सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जित्यो।
लिग चरण र पहिलो क्वालिफायरमा पराजित भए पनि जनकपुरले सुदूरपश्चिमलाई फाइनलमा भने ५ विकेटले पराजित गरेर उपाधि जित्न सफल भयो।
सुदूरपश्चिमले १८५ रनको लक्ष्य दिए पनि जनकपुरका ओपनर लाहिरू मिलन्थाले ८७ रन जोडे।
लिग चरण र पहिलो क्वालिफायरका ८ मध्ये १ खेलमा मात्र पराजित भएको सुदूरपश्चिम फाइनलमा भने चुक्यो।
सुदूरपश्चिमका प्रशिक्षक जगत टमाटाले राम्रो विकेट भएकाले २ सय रन बनाउनबाट चुक्दा उपाधि जत्न नसकेको प्रतिक्रिया दिए।
खेलमा उत्कृष्ट सुरुवात गरे पनि सुदुरपश्चिमले ६ विकेट गुमाउँदा ४१ रन मात्र जोडेको थियो।
‘योजना अनुसार नै ब्याटिङ गइरहेको थियो। पावर प्लेमा राम्रो भइरहेको थियो। लास्टको पाँच ओभरमा रन कमी भयो। विकेट हातमा थियो। रन अझै बनाउनु पर्थ्यो,’ उनले भने।
प्रशिक्षक टमाटाले शुक्रबार क्युरेटले मिहिनेत गरेर विकेट बनाएकोमा धन्यवाद दिँदै उत्कृष्ट खेल खेलेकोमा जनकपुरलाई बधाइ समेत दिए।
समर्थकको ठूलो साथ पाएको सुदूरपश्चिमका प्रशिक्षक टमटाले एक टिमको जित हार भन्दा पनि समग्र नेपाली क्रिकेटको जित भएको प्रतिक्रिया दिए।
‘मलाइ चाहिँ यो नेपाली क्रिकेटको जित हो जस्तो लाग्छ। यति धेरै दर्शक, प्रायोजकसबैले साथा दिए। क्रिकेटमा यहाँसम्म पुर्याउन सबैको योगदान छ,’ उनले भने।
उनले सुदूरपश्चिमले क्रिकेटलाई माया गर्ने समेत बताए। ‘सुदूरपश्चिमले क्रिकेटलाई अलि धेरै माया गर्छ। किनभने महिला पुरुषमा धेरै खेलाडी छन्,’ उनले भने।