नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक स्टुआर्ट लले नियुक्तको एक महिनापछि नेपाली टोलीको जिम्मेवारी सम्हालेका छन्।
शुक्रबार राति नेपाल आइपुगेका उनले शनिबारदेखि मुलपानीमा सुरु भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको ‘कोर क्याम्प’ मा नेतृत्व लिएका हुन्।
नेपाली टोलीको जिम्मेवारी सम्हालेपछि उनले नेपालको क्रिकेट संस्कृति र यसमा मानिसहरुको लगावलाई आफूले सधैं ‘इन्जोए’ गर्ने बताए।
साथै नेपाली राष्ट्रिय टोलीको संरचना बनाउन काम गर्न उनको भनाइ छ। टोलीलाई रम्रो बनाउन शतप्रतिशत दिने पनि उनले उल्लेख गरे।
यसअघि टेस्ट टोलीको कप्तान रहिरहेका उनले गत वर्ष अमेरिकाको प्रशिक्षक रहदा नेपलबारे रुची बढेको बताए। त्यसपछि आफूले नेपालको प्रशिक्षकका लागि आवेदन दिएको उनको भनाइ छ।
पहिलोपटक नेपाल आएको र आफूमाथि ठूलो चुनौती रहेको पनि उनको विश्लेषण छ।
५३ खेलाडीको कोर क्याम्पबाट बलियो टोली निर्माण गर्ने उनको भनाइ छ। चार टोलीबीचको खेलबाट खेलाडीहरुको सबै पक्षको क्षमता नियाल्न सजिलो हुने उनले बताए।
उनले आइसिसी टी-२० विश्वकप २०२६ का लागि छनोट प्रतियोगिता आइरहेको र त्यो छनोटबाट सन् २०२६ को विश्वकपमा पुग्ने आफ्नो पहिलो लक्ष्य भएको बताए। तर छनोट प्रतियोगिता चुनौतीपूर्ण रहेको र कुनै एक महत्वपूर्ण खेल हारेमा यात्रा सकिनेमा आफू सचेत रहेको प्रशिक्षक स्टुआर्टले बताए।
अस्ट्रेलियाका लागि १९९४ देखि १९९९ सम्म एक टेस्ट र ५४ एकदिवसीय खेल खेलेका उनीसँग टेस्ट राष्ट्रको प्रशिक्षक भएको अनुभव छ।
उनी सन् २०११ मा श्रीलंका र सन् २०१२ मा एक वर्ष बंगलादेशको प्रशिक्षक बनेका थिए। सन् २०१८ देखि २०१९ सम्म वेस्ट इन्डिज र २०२२ मा एक वर्ष अफगानिस्तानको प्रशिक्षक रहे। त्यसपछि दुई वर्ष बंगलदेशको यू-१९ टोलीको प्रशिक्षक रहेका उनी गत वर्ष अमेरिकाको प्रशिक्षक थिए।

