नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाईले सन् २०२५ मा अर्को अविश्वसनीय अध्याय निर्माण गर्ने मौका रहेको बताएका छन्।
सामाजिक सञ्जालमा सन् २०२४ को समिक्षा गर्दै उनले सन् २०२५ को बारेमा अहिले नै केही थाहा नभए पनि उपलब्धि हासिल गर्नका लागि नयाँ अध्याय निर्माण गर्ने मौका रहेको बताएका हुन्।
सन् २०२३ मा सुरूवातमा नेपालको प्रशिक्षक नियुक्त भएका मोन्टीको दुई वर्षको कार्यकाल आगामी फेब्रुअरीमा सकिँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले उनको कार्यकाल नथप्ने संकेत दिएको छ। उनी सन् २०२५ मा नेपालको प्रशिक्षक रहने वा नरहने विषयमा क्यानको बोर्ड बैठकले निर्णय गरेपछि पक्का हुनेछ।
सन् २०२४ को बिदाइ गरिरहँदा यो वर्ष अविस्मरणीय भएको मोन्टीले बताएका छन्।
‘२०२४ एउटा अविस्मरणीय वर्ष बन्यो। यो वर्ष कोसेढुङ्गा, सिकाइ र प्रगतिको यात्रा भयो। आइसिसी टी-२० विश्वकपमा छनोट हुनु र दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको क्षण हृदयविदारक थियो। तर त्यो दृढ संकल्पको प्रमाण पनि थियो। यसले हामी कति माथि आइपुगेका छौं र हामीले अगाडि बढ्न सक्ने सम्भावना देखाएको छ,’ उनले लेखेका छन्।
उनले आइसिसी विश्वकप लिग-२ मा भने सोचे जस्तो प्रदर्शन हुन नसकेको बताएका छन्। सन् २०२४ मा नेपालले लिग-२ का १२ मध्ये २ खेलमा मात्र जित निकाल्न सकेको थियो। उनले राम्रो प्रदर्शन गर्नका लागि ध्यान केन्द्रीय गर्नु पर्ने अवस्था रहेको र एकनासको प्रदर्शन हुन नसकेको बताएका छन्।
सन् २०२४ मा नेपालले अमेरिकालाई उसैको मैदानमा टी-२० सिरिजमा ३-० ले पराजित गर्नु र घरेलु मैदानमा क्यानडालाई एकदिवसीय सिरिजमा ३-० ले हराउनुलाई मोन्टीले मुख्य उपलब्धि मानेका छन्।
आफू लामो समय घरबाहिर हुँदा समर्थन गरेको भन्दै परिवार अझ विशेषगरी छोरीहरूप्रति कृतज्ञ रहेको बताएका छन्।
आफूलाई प्रशिक्षण मन पर्ने बताउँदै खेलाडीलाई जित वा हारेको बारेमा मात्र होइन मैदानमा र बाहिर दुवै स्थानमा उत्कृष्ट बनाउन सहयोग गर्नु आफ्नो उद्देश्य रहेको उनको भनाइ छ। मानिस, ठाउँ, जोश र उद्देश्यमा सफलता हुने बताउँदै उनले जिज्ञासु हुनु, सुधार गर्न प्रयास गर्नु र अघि बढ्नुमा सफलतामा हुने उल्लेख गरेका छन्।