झापालाई हराउँदै मोरङ- ११ फाल्गुनन्द गोल्डकपको फाइनलमा


 

डिफेन्डिङ च्याम्पियन झापालाई हराउँदै मोरङ ११ फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

शुक्रबार ट्राई ब्रेकरमा डिफेन्डिङ च्याम्पियन विर्ता युनाइटेड झापालाई ६–५ गोल अन्तरले पराजित गर्दै मोरङ उपाधि नजिक पुगेको हो। अब आइतवार हुने फाइनलमा मोरङले सुनसरी ११ को सामना गर्नेछ।

निर्धारित समयमा १/१ गोलको बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो। ट्राई ब्रेकरमा मोरङका सबै खेलाडीहरू वुद्धिमान राई, विदुर रिजाल, मिन धिमाल, मिक्चेन तामाङ, अशोक खवास र सुरेन्द्र खवासले गोल गरेका थिए।

विर्ता युनाइटेडका लागि कर्ण लिम्बू, समिन मैनाली, विक्की चौधरी, दिलेन लोक्ताम र योगेश गुरुङले गोल गरे। झापाका आशिष चापागाईको प्रहार मोरङका गोल किप्परले बचाउँदै आफ्नो टिमलाई फाइनलसम्म पुर्‍याएका हुन्।

यसअघि खेलको २४औं मिनेटमा विर्ता युनाइटेडका लागि कर्ण लिम्बूले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए।

पहिलो हाफसम्म १-०ले पछि परेको मोरङले दोस्रो हाफमा मात्र बराबरी गोल फर्कायो। दबावमा परेको मोरङले दोस्रो हाफको ३५ औं मिनेटमा गोल गर्दै बराबरी गर्न सफल भयो। मोरङका लागि म्यान अफ द म्याच अशोक खवासले गोल गर्दै मोरङलाई खेलमा फर्काएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.