प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई सम्मान गरेका छन्।
आइतबार जनकपुर बोल्ट्सका खेलाडी र व्यवस्थापकहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले सम्मान गरेका हुन्। उनले जनकपुरका खेलाडीहरूको प्रशंसा पनि गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
'तपाईँहरु हिरो हो । नायक र महानायक हो । म तपाईंहरुको प्रशंसा गर्छु। खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ, आगामी दिनमा अझ ठूलो सफलता हासिलका लागि शुभकामना दिन्छु,' जनकपुरको टोलीसँग प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान नेपाली पनि हुनसक्छ भन्ने देखाउनेगरी आत्मबल, सीप र उत्साह कायम राख्न आग्रह गरे।
साथै एनपिएलमा जनकपुरको असाधारण क्षमता देखिएको पनि प्रधानमन्त्री ओलीले बताए।
'यो हामी सबैको जित हो । नेपालीको जित हो । एनपिएलको जित हो । यस खेलमा तपाईंहरुको असाधारण क्षमता देखिएको छ । दोस्रो हुने सुदूरपश्चिम पनि कमजोर थिएन । कठोर चुनौतीको सामना गरेर विजय हासिल गर्ने जनकपुर बोल्ट्स्का खेलाडीहरु बधाईका पात्र हुनुहुन्छ,' प्रधानमन्त्री ओलीले भने।
भेटमा आफू प्रधानमन्त्रीमा बहाल भएपछि कीर्तिपुर क्रिकेट मैदानको स्तरतोन्नतीको पहिलो निर्णयमा गरिएको र निर्माणका लागि बोलपत्र आव्हान गरिएको बताए।
उनले नेपालमा सरकार र आफ्नो तर्फबाट खेल क्षेत्रको विकासका लागि गर्नुपर्ने प्रयास निरन्तर हुने अवगत गराए।
विदेशी खेलाडी नेपाल आउँदा र नेपालको खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउन झञ्झटिलो प्रक्रिया भएको क्रिकेट सङ्घ र खेल व्यवस्थापकका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए।
सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका ठुला खेलाडीलाई श्रम स्वीकृतिमा झञ्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गरेका थिए।
उक्त टिमका क्याप्टेन आसिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरुलाई खुसी लागेको प्रतिक्रिया दिए।