नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सिद्धान्त लोहनीको उपचारका लागि पाँच लाख दिने निर्णय गरेको छ।
क्यानका अनुसार घुँडाको उपचार गरारहेका लोहनीलाई थप पाँच लाख रूपैयाँ उपलब्ध गराउने निर्णय भएको हो।
यसअघि क्यानले उपचार गराउन एक लाख रूपैयाँ दिएको थियो।
सन् २०२३ को जुन २ मा उनी महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिता दौरान घाइते भएका थिए। कोशी प्रदेशका कप्तान लोहनीको गण्डकीविरूद्ध फिल्डिङ गर्ने क्रममा घुँडामा चोट लागेको थियो।
विगत दुई वर्षदेखि उपचार गराइरहेका लोहनीले आफ्नो उपचारमा क्यानले बेवास्ता गरेको भन्दै सामाजिक सञ्जालमा भिडिओ हालेको थिए।
हाल भारतमा उपचार गराइरहेका उनले आफ्नो २० लाखभन्दा बढी खर्च भएको, धेरै पिडामा परेको र क्यानले बेवास्त गरेको भन्दै दु:ख व्यक्त गरेका थिए।
उनले भिडिओ सेयर गरेपछि क्यानले उपचारका लागि थप खर्च दिने निर्णय गरेको हो।
उनले २०१५ राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत जर्सीविरूद्धको डेब्यू खेलमा सिद्धान्तले १६ बलमा २ चौका र २ छक्काको मद्दतमा २७ रन प्रहार गरेका थिए।
नेपाल पराजित भएको उक्त खेलमा सिद्धान्त भने चर्चाको शिखरमा रहे। उनले सो खेल खेल भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको शैलीमा हेलिकोप्टर सट प्रहार गरेका थिए। उनको सो सटको अन्तर्राष्ट्रिय क्रिकेटमा पनि चर्चा भएको थियो।
डेब्यूमा सनसनी मच्चाएका उनले राष्ट्रिय टोलीमा निरन्तर प्रदर्शन गर्न भने सकेनन्।
सन् २०२३ सम्म उनले घरेलु क्रिकेट निरन्तर खेलिरहे। सन् २०२३ मा उनी कोशी प्रदेशको कप्तान थिए।
सन् २०२३ मा जनकपुरमा भएको महेन्द्रनारायण निधी टी-२० राष्ट्रिय प्रतियोगिता सिद्धान्तका लागि दु:खान्त सावित भयो।
कोशी प्रदेशका कप्तान सिद्धान्त गण्डकीविरूद्ध फिल्डिङ गर्ने क्रममा घाइते भए। उनको खुट्टामा चोट लाग्यो। त्यो दिनदेखि मैदानबाट टाढा रहेका सिद्धान्त अहिले पनि उपचार गराइरहेका छन्।
उनले अहिलेसम्म ६ पटक खुट्टाको शल्यक्रिया गराएको सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन्। उपचारमा २० लाख रूपैयाँभन्दा बढी खर्च भएको बताएका सिद्धान्तले दुई वर्षको बीचमा क्यानमा सहयोगका लागि धेरै पटक इमेल गरेको गरेका थिए।
यो पनि : दुई वर्षमा छ पटक शल्यक्रिया गराएका क्रिकेटर सिद्धान्तको पीडा- फेरि हिड्न सकुँ भनेर भगवानसँग प्रार्थना गर्छु