मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै ललितपुरको थ्री स्टार क्लब पाँचौं उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
थरूहट रंगशालामा शनिबार सम्पन्न फाइनलमा मनाङ–मस्र्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै थ्री स्टार च्याम्पियन बनेको हो।
थ्री स्टारको जितमा अजायी मार्टिन्सले गरेको गोल निर्णायक भयो।
पहिलो हाफको १९ औं मिनेटमा मार्टिन्सले गोल गरेका थिए।
यसअघि दोस्रो र तेस्रो संस्करणको विजेतासमेत रहेको थ्री स्टार तेस्रोपटक च्याम्पियन बन्न सफल भएको हो।
सिजनको शुरूमा माइभ्याली गोल्डकप जितेको थ्री स्टारको यो दोस्रो उपाधि हो।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही राम्रा मौका खेर फालेका थिए। खेल सकिन ९ मिनेट बाँकी रहँदा दुवै टोली १० खेलाडीमा समेटिए। मनाङका डिफेन्डर बिमल बस्नेतले मार्टिन्समाथि हातपात गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएको थिए। लगत्तै रेफ्रीले मार्टिन्सलाई पनि कार्ड देखाउँदै मैदान बाहिर पठाएको थिए।
दुवै टोली १० खेलाडीमा समेटिएपछि मनाङले खेलमा थ्री स्टारमाथि दवाव सिर्जना गरे पनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो।
यस्तै थ्री स्टारका रुपेश केसीले पनि वान भर्सेस वानमा गोल गर्न चुकेका थिए।
उपाधिसँगै थ्री स्टारले ५ लाख रूपैया प्राप्त गरे । दोस्रो स्थानमा चित्त बुझाएको मनाङले ३ लाख ५० हजार रूपैया प्राप्त गर्यो।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ५० हजार रूपैया प्राप्त गर्दा व्यक्तिगत विधातर्फका सवै खेलाडीहरुले जनही १० हजार रूपैया पाएका थिए। फाइनल खेलको म्यान अफ द म्याचले ७ हजार रूपैयाँ पुरस्कार पाएका थिए।
वैशाख २७ गतेबाट शुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोलीले सहभागिता जनाएका थिए।
उदयपुर गोल्डकपका उत्कृष्ट खेलाडीहरुसर्वोत्कृष्ट खेलाडीः पिटर सेगुन (थ्री स्टार)
सर्वाधिक गोलकर्ताः अजायी मार्टिन्स (थ्री स्टार, ४ गोल)
उत्कृष्ट गोलरक्षकः एलेन न्यौपाने (थ्री स्टार)
उत्कृष्ट डिफेन्डरः विजय धिमाल (थ्री स्टार)
उत्कृष्ट मिडफिल्डरः रुपेश केसी (थ्री स्टार)
उत्कृष्ट प्रशिक्षकः मेघराज केसी (थ्री स्टार)
उदियमान खेलाडीः प्रज्वल चौधरी (उदयपुर–११)
फाइलन खेलको म्यान अफ दि म्याच- डोना थापा (मनाङ)