नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि शनिबार भएको अक्सनमा विभिन्न आठ टोलीले ३७ खेलाडी भित्र्याए।
पाँच टोलीले ५-५ खेलाडी र बाँकी तीन टोलीले ४-४ खेलाडीलाई टोलीमा भित्र्याएसँगै सबै टोलीमा नेपाली खेलाडीको संख्या ११-११ पुग्यो।
अक्सनमा नाम चलेका तथा राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीमा सबैको आँखा थियो। जसमा आदिल अन्सारीलाई भित्र्याउन आठ टोली नै अग्रसर देखिएका थिए।
अक्सन दुई युवा बलरमा पनि टोलीहरूको चासो देखियो। नेपालको यू-१९ टोलीबाट खेलिसकेका युवराज खत्री र अस्ट्रेलियामा बसेर स्थानीय क्रिकेट खेलिरहेका आदित्य महतालाई एकभन्दा बढी टोलीले भित्र्याउने चासो देखाउदा अधिकतम मूल्यमा ब्रिकी भए।
आदित्य कञ्चनरपुर कृष्णपुरका हुन्। देब्रे हाते स्पिनर आदित्य गत वर्ष अस्ट्रेलियाको महिला टोलीका लागि नेट बलर बनेसँगै चर्चामा आएका थिए।
महिला टोलीको विश्वकपको तयारीको क्रममा महताले अस्ट्रेलियाको महिला टोलीका लागि नेट बलिङ गर्ने मौका पाएका थिए। उनले अस्ट्रेलियाको विभिन्न स्थानीय टोलीबाट समेत खेलेका छन्।
आदित्यले सुदूरपश्चिमको सिनियर टोलीबाट खेलिसकेका छन्। उनले सन् २०२२ मा प्रधानमन्त्री कप खेलेका थिए। त्यतिबेला उनले सुदूरपश्चिमका लागि ४ खेलमा ९ विकेट लिएका थिए।
त्यसपछि अस्ट्रेलिया गएका उनले यो सिजनको एनपिएलका लागि सी श्रेणीमा नाम दर्ता गराएका थिए। न्यूनतम २ लाख रुपैयाँबाट उनीमाथि बोली लाग्दा अधिकतम ५ लाख रूपैयाँ भित्र्याउन सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स तयार देखिएका थिए। अन्तत: उनी ‘लक्की ड्र’ मार्फत् जनकपुरमा ५ लाखमा आबद्ध हुन सफल भए।
दोस्रो सिजनको अक्सनमा सी श्रेणीबाट अधिकतमा ५ लाखमा बिक्री हुने दुई खेलाडीमध्ये आदित्य एक हुन्। अर्का सी श्रेणीका खेलाडी विशाल पटेल पनि ५ लाख रूपैयाँमा लुम्बिनी लायन्समा आबद्ध भएका खेलाडी हुन्।
यता १७ वर्षीय युवा लेग स्पिनर युवराज खत्रीमाथि पाँच टोलीले बोली लगाए। उनी यो सिजनको अक्सनका लागि ‘बी’ श्रेणीमा थिए।
नेपालको यू-१९ टोलीबाट एसिया कप र विश्वकप छनोट खेलेका युवराज सिनियर टोलीका प्रशिक्षक स्टुअर्ट लको आँखामा परेका स्पिनर हुन्। पछिल्ला दुई वटा बन्द प्रशिक्षणमा लले उनलाई स्थान दिइसकेका छन्। भलै अन्तिम टोलीमा नपरे पनि उनलाई नेपाली क्रिकेटको भविष्यको रुपमा लिने गरिन्छ।
अछाम जिल्लाको चौरपाटीका युवराज सानै उमेरमा क्रिकेटप्रति मोहित थिए। घरेलु ब्याट र बलले क्रिकेटको यात्रा सुरू गरेका युवराजलाई उनका दाई जीवनले आठ वर्षको उमेरमा क्रिकेट सिकाउन काठमाडौं ल्याएका थिए।
काठमाडौंको एन्जल हार्ट्स एकेडेमीमा भर्ना भएर पढाइ र क्रिकेट सँगै अघि बढाए। सुरुमा काठमाडौं जिल्लाबाट क्रिकेट खेलेका उनले पछि सुदूरपश्चिम प्रदेशबाट घरेलु उमेर समूहका क्रिकेट खेले।
त्यसपछि नेपालको उमेर समूहको टोलीमा परेका युवराजले गत वर्ष मुलपानीमा भएको यू-१९ विश्वकपमा छनोटमा उत्कृष्ट खेल देखाए। त्यतिबेला नेपाली यू-१९ टोलीका प्रशिक्षक शक्ति गौचनले युवराजलाई नेपाली टोलीको ‘ट्रम्प कार्ड’ भनेका थिए।
उमेर समूहबाट सिनियर टोलीको बन्द प्रशिक्षणसम्मको यात्रा गरेका युवराजलाई भित्र्याउन एनपिएलका पाँच टोलीले चासो देखाए।
उनलाई भित्र्याउन सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, विराटनगर र चितवनले बोली लगाएका थिए। लक्की ‘ड्र’ मार्फत् युवराज कर्णालीमा १० लाख रूपैयाँमा आबद्ध भए।