धा भइरहेको लिगको शीर्ष २ क्लब जे–२ मा बढुवा हुनेछन्।
जारी जे–३ मा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो डिभिजनको लिगमा बढुवा हुने लक्ष्यमा रहेको फुजिदाले हाल राम्रो गोलकिपर खोजिरहेको छ।
‘दोस्रो डिभिजनमा बढुवा हुनका लागि राम्रो गोलकिपर खोजिरहेको फुजिदामा अभ्यास गर्न पाउनु मेरो लागि ठूलो अवसर हो,’ किरणले भने, ‘पछिल्लो समय मैले जे लिगका खेल हेरेँ। विश्वकप खेलिसकेको जापानको घरेलु लिग एकदमै राम्रो लाग्यो।’
किरण साउन पहिलो साता पञ्जाव आबद्ध भएका थिए। उनले पञ्जावसँग दोस्रो पटक सम्झौता गरेका थिए।
यसअघि उनले २०१७ को सिजनको अन्त्यमा पञ्जावबाट खेलेका थिए। त्यतिबेला उनले ८ खेल खेलेका थिए।
२ महिनाअघि किरण र माल्दिभ्सको पहिलो डिभिजनको क्लब टिसी स्पोर्टसबीच भएको सम्झौता रद्द भएको थियो। रद्दपछि नयाँ क्लबको खोजीमा रहेका किरण भारतीय क्लबमा पुगेका थिए।
टिसी स्पोर्ट्सले राष्ट्रिय टिमको खेल छाडेर माल्दिभ्स आउन आग्रह गरेको थियो। तर किरणले नेपालको मलेसिया र चाइनिज ताइपेईविरूद्धको मैत्रीपूर्ण खेलका कारण माल्दिभ्स आउन नसक्ने बताएका थिए। एन्फाले पनि क्लबलाई पत्राचार गरेको थियो। तर क्लबले भने सम्झौता नै रद्द गर्यो।
पहिलो डिभिजनको लिग धिवेदी प्रिमियर लिगका लागि टिसी स्पोर्ट्स क्लबले फरवार्ड विमल घर्तीमगर र गोलकिपर किरण चेम्जोङसँग सम्झौता गरेको थियो। टिसी स्पोर्ट्स लिगको साविक विजेता हो। विमल भने हाल क्लबबाट खेलिरहेका छन्।
२०१७ मा टिसीबाट पहिलो सिजन खेलेका किरणले प्रेरणादायी खेल पस्केका थिए। त्यतिबेला टिसी स्पोट्सले माल्दिभ्सको माथिल्लो डिभिजनमा दोस्रो स्थान हात पारेको थियो।
२०१७ को अन्त्यमा किरणले पञ्जावबाट केही महिना खेलेका थिए। पछि फेरि उनी टिसी स्पोर्ट्समै आबद्ध भएका थिए।
किरण गत सिजन माल्दिभ्सको लिगमा उत्कृष्ट गोलकिपर बनेका थिए। किरणले सिजनमा टिसी स्पोर्टसलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।
२८ वर्षीया किरणले सन् २०१६ मा मनाङ मर्स्याङ्दीबाट खेलेका थिए। एन्फा एकेडेमीका उत्पादन किरणले २००९ देखि २०१६ सम्म थ्री स्टार क्लबबाट खेले। त्यसक्रममा उनले थ्री स्टारलाई लिगसहित दर्जनौं घरेलु फुटबल प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।
सन् २००८ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले ६५ क्याप जितिसकेका छन्।