आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले कप्तान रोहितकुमार पौडेलको शतकमा घरेलु टोली युएईलाई २३४ रनको लक्ष्य दिएको छ।
दुबईमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा २३३ रनमा अलआउट भयो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १०९ रन बनाए। रोहितले १३० बलमा ५ चौका र २ छक्का प्रहार गरे।
एकदिवसीय खेलमा रोहितको यो दोस्रो शतक हो। यसअघि उनले सन् २०२२ पिएनजीविरूद्ध शतक प्रहार गरेका थिए।
खराब सुरुवात गरेको नेपालका ओपनर कुशल भुर्तेल ७ रनमा आउट भए भने भीम सार्कीले पनि ३ रन मात्र जोड्न सके।
आसिफ शेखले ३५ रन जोड्दा नेपालको इनिङ सम्हालिएको थियो। यस्तै आरिफ शेखले पनि २७ रन जोडेका थिए। दीपेन्द्रसिंह ऐरीले रनआउट हुनुअघि २३ रन जोडे। रोहितले आसिफ (३५ रन), आरिफ (७० रन) र दीपेन्द्रसँग (५४ रन) गरेको साझेदारी महत्वपूर्ण सावित भयो। हिट विकेट भएका सोमपालले ६ रन बनाए। अन्तिम ओभरमा एक चौका र एक छक्का प्रहार गरेका करण केसीले ८ बलमा १३ रन दिए।
बलिङमा युएईका जाहिद अलीले ४ विकेट लिए भने जुनइद सिद्धिकीले ३ विकेट हात पारे।
खेलका लागि नेपाली टोली : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आरिफ शेख, रोहित पौडेल (कप्तान), गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी।
सिरिजको पहिलो दुवै खेलमा अमेरिकाले जित निकालेको छ। नेपाल र घरेलु टोली युएईले भने पहिलो खेलमा पराजय भोगेका छन्।
नेपाल र युएईविरूद्ध निकालेको जितले अमेरिका आठ अस्थायी एकदिवसीय मान्यता टोलीबीच जारी लिग-२ को शीर्ष स्थानमा पुगेको छ।
पहिलो खेलमा नेपाललाई पराजित गरेपछि शीर्ष स्थानमा स्कटल्यान्डलाई पछि पारेको अमेरिकाले मंगलबार युएईलाई पराजित गरेसँगै दुई अंकको अग्रता लियो। जारी सिरिजको बाँकी दुई खेलमा जित निकालेको अवस्थामा यो वर्ष अमेरिकाले लिग-२ मा ६ अंकको अग्रता कायम गर्ने सम्भावना छ।
अमेरिकाले २२ खेलबाट १६ जित निकालेर ३२ अंक जोडिसकेको छ। दोस्रो स्थानको स्कटल्यान्डको २४ खेलबाट ३० अंक छ। नेदरल्यान्ड्सको पनि समान खेलबाट २८ अंक छ भने अंक तालिकाको तेस्रो स्थानमा छ।
चौथो स्थानको ओमानले २० खेलबाट २४ अंक जोड्दा पाँचौ स्थानको क्यानडाले २१ अंक बटुलेको छ। छैटौं स्थानको नामिबियाको २४ खेलबाट १९ अंक छ। नेपाल १७ खेलबाट १२ अंक जोडेर सातौ स्थानमा छ भने नेपालको जति खेल खेलको पुछारको युएईको ६ अंक मात्र छ। नेपालले लिग-२ मा पाँच खेलमा मात्र जित निकालेको छ। २ खेलमा नतिजा आएको छैन भने १० खेलमा पराजय भोगिसकेको छ।
यो वर्ष नेपाल,ओमान र युएई बाहेक सबै टोलीले १२-१२ खेल खेलिसकेका छन्। नेपाल र ओमान र युएईले यो वर्ष अन्तिम तेस्रो सिरिज खेल्नेछैनन्। त्यसैले तीनै टोलीले वर्षको अन्त्यसम्ममा ८-८ खेल मात्र खेल्नेछन्।
सबैले टोलीले सन् २०२४ मा १२-१२ खेल खेलेका थिए। त्यसैले तीन टोलीबाहेकले आठ टोलीले दुई वर्षको अन्त्यमा २४ खेल सक्नेछन्।
नेपालले अब बिहीबार युएई, शनिबार अमेरिका र सोमबार युएईसँग खेलेपछि यो वर्षको सबै लिग-२ का खेल सक्नेछ।