नेपाल टी-२० लिग खेल्न नेपाल आएका जिम्बावेका अलराउन्डर सिकन्दर राजा लिग नसकिँदै फर्किएका छन्।
विराटनगर सुपरकिंग्समा आबद्ध राजाले लिगको सुरुवातको दुई खेल खेलेका थिए।
उनले लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्सविरुद्ध खेलेका थिए। लुम्बिनीविरुद्ध १७ रन जोडेका उनले एक विकेट लिएका थिए। यस्तै जनकपुरविरुद्ध उनले ३८ रन जोड्दा विकेट लिन सकेका थिएनन्।
पछिल्ला खेलमा भने उनी टिमको पहिलो रोजाइमा परेनन्। जनावरी ५ सम्मका लागि नेपाल आएका भनिएका उनले दुई दिनअघि नेपाल छाडे।
उनी पारिश्रमिक नलिइ पाकिस्तानतर्फ गएको एक क्रिकेटरको बताए। ती क्रिकेटरका अनुसार राजाले पारिश्रमिकका लागि ताकेता गरेका थिए। तर पनि उनी पारिश्रमिक नपाएपछि फर्किए। लिगमा आबद्ध अरु खेलाडीले पनि पारिश्रमिक पाउनेमा उनले शंका गरेका छन्।
नेपाल टी-२० लिगका लागि नेपालका पहिलो श्रेणीका खेलाडीको पारिश्रमिक १५ लाख रुपैयाँ छ। टिमहरूले कतिपय विदेशी खेलाडीलाई नेपालका ए श्रेणीका खेलाडीको भन्दा बढी पारिश्रमिक दिएका छन्। राजाको पारिश्रमिक सार्वजनिक नगरिए पनि उनको पारिश्रमिक १५ लाख रुपैयाँभन्दा बढी भएको ती क्रिकेटरको भनाइ छ।
राजा नेपाल टी-२० मा आबद्ध भएकामध्येका नाम चलेका खेलाडी थिए। केही दिनअघि मात्र उनी आइसिसी मेन्स ओडिआइ क्रिकेटर अफ दि इयर २०२२ को मनोनयनमा परेका थिए। यस्तै इएसपिएन मेन्स ओडिआइ टिम अफ दि इयर २०२२ मा पनि राजा परेका थिए।
क्यानका एक केन्द्रीय सदस्यका अनुसार अहिलेसम्म पोखरा एभेन्जर्सले मात्र खेलाडीका लागि १५ प्रतिशत पारिश्रमिक दिएको छ। खेलाडीको खातामा आइतबार साँझ १५ प्रतिशत रकम आएको छ।