आगामी पुस पहिलो सातादेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता नदिने भएको छ।
आइसिसिले नेपाल क्रिकेट संघ क्यानलाई पत्र पठाउँदै इपिएल मान्यताबिहीन प्रतियोगिता भएको भन्दै कुनै खेलाडीलाई खेल्न अनुमतिसमेत नभएको जानकारी गराएको छ।
पत्रमा आइसिसीले इपिएल मान्यताविहीन प्रतियोगिता भएको जनाएको छ। साथै, कुनै खेलाडीलाई खेल्न अनुमति नभएको पनि बताएको छ।
यसअघिका प्रतियोगितामा कुनै प्रतिक्रिया नदिएको आइसिसीबाट पहिलो पटक इपिएललाई मान्यताविहीन प्रतियोगिता भएको जानकारी गराएको हो।
आइसिसीका सिनियर क्रिकेट अप्रेसन म्यानेजर निगेल मास्कारेन्हासले इपिएल खेल्न कुनै खेलाडीलाई अनुमति नभएको तथा अनुमति दिन नसकिने इमेल मार्फत जनाएका थिए।
उनको इमेलमा भनिएको छ, 'नेपालको सदस्यता आइसिसीले निलम्बन गरेको स्मरण गराउँन चाहान्छौं। यो अवस्थामा नेपालभित्र हुने प्रतियोगिताको मञ्जुरी आइसिसीले मात्र दिन सक्छ। आइसिसीले प्रतियोगिता गर्न स्वीकृती दिएको छैन। त्यसैले यो प्रतियोगिता सञ्चालन गर्न आइसिसीको अनुमति छैन। प्रतियोगिता खेल्न कुनै पनि खेलाडीलाई अनुमित छैन र स्वीकृति दिइने छैन।'
आइसिसीले २०७३ वैशाखमा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको थियो। आन्तरिक विवादका कारण क्यान निलम्बनमा परेपछि आइसिसीले नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आइरहेको छ।