चिनियाँ कम्पनी चाइना रेलवेले निर्माण सकेपछिमात्र दशरथ रंगशाला हस्तान्तरण गर्ने अडान राखेपछि नेपालले फिफा विश्वकप छनोट प्रतियोगितामा सुरूमा ‘अवे म्याच’ खेल्नका लागि गृहकार्य थालेको छ।
सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको छनोट प्रतियोगिताको समूह ‘बी’ मा परेको नेपालले असोज २८ गते भित्र तीन वटा ‘होम म्याच’ खेल्ने तय छ।
नेपालले भदौ १९ गते कुवेतविरुद्ध, भदौ २४ गते चाइनिज ताइपेईविरुद्ध र असोज २८ जोर्डनविरुद्ध घरेलु मैदानमा खेल्ने खेल तालिका छ।
यी खेलका लागि अन्तर्राष्ट्रिय मापदण्डको मैदान चाहिने नियमअनुरूप नेपालले दशरथ रंगशालामा होम म्याच खेलाउने तयारी थालेको थियो। तर चिनियाँ कम्पनीले सम्झौताअनुसार निर्माण सकेपछि मात्र रंगशाला दिने अडान राखेको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र एन्फा अध्यक्ष शेर्पाले मैदान र अन्य आवश्यक पूर्वाधार तयार गरेर नेपालको खेल गराउन चाइना रेलवेसँग आग्रह गरेका थिए। तर रेलवेले सम्झौता विपरित रंगशाला उपलब्ध गराउन नसकिने जवाफ दिएको थियो। त्यसपछि खेलकुद मन्त्री जगतबाहादुर विकले पनि छलफल गरेका थिए। मन्त्रीसँग पनि सकारात्मक नबनेको रेलवेसँग अहिले चिनियाँ दूतावासमार्फत कुराकानी अघि बढाइएको छ।
दशरथ रंगशाला उपलब्ध हुनेमा शंका बढेपछि तीन वटै ‘होम म्याच’ लाई ‘अवे म्याच’ बनाउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन वटा देशको फुटबल संघलाई अनुरोध गर्दै पत्रचार गरेको छ। तीन वटा फुटबल संघले एन्फाको अनुरोध स्वीकार गरे एसियाली फुटबल महासंघ (एएफसी)लाई पत्रचार गरिनेछ।
‘हाम्रो लक्ष्य नेपालको खेल घरेलु मैदानमा गराउने हो। त्यसका हामीले तीन वटा देशलाई अनुरोध गरेका हौं,’ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले सेतोपाटीसँग भने।
पहिले ३ अवे खेल खेलेको अवस्थामा नेपालले पहिलो होम म्याच आगामी मंसिर ३ गते कुवतेविरुद्ध खेल्नेछ। त्यसपछि चाइनिज ताइपेईसँग चैत १३, अस्ट्रेलियासँग चैत १८ र जोर्डनसँग जेठ २२ गते घरेलु मैदानमा खेल हुनेछ।
भदौ १९ गते कुवेतविरुद्ध, भदौ २४ गते चाइनिज ताइपेईविरुद्ध र असोज २८ जोर्डनविरुद्ध ती देशकै घरेलु मैदानमा हुनेछ।
दशरथ रंगशाला तयार उपलब्ध नभएको तथा विपक्षी टिमले होम म्याचलाई अवे बनाउन स्विकार नगरेको अवस्थामा भने नेपालले ‘न्यूट्रल भेन्यू’ (तेस्रो देश) मा खेल खेल्नु पर्नेछ। तेस्रो देशमा खेल खेल्दा खर्चिलो हुने कतिपयको तर्क छ।
कुवेतविरुद्ध मंसिर ३ गते खेल हुने अवस्थामा पनि दशरथ रंगशाला तयार हुन मुस्किल हुने देखिएको छ। किनकी दशरथ रंगशालाको भिआइपी प्याराफिटको छाना हाल्ने काम सुरु भएको छैन भने कुर्सीका लागि अझै टेन्डर आह्वान गरिएको छैन। साधारण प्याराफिट भने निर्माण सकिएको छ।
चाइना रेलवेले रंगशालाको फ्लडलाइट, ट्र्याक, स्कोरबोर्ड र साउन्ड सिस्टम बनाउने जिम्मेवारी लिएको छ। ट्र्याकको काम सकिए पनि अन्य काम अझै सकिएको छैन। सबै काम सकिन कार्तिक दोस्रो सातासम्म लाग्ने बताइएको छ।
साउन्ड सिस्टम तयार पर्न अझै केहि समय कुर्नु पर्ने देखिएको छ।
भिआइपी प्याराफिट निर्माण सकिएपछि मात्र साउन्ड सिस्टम तयार गरिनेछ।
कुवेतविरुद्ध
भदौ १९ गते - होम म्याच
मसिंर ३ गते – अवे म्याच
चाइनिज ताइपेईविरुद्ध
भदौ २४ गते – होम म्याच
चैत १३ गते - अवे म्याच
अस्ट्रेलियाविरुद्ध
असोज २३ गते – अवे म्याच
चैत १८ गते – होम म्याच
जोर्डनविरुद्ध
असोज २८ गते - होम म्याच
जेठ २२ गते(२०७७) – अवे म्याच