नेपाल टी-२० लिगमा आबद्ध भएका अधिकांश खेलाडीले आफ्नो पारिश्रमिक पाएका छैनन्।
पोखरा एभेन्जर्सले ५० प्रतिशत रकम खेलाडीलाई दिए पनि अरु टिमका खेलाडीले तलब नपाएपछि मंगलबारको खेललाई समेत असर गर्यो।
विहान ९ बजे सुरु हुने पर्ने काठमाडौं नाइट्स र विराटनगर सुपरकिंग्सबीचको खेलअघि खेलाडीले पारिश्रमिक पाउने पर्ने माग राखेपछि टस गर्न ढिलाइ भएको थियो।
नियमअनुसार लिग सुरु हुनुअघि ४० प्रतिशत र लिग चलिरहदा ६० प्रतिशत पारिश्रमिक पाउनु पर्छ। तर खेलाडीले पहिलो किस्ता नै नपाएका कारण मंगलबार टसमा ढिलाइ भएको थियो।
खेलाडीले टस गर्न नमानेपछि क्यानले बैठक गर्दै पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। जसका कारण काठमाडौं र विराटनगरबीचको खेल ९ ओभरमा झारेर ११ बजे सुरु गरिएको थियो।
लिगमा आबद्ध नेपालका पहिलो श्रेणीको खेलाडीको तलब १५ लाख रुपैयाँ छ। यस्तै दोस्रो श्रेणीका खेलाडीले १० लाख र तेस्रो श्रेणीका खेलाडीले ५ लाख रुपैयाँ पाउने उल्लेख छ।
यस्तै विदेशी खेलाडीले ४० हजार डलर, २० हजार डलर र १२ हजार ५ सय डलर पाउने बताइएको थियो।
नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सबाट पाउने पर्ने रकम पनि पाइसकेको छैन।
क्यानले आठ वर्षका लागि ३३ करोड रुपैयाँ पाउने गरी सेभेन थ्रीसँग प्रतियोगिता आयोजनाका लागि सम्झौता गरेको थियो। पहिलो सिजनमा ३ करोड ९० लाख रुपैयाँ पाउनु पर्नेमा क्यानलाई सेभेन थ्रीले अहिलेसम्म १ करोड २० लाख रुपैयाँ मात्र दिएको छ।
सोमबार साँझ सेभेन थ्रीका प्रमुख जतिन अहलुवालिया सम्पर्कविहीन भएको क्यानका पदाधिकारीले बताएका थिए। उनी भारत गएको हल्ला चलेपछि खेलाडीले पारिश्रमिक नपाइ नखेल्ने बताएका थिए।
यता नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ भएको आशंका गर्दै कमेन्टेटर सचिन तिमल्सेनाले लिग छाडेका छन्।
लिगका सुरुवाती दश दिन कमेन्ट्री गरेका उनले लिग छाडेको बताएका हुन्। जारी टी-२० लिगमा ६ टिमको सहभागिता छ। लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स, काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपरकिंग्स र फार वेस्ट युनाइटेडले भाग लिएको लिगमा अहिले दोस्रो चरणका खेल भइरहेका छन्।