राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच तीनवटा विषयमा 'सुखद संवाद' भएको रास्वपा उपसभापति डिपी अर्यालले बताएका छन्।
रवि र बालेनबीच सोमबार राति करिब ६ घन्टा कुराकानी भएको थियो। रास्वपाका पूर्वसांसद असिम शाहको घरमा भएको उक्त भेटवार्ता मध्यरात करिब साढे १ बजेसम्म चलेको थियो। भेटवार्तापछि रवि र बालेन एउटै गाडीमा असिमको घरबाट बाहिरिएका थिए।
यति लामो संवादमा उनीहरूबीच के के कुराकानी भयो भनेर हामीले रास्वपा उपसभापति अर्याललाई सोधेका छौं। भेटवार्तामा रास्वपा तर्फबाट अर्याल पनि सहभागी थिए।
उपसभापति अर्यालले पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक दलहरूको अवस्था र आगामी चुनावलाई लिएर विस्तृत छलफल भएको जानकारी दिए।
'मुख्य तीन विषयमा संवाद भयो,' उनले भने, 'एउटा त भर्खरै पितृशोकबाट बाहिर आउनुभएका बालेनजी र लामो समय जेल बसेर आउनुभएका रविजीले एकअर्कासँग व्यक्तिगत कुराकानी गर्नुभयो।'
दोस्रो, भदौ २३ र २४ को घटनालाई कसरी हेर्ने, कसरी भयो र त्यसले राजनीतिक दलहरूको अवस्थामा कस्तो प्रभाव पारेको छ भन्नेबारे विश्लेषण गरिएको अर्यालले बताए।
तेस्रो, फागुन २१ को चुनावमा बालेन र रास्वपा सँगसँगै मिलेर जानेबारे सुखद कुराकानी भएको जानकारी अर्यालले दिए।
'आगामी चुनावमा मिलेर जानेबारे उहाँहरूबीच सुखद कुराकानी भयो। यसका प्रगतिबारे बिस्तारै सार्वजनिक गर्दै जाने छौं,' उनले भने।
रास्वपाका पूर्वसांसद असिम शाहले पनि यो भेटवार्तालाई 'सुखद सुरूआत' भनेका छन्।
उनले रवि र बालेनको भेटवार्ता सकिएपछि सोमबार राति नै फेसबुकमा लेखेका थिए, 'अन्ततः कथाको सुखद सुरूआत भएको छ। रवि र बालेन दुई दाजुभाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई!'
सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएर आएपछि राजनीतिक संवाद तीव्र बनाएका लामिछानेले पछिल्ला दुई दिनमा दोस्रो पटक काठमाडौंका मेयर शाहसँग छलफल गरेका हुन्।
रविले पार्टी नेतृत्व र प्रधानमन्त्री फरक फरक बनाउने अवधारणा अघि सार्दै फागुन २१ को आमनिर्वाचनमा बालेनलाई प्रधानमन्त्री बनाउने गरी सहकार्य गर्ने प्रस्ताव राखेको बालेन निकट स्रोतले बताएको छ।
यसका लागि बालेनसमेत संलग्न 'देश विकास पार्टी' र रास्वपा एकीकरण गर्ने र एकीकृत पार्टीको नाम रास्वपा राख्ने प्रस्ताव गरिएको बालेन निकट स्रोतले दाबी गरेको छ।
रास्वपा नेता तथा पूर्वसांसद शिशिर खनालले सोमबार एक अन्तर्वार्तामा काठमाडौं महानगरका मेयर बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्न सकिने स्वीकार गरेका छन्।
कान्तिपुर टेलिभिजनको 'फायरसाइड' कार्यक्रमका लागि पत्रकार रूपेश श्रेष्ठसँगको अन्तर्वार्तामा रास्वपा नेता खनालले उक्त कुरा स्वीकार गरेका हुन्।
'मेयर बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्न सकिने पात्रका रूपमा रास्वपाले बुझेको छ?' भन्ने प्रश्नमा खनाल भन्छन्, 'एकदमै, पार्टी सभापति (रवि लामिछाने) स्वाभाविक हकदार हो हाम्रा लागि। त्योभन्दा बाहिरका पात्र हेर्दा कुलमान घिसिङ एकदमै स्वाभाविक पात्र हो। अर्को स्वाभाविक पात्र काठमाडौं महानगरका मेयर बालेन शाह पनि हुनुहुन्छ।'
सोमबार राति भएको भेटवार्तामा रास्वपा तर्फबाट रवि लामिछाने, डिपी अर्याल र असिम शाह सहभागी थिए भने बालेन तर्फबाट कुमार बेन, निश्चल बस्नेत लगायत सदस्यहरू सहभागी थिए।
लामिछाने पुस ४ गते शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा ३ करोड ७४ लाख ८४ हजार रूपैयाँ बराबरको बैंक जमानत बुझाएर जेलमुक्त भएका हुन्। त्यसको एक दिनअघि बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलले लामिछानेलाई सशर्त छाड्न आदेश दिएको थियो।
थुनामुक्त भएसँगै उनलाई फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बाटो खुलेको छ। प्रतिनिधिसभा निर्वाचन ऐनले अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई चुनाव उठ्न रोक लगाएको छैन।
तर लामिछाने फागुन २१ को चुनावमा विजयी भए पनि सांसदका रूपमा काम गर्न र मन्त्री बन्न पाउने छैनन्। कानुन अनुसार सांसद पद निलम्बन भएको व्यक्ति मन्त्री बन्न सक्दैनन्।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ ले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएपछि कुनै पनि कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वत: निलम्बन हुने व्यवस्था गरेको छ।
धरौटीमा जेलमुक्त भएर काठमाडौं फर्किनेबित्तिकै लामिछानेले जेनजी आन्दोलनका घाइते र सहिदका परिवारलाई भेटेका थिए।
लामिछाने सहितको रास्वपा टोलीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरेको थियो।