नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले अबको १० देखि १२ वर्षमा नेपाल खेल्ने राष्ट्र बन्न सक्ने बताएका छन्।
भारतका क्रिकेट विश्लेषक आकास चोपडासँगको अन्तर्वार्तामा पारसले परस्थिति मिल्दै गए नेपालले टेस्ट टिमको मान्यता पाउने बताएका हुन्।
'यदि हामीले सबै काम गर्न सक्यौ भने नेपाल १० देखि १२ वर्षमा टेस्ट प्लेइङ नेसन बन्न सक्छ,' उनले भनेका छन्।
सरकारले क्रिकेटमा लागानी गरिरहेको र क्रिकेट वातावरण राम्रो भएकाले नेपाल टेस्ट राष्ट्र बन्ने बाटोमा रहेको उनको भनाइ छ।
पारसले समर्थकको हिसाबमा नेपाल कतिपय टेस्ट राष्ट्र भन्दा पनि माथि रहेको बताए। नेपालले टेस्ट मान्यता पाउनका लागि आइसिसीले ल्याउने नियममा पनि भर पर्ने पारसले बताए।
'नेपाल टेस्ट प्लेइङ नेसन भएको हेर्ने मेरो सपना हो। खेलाडीको रुपमा सम्भव नभए पनि अन्य माध्यमबाट मेरो सहयोग रहन्छ,' उनले भने।
विश्लेषक आकासले पारसको क्रिकेट यात्राको विषयमा लामो अन्तर्वार्ता लिने क्रममा उनको कप्तानीको राजीनामा देखि सन्दीप लामिछाने विषयमा कुरा गरषेका छन्।
पारसले नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको देखि सन् २०१० मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ को उपाधि जितेकोसम्मका विषयमा अन्तर्वार्तामा बताएका छन्।
सन् २०१४ मा टी-२० विश्वकप खेलेपछि नेपालमा क्रिकेट माहोल बढेको बताउँदै पारसले अहिले विस्तारै व्यवसायिकतातर्फ अघि बढेको पारसको भनाइ छ।
पारसले आफूहरु भने क्रिकेटप्रतिको लगावका कारण आकर्षित भएको बताए। 'क्रिकेटमा प्यासन थियो। हामी क्रिकेटलाई माया गर्ने कारणले खेल्थौं,' उनले अन्तर्वार्तामा भनेका छन्।
सन्दीप लामिछानेले आइपिएलदेखि विश्वका विभिन्न लिग खेल्दा नेपालका युवामा क्रिकेट क्रेज बढेको पारसको भनाइ छ।
'नेपालमा प्रतिभाको कमी छैन। २००४ मैले पहिलोपटक यु१९ विश्वकप खेले। इंग्ल्यान्डका कुक, प्लाङ्केट, रबी बोपारा, लुक राइट, इयान मोर्गान जस्ता खेलाडीविरुद्ध खेले। हामीले यु१९ स्तरमा राम्रा खेलाडीविरुद्ध खेलेका हुन्थ्यौ र उनीहरुलाई हराएका पनि हुन्थ्यौ। तर यु१९ पछि हामीलाई एक्सपोजर हुँदैन। क्रिकेट संचरनाको अभावमा राम्रो क्रिकेटर बन्न सकिदैन। राम्रो क्रिकेटर बन्न राम्रो टिमविरुद्ध खेल्नु पर्छ। उनीहरुलाई पराजित गर्नु पर्छ ,' पारसले अन्तर्वार्तामा भनेका छन्।
पूरा अन्तर्वार्ता हेर्नुहोस् :-