सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससँग शनिबार प्रतिस्पर्धा गर्दैछ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै हारेको जनकपुरले बिहीबार भएको दोस्रो क्वालिफायरमा भने कर्णाली याक्सलाई २ विकेटले पराजित गर्यो।
अरू ब्याटर खासै चल्न नसक्दा जनकपुरलाई जित नजिक पुर्याउने काम न्युजिल्यान्डका ब्याटिङ अलराउन्डर जिमी निशमले गरेका थिए। उनले १७ बलमा ४५ रन प्रहार गरेसँगै जनकपुरलाई लक्ष्य भेट्टाउन सहज भएको थियो। खेलमा उनी कर्णालीका युवा बलर विपिनप्रसाद शर्माबाट बोल्ड हुँदै आउट हुन पुगेका थिए।
बलिङमा २ विकेट लिएका निशम खेलको प्लेयर अफ दि म्याच बने।
जनकपुरलाई फाइनलमा पुर्याएसँगै निशमले आफूहरूले फाइनल खेल डिजर्भ गर्ने बताए।
उनले फाइनल अझै बाँकी रहेको सुनाउँदै जनकपुरलाई ट्रफी जित्ने अवसर भएको पनि बताए।
उनले कीर्तिपुर मैदानको पिचमा ब्याटिङ गर्न अप्ठ्यारो भएको पनि बताए।
‘अप्ठ्यारो पिच छ। त्यहाँ टिकिरहन कठिन छ। अतिरिक्त पावर चाहिन्छ। पिच चेन्ज भइरहन्छ। बिहान टफ हुन्छ। दिउँसोको अलि फरक छ,’ उनले भने।
कर्णालीका विपिनले होटलमा भेट हुँदा आफ्नो विकेट लिने बताएको पनि जिमीले सुनाए।
त्यसमा जिमीले ‘फेन्टास्टिक’ भनेर उत्तर दिएको विपिनले बिहीबारको खेलपछि बताएका थिए।
उनले नेपालमा रमाइलो गरिरहेको पनि सुनाउन भ्याए। उनले भने, ‘हस्पिटालिटी धेरै राम्रो छ। खेल इन्जोए गरिरहेको छु।’