नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेकी छन्।
सोमबार काठमाडौंको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेन—जी आन्दोलनका घाईतेहरुसँग भेटपछि पत्रकारहरूसँग कुराकानी गर्दै चुनाव भाँड्नका लागि कुनै पनि पक्षले आन्दोलन गर्न नहुने बताएकी हुन्।
'बिरामीहरुको अवस्था हेर्दाखेरी मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस भन्न चाहन्छु । र जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ । त्यो नगर्नुस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु,' उनले भनिन्।
मन्त्री गौतमले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको पनि बताइन्।
मन्त्री गौतमले घाइते बिरामीहरुले आफूलाई अस्पतालको बेथितिको बारेमा ध्यानाकर्षण गराएको पनि बताइन्। उनीहरुले दिएको सुझावको आधारमा अस्पतालहरुको सुधारमा लागि पर्ने प्रतिवद्धतासमेत व्यक्त गरिन्।
'आन्दोलनको मर्म नै यी कुरिती, बेथितिहरु सबै हटुन् भन्ने थियो । त्यसका लागि आएका सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ । र मैले गरेका कामहरु कति, के भयो भन्ने कुरा म ट्रान्सपरेन्टली ढंगले देखाउनेछु,' उनले भनिन्।
मन्त्री गौतमले यसअघि बिहानै काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा रहेका जेन—जी आन्दोलनका घाइतेहरुको अवस्थाबारे पनि जानकारी लिएकी थिइन्।
त्यस क्रममा उनले अस्पतालले उनीहरुको उपचारमा कुनै कमी नगरेको आफूले पाएको बताइन्। —न्युज एजेन्सी नेपाल