इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा शुक्रबार राति डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र पहिलो पटक प्लेअफको कुनै खेल जितेको दिल्ली क्यापिटल्स भिड्दैछन्।
भारतीय राष्ट्रिय टिमको कप्तानी सम्हालिसकेका महेन्द्रसिंह धोनीको चेन्नई र गत सिजनमा आधादेखि दिल्लीको कमाण्ड पाएका श्रेयस अएरको दिल्ली क्यापिटल्सबीच आजको खेलमा पाको अनुभव र नवीन जोशबीच प्रतिष्पर्धा हुनेछ।
उमेर छँदा भारतीय टोलीबाट धेरै अनुभवी खेलाडीलाई यूवाद्वारा प्रतिस्थापन गराएका धोनी उमेर ढल्किन थालेपछि भने आफूजस्तै अनुभवी खेलाडीलाई भरोसा गर्न थालेका छन्। आइपिएलमा दुई वर्षको प्रतिबन्ध खेपेपछि गत सिजनमा फर्किएको चेन्नईले अक्सनमा अनुभवी खेलाडीहरू किन्यो। तिनै अनुभवी खेलाडीले चेन्नईलाई आइपिएलको तेस्रो उपाधि जिताए।
आज हुने दिल्लीविरूद्धको खेलमा पनि तीव्र गतिका बलर दीपक चहारबाहेक सम्भवत: बाँकी १० खेलाडी तीस वर्ष कटेका हुनेछन्।
उता दिल्लीको टोली भने यूवाकेन्द्रीत छ। दिल्लीका ब्याटिङ लाइनअपमा सम्भवत: भारतीय राष्ट्रिय टोलीको आगामी दशकका तीन मुख्य खेलाडी हुनेछन्। ओपनर पृथ्वी शअ भर्खर १९ वर्षका भए। विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त २१ र कप्तान श्रेयस अएर २४ वर्षमात्र छन्। यसपटक सनराइजर्स हैदरावादबाट तीन खेलाडीको बदलामा ल्याएका भारतीय राष्ट्रिय टोलीका ओपनर शिखर धवनले दिल्लीको यूवा जोशमा अनुभवको रङ भरिरहेका छन्। दिल्ली ब्याटिङमा मात्र नभएर बलिङमा समेत कगिसो रवादाको यूवा जोशको भरमा प्लेअफसम्म आइपुगेको हो।
घरेलु मैदानमा स्पिनमा मद्दत गर्ने पिच बनाएर विपक्षीलाई हराउन पल्केको चेन्नईलाई आजको मैदानमा समेत फाइदा हुनेछ। सीमित ओभरका खेलमा स्पिनरको प्रयोग गर्न सम्भवत: इतिहासकै सबैभन्दा माहिर कप्तान धोनीले २०१५ पछि मुम्बईबाहेक कुनै टोलीसँग पनि चेन्नईमा हारेको छैन। आजको खेलमा पनि धोनीले अनुभवी स्पिनर दक्षिण अफ्रिकाका इमरान ताहिर, भारतका हरभजन सिंह र रवीन्द्र जडेजाको स्पिनको जालोमा दिल्लीका यूवा ब्याट्सम्यानलाई पार्ने रणनीति बनाउने छन्। चोटका कारण प्रतियोगिताबाट बाहिर भइसकेका सर्वाधिक विकेट लिने रवादालाई उछिन्ने मौका ताहिरलाई हुनेछ। चोटका कारण १२ खेलमात्र खेलेका रवादाले अहिलेसम्म २५ विकेट लिएका छन् भने ताहिरले १५ खेलमा २३ विकेट हात पारेका छन्।
२०११को विश्वकप जितेपछि भारतीय टोलीबाट हरभजनलाई चेन्नईका यूवा स्पिनर रविचन्द्रन अश्विनद्वारा विस्थापन गराएका धोनीले गत सिजन अक्सनमा हरभजनलाई किन्दा नै धेरै जना आश्चार्यमा परेका थिए। पछि हरभजनको स्पिनको उपयोग गर्दै चेन्नईले उपाधि चुम्यो। यसपालि पनि धोनीले चेन्नईमा खेलिएका ८ मध्ये ७ खेलमा र हरभजनलाई खेलाएका छन्। हरभजन ९ खेलमा १४ विकेट लिएर धोनीको विश्वासमा खरो उत्रिएका छन्। उनले चेन्नईमा सात आज पनि स्पिनरलाई मद्दत गर्ने पिचमा हरभजन खेल्ने सम्भावना बलियो छ।
सनराइजर्स हैदरावादसँगको एलिमिनेटर खेलमा आजकै मैदानमा खेलेको फाइदा दिल्लीलाई हुनेछ। सो खेलमा दुबै टोलीका स्पिनरले राम्रो बलिङ गरेका थिए। दिल्लीका लेग स्पिनर अमित मिश्राले ४ ओभरमा १६ रनमात्र खर्चिएका थिए भने हैदरावादका रसिद खानले ४ ओभरमा १५ रनमात्र दिएका थिए। सो खेलमा दुबै टोलीका तीव्र गतिका बलरले एक ओभरमा लगभग १० रन दिएका थिए भने स्पिनरले भने औसतमा ६ रनमात्र खर्चेका थिए।
आजको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई खेलाए दिल्लीको टिम झन् बलियो हुनेछ। चेन्नईमा लिग चरणको तेह्रौं खेलमा सन्दीपलाई नखेलाएकै कारण दिल्ली शीर्ष दुईमा नपुगेको भन्ने धेरै छन्। स्पिनरलाई मद्दत गर्ने पिचमा २ जनामात्र स्पिनर खेलाएको दिल्लीविरूद्ध चेन्नईले १७९ रन बनाएको थियो। चेन्नईका तीन स्पिनरले कसिलो बलिङ गरेर दिल्लीलाई ९९ रनमै रोकेकाले दिल्ली बराबर खेल जिते पनि रनरेटका आधारमा अंकतालिकामा तेस्रो हुन पुग्यो।
चेन्नईको जस्तै स्पिनरलाई मद्दत गर्ने र बाउन्ड्री पनि ठूलै भएकाले मौका पाए सन्दीपले यो मैदानमा राम्रो बलिङ गर्न सक्छन्।
यो सिजनबाट नयाँ व्यवस्थापन सँगै नाम पनि नयाँ राखेको दिल्लीले आजको खेल जित पहिलो पटक आइपिएलको फाइनलमा पुग्नेछ। खेलेको आइपिएलको हरेक सिजनमा प्लेअफमा पुगेको चेन्नईले जितेमा तीन पटकको विजेता टोली दुई सिजन नखेले पनि आठौं फाइनलमा पुग्नेछ।