सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जित्यो।
लिग चरण र पहिलो क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिम शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरविरूद्ध भएको उपाधि भिडन्तमा पराजित भयो।
सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका कप्तान दीपेन्द्र सिंह ऐरीले ६२ लाख रुपैयाँको ओमोडा इ-५ कार जिते।
उनले फाइनलसम्मको यात्रा राम्रो भए पनि अन्तिम खेलमा चुकेको बताए।
‘सबै जनाले राम्रो खेलेका थिएँ। हाम्रो आज ब्याटिङमा एकदम राम्रो प्रदर्शन भयो। बलिङमा हामीले राम्रो गर्न सकेनौं। जनकपुरका लाहिरू मिलन्था र आसिफ शेखले राम्रा खेले। उनीहरूको ओपनिङ साझेदारी एकदमै राम्रो भयो। राम्रो खेलेकोमा उनीहरुलाई बधाइ छ,’ दीपेन्द्रले खेलपछि भने।
खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८४ रन जोडेको थियो। जुन लक्ष्य जनकपुरले ५ विकेटको क्षतिमा चार बल खेल्न बाँकी छदै पूरा गरिदियो।
‘पिच एकदमै राम्रो थियो। १० रन कम भएको जस्तो लाग्यो। हाम्रा बलर राम्रा भए पनि आज राम्रो प्रदर्शन गर्न सकेनन्,’ उनले भने, ‘प्रतियोगिता भने राम्रो भयो। सुदूरपश्चिमलाई समर्थन गर्नुभएकोमा सबैलाई धन्यवाद। खेलमा हार-जित हुन्छ। अर्को पटक राम्रो गर्नेछौं।’