घरेलु टोली अस्ट्रेलिया र भारतबीचको चौथो टेस्ट हेर्ने दर्शकको संख्याले नयाँ कीर्तिमान बनाएको छ।
मेलवर्न क्रिकेट मैदानमा घरेलु टोली अस्ट्रेलियाले १८४ रनले जितेको चौथो टेस्टको पाँचौ दिनसम्ममा ३ लाख ७३ हजार ६ सय ९१ जनाले पाँच दिनसम्ममा मैदान प्रवेश गरेपछि नयाँ कीर्तिमान बनेको हो। यो अस्ट्रेलियामा टेस्ट हेर्ने दर्शकको नयाँ रेकर्ड हो। यसअघि अस्ट्रेलियामा सन् १९३७ मा खेलिएको टेस्टमा ३ लाख ५० हजार ५ सय ३४ जनाले टेस्ट हेरेका थिए।
क्रिकेट अस्ट्रेलियाले सोमबार दिएको जानकारीअनुसार चौथो टेस्टको पाँचौं दिनको पहिलो सत्रमा ५१ हजार ३ सय ७१ दर्शक आएका थिए। दिउँसो यो संख्या बढेर ७४ हजार ३ सय ६२ पुगेको थियो।
यसअघि सन् १९३७ मा इंल्यान्डविरूद्ध खेल्दा ३ लाख ५० हजार दर्शक उपस्थित भएको थियो। यद्यपी सो टेस्ट ६ दिनसम्म खेलिएको थियो।
चौथो टेस्टको पहिलो दिन ८७,२४२ दर्शक आएका थिए भने दोस्रो दिन ८५,१४७ उपस्थित थिए। यस्तै तेस्रो दिन ८३,०७३ दर्शकले खेल हेरेका थिए भने चौथो दिन केही थोरै अर्थात् ४३,८६७ गेट भित्रभ प्रवेश गरेका थिए। पाँचौ दिन ७४,३६२ आएपछि नयाँ रेकर्ड बनेको हो।
मेलवर्न क्रिकेट गाउन्डको व्यवस्थापन हेर्ने मेलबर्न क्रिकेट क्लबले पाँचौं दिनको दर्शको संख्या एक्कासी बढेको बताएको छ।
क्लबले यारा पार्कलाई मैदानबाहिर सार्वजनिक पार्किङका लागि पाँचै दिन खोलेका थिए, जुन दुर्लभ कुरा हो।
यसअघि सन् २०२२ को टी-२० विश्वकपको बेलमा मेलवर्न मैदानमा भारत र पाकिस्तानबीचको खेलमा ९० हजार २९३ दर्शक उपस्थित भएका थिए। यस्तै भारतले जिम्बावेसँग खेल्दा पनि ८२ हजार ५०७ दर्शकले खेल हेरेका थिए।